गाडीमुक्त असनमा साइकलबाट गर्न सकिन्छ सामान ढुवानी

तस्बिर स्रोतः पोर्टल बाइक्स


काठमाडौंको भित्री बजार चारपाङ्ग्रे सवारीमुक्त गरिएपछि केही स्थानीय व्यापारीले ‘ढुवानीमा समस्या पर्ने’ भन्दै चिन्ता व्यक्त गरे।

‘बिहान ७ देखि बेलुकी ७ बजेसम्म सवारी निषेध गरेपछि हामीले कुन बेला मालसामान ढुवानी गर्ने?’ स्थानीय व्यवसायी अमूलकाजी तुलाधरले भने।

राजधानीकै बढी भिडभाड हुने र सुनदेखि नुनसम्म पाइने असन क्षेत्रका व्यवसायीको चिन्ता जायज हो। समाधान नभएको भने होइन।

स्याङ्जाका नेत्र भट्टराईसँग समाधानको उपाय छ।

उनी साइकल व्यापारी हुन्। यसको मतलब साइकल बेच्ने होइन। उनी आफ्नो साइकलमा खुद्रा पसलका लागि सामान ओसार्ने काम गर्छन्।

ललितपुरको लगनखेलदेखि गोदावरीसम्म उनको कार्यक्षेत्र हो। आवश्यक पर्दा वा अर्डर आए जुनसुकै सामान ओसार्छन्, तर उनको विशेषता विद्युतीय सामग्री हो।

साइकल ‘क्यारिअर’ मा थरिथरिका विद्युतीय सामान लोड गरेर हिँड्ने भट्टराई पसलको अर्डरअनुसार सामान उपलब्ध गराउँछन्। उनले यसैमा अतिरिक्त आम्दानीको बाटो पनि खोजेका छन्, बदाम बेचेर।

‘२७ वर्ष जागिर खाएपछि अवकाश पाएँ, चुप लागेर बस्नै सकिनँ, अनि साइकलमा सामान बेच्न थालेँ,’ बुटवल पावर कम्पनीबाट अवकाशप्राप्त भट्टराईले सेतोपाटीसँग भने, ‘काठमाडौंका जुनसुकै सडकमा गाडी छिर्न सक्दैन। साइकलमा सामान ढुवानी गर्ने ठूलो ‘स्कोप’ छ।’

काम गर्ने जाँगर र हुटहुटी भएका भट्टराईले असन क्षेत्र चारपाङ्ग्रेमुक्त भएपछि नयाँ ‘स्कोप’ देखेका छन्। आफूले ललितपुर क्षेत्रमा गर्दै आएको यही काम असनमा विस्तार हुनसक्ने उनी बताउँछन्।

‘अब असन क्षेत्रमा साइकलबाट सामान ओसार्न सकिन्छ, न भिडभाड हुन्छ न त प्रदूषण,’ भट्टराईले भने, ‘असन ठूलो बजार हो। गाडी छिर्न नपाउने समयमा हामीजस्ता साइकल व्यापारीले सामान ओसारपसार गर्न सक्छौं।’

यसले व्यवसायीको लागत पनि सस्तो पर्ने उनको भनाइ छ।

तस्बिरः नारायण महर्जन/सेतोपाटी

काठमाडौंको भित्री बस्तीका ११ वडाध्यक्ष र स्थानीय प्रतिनिधिको बैठकले माघ २ बाट इन्द्रचोकदेखि क्षेत्रपाटीसम्म चारपाङ्ग्रे सवारी निषेध गरेको हो। निषेध गरिएका क्षेत्रमा वडा नम्बर १७, १८, १९, २४, २५ र २७ मा पर्ने असन, इन्द्रचोक, मख्खन, त्यौड, ठैंटी, भेडासिंह, नरदेवी, किलागल लगायत पर्छन्। यहाँ बिहान ७ देखि बेलुकी ७ बजेसम्म चारपाङ्ग्रे सवारी गुडाउन पाइँदैन।

