चोरी हुन्छ हाम्रो, दुःखी हुन्छन् उलिक

रवीन्द्र पुरी (दायाँ) र उलिक (बाँया)।


भुइँचालोका कारण ठेँचोमा ढलेको ब्रम्हायणी मन्दिरको मूर्ति एक साताअघि चोरी भयो। त्यो सहरकै मुख्य मन्दिर देउताविहिन भएको समाचारले खासै महत्व पाएन। मन्दिरमा पितृहरूलाई सम्झना गरेर चल्दै आएको परम्परा भने अझै जारी छ।

यसरी भुइँचालोपछि जथाभावी थन्क्याइएका बहुमूल्य मूर्तिहरू चोरीका समाचार आइरहेकै बेला छ दशकअघि विदेशिएका हाम्रा पुरातात्विक कलाकृतिबारे चासो राख्दै एक हितैषी नेपाल भित्रिएका छन्।

उलिक जोन्सन त्यही डेनमार्कबाट आएका हुन् जहाँबाट राणाकालको अन्त्यलगत्तै वेर्नेर याकोब्सन आएका थिए। वेर्नेरले दुई वर्ष नेपाल बसाइपछि स्वदेश फर्कँदा ८८ वटा कलाकृति साथै लिएर गए।

वेर्नेर आएकै समय अर्थात् पचास दशकमा पश्चिमा संसारको निम्ति नेपाल भर्खर खुला भएको थियो। त्यतिबेलै ऐतिहासिक कलाकृति महत्व बुझेकाहरू धमाधम यो उपत्यका भित्रिए।

दक्षिणतिरका मुसलमान आक्रमणबाट सुरक्षित यो पहाडी थलोले सदियौंदेखिका बौद्ध र हिन्दू धार्मिक कृति जोगाउँदै आएको थियो। यसरी महत्व बुझेका पश्चिमाको प्रवेशसँगै वर्षौंदेखि चिसोमा जमेका कलाकृति रन्किन सुरु भए।

पश्चिमाहरू त्यसको मूल्य तिर्न तयार भए। नेपालीहरू खुसी खुसी चोर्न र बेच्न।

यसरी वेर्नेरको हातमा पुगेका ती ८८ वटै कलाकृति जहाज चढेर डेनमार्क पुग्दै त्यहाँको राष्ट्रिय संग्रहालयका हिस्सा बने।

६० वर्षपछि डेनमार्कबाटै आएका उलिकको उद्देश्य भने ठीक उल्टो छ। उनी आफ्नो मुलुकको संग्रहालयमा राखिएका तिनै कलाकृतिको पहिचान खोज्दै भित्रिएका हुन्।

कुनै मठ– मन्दिरका पो थिए कि? मूर्तिको अभावमा पुजा रोकेर भक्तजन पर्खेर पो बसिरहेका छन् कि? वा फगत कुनै व्यक्तिगत संग्रहबाटै किनबेच मात्र भएको हो?

‘यी प्रश्नभित्र ठूलो संवेदना जोडिएका हुनसक्छन्,’ उलिक भन्छन्, ‘म त्यसैको खोजी गर्न यहाँ आइपुगेको हुँ।’

उलिकले उतिबेला वेर्नेरका हातबाट डेनमार्क पुगेकामध्ये १९ वटा कलाकृतिका तस्बिर ल्याएका छन्। त्यसैगरी उतिबेला खिचिएका तस्बिर पनि बोकेका छन्। उनी त्योबेलाको नेपाल चिनाउने जमर्को गरिरहेका छन्।

यसरी डेनमार्कदेखि आइपुगेका तस्बिरको यसै साता काठमाडौं र ललितपुर गरेर तीन स्थानमा प्रदर्शन भइसकेको छ। आइतबारदेखि भने तिनै तस्बिर प्रदर्शनी भक्तपुरमा सुरु भएको छ। भक्तपुरस्थित ‘म्यूजियम अफ स्टोलेन आर्ट’मा जारी प्रदर्शनी मंगलबारसम्म रहनेछ। त्यसपछि भने यिनै चित्र फेरि ललितपुरस्थित ज्यापु समाजको ग्यालरीमा पुग्नेछ।

नेपालमा पश्चिमाहरूको प्रवेशसँगै चोरिएर उता पुगेका यस्ता पुरातात्विक वस्तुको हामीले पछिसम्म पनि खोजबिन गरेका थिएनौं।

वरिष्ठ कलाकार लैनसिंह वाङ्देलले सन् १९८९ मा ‘स्टोलेन इमेजेज अफ नेपाल’ शिर्षकमा किताब तयार पारे। बल्ल यस विषयमा मुलुकभित्र र बाहिर चासो–चर्चा सुरु भयो। चोरी भएर विदेशिएका ती पुरातात्विक सम्पत्ति हाम्रा हुन् भन्ने दावी आधारकै रुपमा उक्त किताब खडा भएपछि कतिपय मूति फिर्ता पनि आउन थाले।

त्यसपछि मात्रै वाङ्देलको प्रयासलाई निरन्तरता दिन अरूले पनि पछ्याए।

दुर्भाग्यवश पछिल्लो वर्ष मात्र हामीले डिना वाङ्देल र शुक्रसागर श्रेष्ठजस्ता वाङ्देलकै पथ निरन्तरता दिएका व्यक्तित्व गुमायौं।

दोहास्थित भर्जिनिया कमनवेल्थ विश्वविद्यालयमा कला इतिहास विभागकी प्रमुख डिनाले चोरी भएका कलाकृति खोजी र पहिचान गरेर पिताकै काम निरन्तरता दिँदै आएकी थिइन्।

‘मेरो यो प्रयास डिनासँग मिलेर नै अघि बढेको हो,’ उलिक भन्छन्, ‘प्रदर्शनीको तयारी र अनुसन्धान चल्दाचल्दै अचानक उहाँको निधन भइदियो।’

डेनमार्ककै ओखुस विश्वविद्यालयमा ‘म्यूजियम कलेक्सन’ विषय लिएर विद्यावारिधि गरिरहेका उलिकलाई यो उनको ‘रिसर्च प्रोजेक्ट’का निम्ति डिनाले नै संयोजन गरिदिएकी थिइन्।

त्यसैको सम्झना स्वरुप प्रदर्शनीमा पस्नेबित्तिकै डिनाको तस्बिरसहित सम्झनाका शब्द उलिकले उल्लेख गरेको देख्न पाइन्छ।

डेनमार्ककै मोज्गार्ड म्यूजियममा बिगत सात वर्षदेखि ‘आर्ट क्यूरेटर’ (कला मूल्यांकनकर्ता) रहेका उलिकको अहिले एउटै चासो छ– यी कलाकृतिको उसकै समाजमा महत्व के हो? यिनलाई गुमाएकोमा नेपालीहरू कति छटपटिएका छन्? यी सामग्री जुन ठाउँका हुन्, त्यहीँ पुर्याउँदा कस्तो होला भनेर रैथानकै विचार जान्ने इच्छा पनि हो। उनीहरु यसको अहिले पनि अभाव महशुस गर्छन् वा इतिहासको एउटा कालखण्डमा सकिएको कुनै विषय हो भनेर खासै सरोकार राख्दैनन्?

‘यो महत्वपूर्ण चासो हो,’ उलिक भन्छन्, ‘यिनको महत्व पत्ता लागेमा यसलाई फर्काउने प्रकृया पनि सुरु हुन सक्छ।’

डेनमार्क वा कुनै पनि पश्चिमी मुलुकको संग्रहालयमा रहेका सामग्री संकलन गर्ने र जसको हो उसैकहाँ पुर्याउने प्रकृयामा धेरै काम भने भइरहेको छैन। यो अवस्थामा ती पक्ष खोजी गर्नु पनि आफ्नो अध्ययनको पाटो रहेको उलिक सुनाउँछन्।

उलिक काम गर्ने संग्रहालयमा राखिएका ८८ वटै नेपाली कलाकृति वेर्नेरले उतिबेला लगेका हुन्। त्यसबाहेक डेनमार्कका अन्य संग्रहालयमा थप करिब दुई सय नेपाली कलाकृति रहेको उनी सुनाउँछन्।

‘सबैभन्दा पुराना चाहिँ वेर्नेरले लगेकै हुन्,’ उलिक भन्छन्, ‘त्यसैले उनको मात्र संकलनमा केन्द्रित भएर यता आएको हुँ।’

भक्तपुरभन्दा पहिले तीन स्थानमा प्रदर्शनी गर्दा पनि हालसम्म कुनै पनि कलाकृतिको मूल थलो पहिचान हुननसकेको उलिक सुनाउँछन्।

इटुम्बहालमा प्रदर्शन गरिरहँदा भने एक स्थानीयवासीले एउटा कलाकृति त्यहीँको भनेर सुनाएका थिए। त्यसमा थप अनुसन्धान गर्नुपर्ने उनी बताउँछन्।

यसरी चोरी भएर हामीले बिर्सिसकेका कलाकृतिको डेनमार्कमा भने उच्च महत्व रहेको उलिकले जानकारी दिए।

‘डेनमार्कको महत्वपूर्ण इथ्नोग्राफिक प्रदर्शनमा हरेक दुई तीन वर्षमा सामग्री परिवर्तन गर्दा पनि नेपाली कलाकृति छुट्दैनन्,’ उनी भन्छन्, ‘यस्तो प्रदर्शनी हेर्न वार्षिक चार लाखभन्दा बढी पुग्छन्।’

उलिकले नेपालमा प्रदर्शनी गर्न पनि ६० वर्षअघि उता पुगेका सामग्री नै बोकेर ल्याउन खोजेका रहेछन्।

‘मैले डेनमार्कको पुरातत्व विभागमा त्यो इच्छासहितको पत्र पठाएको थिएँ,’ उनले थपे, ‘विभागले पत्र संस्कृति मन्त्रालयमा पठाइदिएपछि मन्त्रालयले प्रस्ताव अस्वीकृत गरिदियो।’

यी सामग्री प्रदर्शनका लागि एकपटक नेपाल गइसकेपछि फेरि फर्केर आउने कुरामा शंशय राखेरै डेनमार्क सरकारले अडान लिएको उलिक बताउँछन्। यसरी चोरी भएर गएका सामग्रीको महत्व हामीले साबित गर्न सक्यौं भने लामो प्रकृया पूरा गरेर मात्रै सम्बन्धित मुलुकले त्यस्ता कलाकृति फिर्ता दिँदै आएका उदाहरण छन्।

त्यसैले तत्काल मूर्ति नै ल्याउन नसक्दा त्यसका तस्बिर भए पनि नेपाली समक्ष प्रस्तुत गरेको उलिक सुनाउँछन्।

१६ वर्षअघि पहिलोपटक नेपाल आउँदा उलिकको उद्देश्य बेग्लै थियो। उनी डेनमार्क सरकारकै मातहतबाट ‘हुगो’ नामक संस्थामा काम गर्न आएका थिए। संस्थाको उद्देश्य मानवअधिकार र सुशासन थियो। त्यतिबेला मानवशास्त्रका विद्यार्थीको नाताले उलिक त्यो जिम्मेवारीका साथ आएका थिए भने अहिले विद्यावारिधि गरिरहेको र ‘आर्ट क्यूरेटर’ समेतको हैसियतमा फेरि यता पसेका हुन्।

‘मैले मेरो अध्ययनलाई पचास दशकको नेपालमा केन्द्रित गरेको छु,’ उलिक भन्छन्, ‘आफ्नो उद्देश्य हासिल गर्ने क्रममा कुनै तवरबाट नेपाली समाज लाभान्वित भएछ भने थप खुशी हुनेछु।’

यस्ता उलिकलाई उनकै मुलुकबाट उतिबेला आएका वेर्नेर कस्ता मान्छे लाग्छन्?

‘हरेक कुरालाई तत्कालीन समयको कसीमा राखेर मात्र सही मूल्यांकन हुन्छ,’ उलिक भन्छन्, ‘वेर्नेर वौद्ध धर्ममा असाध्यै रुचि राख्ने विद्वान थिए।’

उलिकका अनुसार ‘प्रि हिस्टोरिक आर्कियोलोजी’ पढेका वेर्नेर अध्ययन सिलसिलामा भारत हुँदै नेपाल आइपुगेका थिए। मंगोलियापछि विश्वयुद्धलगत्तै १९४६ मा भारत पुगेका उनी सन् १९५७ मा नेपाल छिरेका थिए। त्यतिबेलै कालिमाटीमा उनले ‘डेनिस कल्चरल इन्स्टिच्यूट’ स्थापना गरे। त्यो स्थान अन्य अध्येताका लागि पनि आवतजावत गर्ने थलोका रुपमा उनले विकास गरेका थिए।

वेर्नेरले नेपाल आउनेबित्तिकै यहाँका धेरै मन्दिरको धमाधम दस्तावेज राख्ने काम सुरु गरे। धेरै तस्बिर खिचे। उनी कालिमाटीस्थित आफ्नो संस्थालाई संस्कृति, समाजशास्त्र र मानवशास्त्र अध्ययन गर्नेको केन्द्र बनाउन चाहन्थे। तर, अचानक दुई वर्षे बसाइ नपुग्दै सन् १९५९ मा उनी डेनमार्क फर्के र त्यो केन्द्र पनि उतै सारे।

‘वेर्नेरले त्यतिबेलै खिचेका तस्बिर समेत यो प्रदर्शनीमा छ,’ उलिक भन्छन्, ‘त्यसलाई हालसालै खिचेका तस्बिरसँग मिलाएर प्रदर्शन गर्दा हेर्न आउनेहरुले नेपाल कसरी फेरिँदै गइरहेको छ भन्ने झलक पाइरहेका छन्।’

वेर्नेरले डेनमार्क पुर्याएका सामग्रीको श्रोत के थियो?

यो प्रश्नमा उलिक पनि अनभिज्ञ देखिए।

‘चालिस वर्षअघि उनको निधन भइसकेकोले यसको जवाफ कसैसँग छैन,’ उनले भने, ‘तर, त्यतिबेला काठमाडौंमा सँगै रहेका वेर्नेरका साथीले बताएअनुसार यहीँका मान्छेले राति-राति उनको निवास पुगेर यस्ता सामग्री किन्न अनुरोध गर्थे।’

त्यो समयमा पुरातात्विक वस्तु ओसारपसारमा अहिलेजस्तो प्रतिबन्ध नरहेको कारण उनको अभिरुचिका चिज वेर्नेरले किनेर लगेको हुनसक्ने उलिक अनुमान लगाउँछन्।

यसरी ६० वर्षअघि डेनमार्क पुगेका यी सामग्रीको हाम्रै समाजमा महत्व खोज्दै उलिक आइपुगेका हुन्।

‘मेरो मूल चासो नै यी सामग्री कसैगरी नेपाल ल्याइयो भने ती सम्बन्धित मन्दिर वा समुदायको जिम्मामा पुग्छन्। वा, यहाँ पनि संग्रहालयमै राखिने हो भन्ने छ,’ उलिक भन्छन्, ‘त्यसका निम्ति प्रदर्शन हेर्न आउने मात्र होइन, सम्बन्धित बुद्धिजीवीको राय समेत संकलन गरिरहेको छु।’

अहिलेसम्म उनले कस्तो राय पाए त?

‘मैले लिखित र मौखिक दुवै किसिमबाट उत्तर संकलन गरेको छु,’ उलिक भन्छन्, ‘जवाफ दिने सबैले यी कलाकृतिका नेपालमा अत्यन्त महत्व रहेको बताएका छन्।’

के यसरी जवाफ दिनेले नेपालका सम्पत्ति नेपाललाई नै फिर्ता पठाउनुपर्छ भनेर माग गरे?

‘प्राप्त प्रतिक्रिया प्रोसेस गर्न बाँकी नै छ,’ उनले भने, ‘तत्कालै निश्कर्ष सुनाउन गाह्रो हुन्छ।’

तैपनि आइरहेका प्रतिक्रियाबारे जिज्ञासा राख्दा भने उनले मोटामोटी जानकारी दिन सहमत भए।

‘दुवै किसिमका छन्,’ उलिकले भने, ‘कतिपय फर्काउनु पर्छ भनिरहेका छन् भने कतिपय नेपालमा अहिले भएकै मूर्तिको पनि सुरक्षा नभइरहेको अवस्थामा डेनमार्कमा कम्तिमा राष्ट्रिय संग्रहालयभित्र सुरक्षित रहनेछ भन्ने पनि छन्।’

जवाफ दिनेले पछिल्लो समय नेपालमा सम्पदा र यस्ता पुरातात्विक महत्वका वस्तुप्रति कसैले पनि वास्ता नगरेको बताएका रहेछन्।

डेनमार्ककै नागरिक चाहिँ चोरीभएर उता पुगेका कलाकृतिबारे कस्तो धारणा राख्छन्?

‘यो प्रदर्शनीको अन्त्य एक वर्षभित्रै डेनमार्कमै हुँदैछ,’ उलिक भन्छन्, ‘उनीहरुको राय लिन त्यतिन्जेल पर्खनै पर्छ।’

प्रदर्शनी नहुँदै पनि आमधारणा त पक्कै हुनुपर्छ?

यो जवाफ दिन उलिकलाई पनि एकछिन अप्ठ्यारो भयो।

‘हामीकहाँ इथ्नोग्राफिक कलेक्सनको निकै लामो परम्परा छ,’ उनले भने, ‘फरक संस्कृतिबारेमा अध्ययन गर्न यस्ता सामग्रीको महत्व भएकाले निकै पहिलेदेखि संग्रह गर्दै आइरहेका छौं।’

नेपालका यस्ता सामग्री उतिबेला डेनमार्क पुगेकै कारण आफूले यसको प्रदर्शनी र अध्ययन गर्न पाएको पनि उनले जानकारी दिए।

‘यसरी हाम्रो संकलनमा रहेका पचासौं हजार सामग्री सबै फिर्ता गरिदिनुपर्छ भन्ने अलिक गाह्रै कुरा हो,’ उनले भने, ‘तर, कुनै मूर्ति एउटा मुलुकमा छ र त्यसको परम्परा अहिले पनि सम्बन्धित मुलुकका वासिन्दाले धानिरहेका छन् भने चाहिँ त्यस्ता चिज फिर्ता हुनुपर्छ।’

त्यसैको निम्ति आधार बनाउन आफूले यहाँ लिने प्रतिक्रिया महत्वपूर्ण हुने उलिकले सुनाए।

नेपालबाट चोरी भएर गएका पुरातात्विक सामग्रीमध्ये बहुमूल्य मूर्तिको ‘रेप्लिका’ बनाएर त्यसको संग्रह गरिएको भक्तपुरस्थित ‘स्टोलेन आर्ट म्यूजियम अफ नेपाल’ मा उलिकको प्रदर्शनी चलिरहेको छ।

‘यस्ता प्रदर्शनीबाट चेतना विस्तार हुनसक्यो भने हाम्रा सम्पदाको सुरक्षा मात्र होइन, गुमेका कुरालाई फिर्ता ल्याउन पनि पहल हुनसक्छ,’ संग्रहालय संस्थापक रवीन्द्र पुरीले भने, ‘उलिकको प्रदर्शन सामग्री भक्तपुरबाटै पनि गएको हुनसक्ने भएकाले यहाँ पनि आयोजना गरेका हौं।’

कार्यक्रममा पुरीले नेपालमा यस्ता पुरातात्विक सामग्रीको महत्व नदेखेकैले केही वर्षअघि मात्र राष्ट्रिय अभिलेखालय भित्रै रहेको बाह्रौं शताब्दी अघिका हस्तलिखित ग्रन्थ चोरी भएर न्यूयोर्कमा लिलामीका निम्ति पुगेको जानकारी दिए। आफूहरुकै पहलबाट फिर्ता मगाइएको पनि उनले बताए।

पछिल्लो समय विदेशका जिम्मेवार संग्रहालयहरुले यस्ता पुरातात्विक महत्वका सामग्री किनिहाल्नु भन्दा पहिले त्यसको श्रोत र आधारबारे राम्ररी छानबिन गर्ने गरेको उलिक बताउँछन्।

तै जिम्मेवारी बहन नगर्ने विदेशी व्यक्ति तथा संस्थाहरुको संकलनमा भने अहिले पनि चोरी भइरहेका महत्वपूर्ण सामग्री पुगिरहेकै छन्। पछिल्लो समय कतिपय मन्दिरका मूर्ति बार लगाएर घेर्न थालिएको छ। तर, भूकम्पले मन्दिर नै भत्किएको अवस्थामा किनार लगाएर राखिएका मूर्ति धमाधम हराउन थालेको समाचार फेरि आइरहेकामा पुरी चिन्तित देखिए।

‘सबैभन्दा पहिले यी सम्पत्तिका मालिक हामी नेपालीलाई नै यसको महत्वबारे चेत हुनु जरुरी छ,’ पुरी भन्छन्, ‘विदेशीहरु दुःखी भइरहेका हाम्रा चिजहरुको चोरीले हामी आफैंलाई नदुख्नु दुर्भाग्यपूर्ण हो।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.