मल्लकालको पुरानो नेपाल राज्य भित्री काठमाडौंलाई ‘जीवित सम्पदा’ का रूपमा लिइन्छ। यहाँका टोल, गल्ली, बहाल र ननीहरूमा बाह्रै महिना कुनै न कुनै जात्रा, पर्व चलिरहन्छन्। सवारी घन्चमन्चले ती जात्रापर्व सञ्चालनमा बाधा पुग्दै आएको छ। यसले काठमाडौं सभ्यताको साँस्कृतिक महत्व नै मासिने खतरा बढेको छ।

यही जोखिम रोकेर काठमाडौं सभ्यतालाई जतिसक्दो पुरानै शैलीमा जीवित राख्न सवारीमुक्त अभियान सुरु भएको हो।

भिडभाडयुक्त ठाउँमा सवारी निषेध गर्दा आवागमन सहज भए पनि व्यापारिक कारोबारमा समस्या पर्ने केही स्थानीयले औंल्याएका छन्।

सहरी विकास अभियन्ता भूषण तुलाधर असनका व्यवसायीको समस्या हल गर्न साइकल ढुवानी उपयुक्त विकल्प हुनसक्ने बताउँछन्।

‘काठमाडौंको मौलिक सम्पदा संरक्षण गर्न चारपाङ्ग्रे सवारी निषेध गर्ने निर्णय सकारात्मक कदम हो। सुरुआती दिनमा केही समस्या आए पनि पछाडि फर्कनु हुँदैन,’ उनले भने, ‘बरु स्थानीयका समस्या हल गर्न के के उपाय अपनाउन सकिन्छ भन्नेमा विमर्श गर्न सकिन्छ।’

‘साइकल ढुवानी प्रवर्द्धन समस्या समाधानको प्रभावकारी माध्यम हो,’ उनले भने।

पाटन, चाकुपाटका भरत कोइरालाको यस्तै धारणा छ।

उनी तीन वर्षदेखि साइकलमा सामान ढुवानी गर्दै आएका छन्। उनी स्यानिटरी प्याड, डाइपर, ट्वाइलेट पेपर, न्याप्किन, सरसफाइ गर्ने जाली, ओडोनिल, प्लास्टिकका कप–प्लेटजस्ता धेरैथरि हलुका सामान साइकलमै ओसार्छन्। ललितपुरका किराना, मेडिकल, कस्मेटिक्स पसल र पार्लर उनका नियमित ग्राहक हुन्।

भरत कोइराला। तस्बिर स्रोतः पोर्टल बाइक्स

‘असन, इन्द्रचोक, किलागल, ठैंटी, नरदेवी, भेडासिंहजस्तो बाक्लो बजारमा त हाम्रो साइकल ढुवानीको ठूलो सम्भावना छ,’ उनी भन्छन्, ‘अब त झन् चारपाङ्ग्रेमुक्त भएपछि गाडीको घन्चमन्च पनि भएन।’

काठमाडौंको भित्री बस्ती उकालो–ओरालो नभएकाले साइकलमा सामान ओसार्न परिश्रम नपर्ने उनको भनाइ छ। उनी अहिले नै ७० किलोजति सामान राखेर दैनिक २०–२५ किलोमिटर साइकल गुडाउँछन्। असन क्षेत्रमा काम गर्ने हो भने योभन्दा धेरै ओसार्न सक्ने उनी बताउँछन्।

‘मैले अध्ययनै गरेको त छैन, तर असन क्षेत्रका धेरैजसो मालसामान साइकलबाटै ढुवानी गर्न सकिन्छ जस्तो लाग्छ,’ उनले भने।

व्यवस्थापनमा एउटा भनाइ छ– उद्यमी त्यो हो, जसले समस्याभित्र अवसर देख्छ। काठमाडौंको भित्री बजार चारपाङग्रेमुक्त भएपछि उत्पन्न समस्या धेरैका निम्ति उद्यमको अवसर हुन सक्ने कोइराला बताउँछन्।

‘आफ्नै उद्यमको चाहना भएकालाई साइकल व्यापार राम्रो सुरुआत हो,’ कोइरालाले भने, ‘थोरै लगानीमा सुरु गरेर जे बिक्री गर्दा पनि हुन्छ। जागिर खोज्दै भौंतारिनुभन्दा यो काम गर्नु धेरै फाइदा छ।’

सबभन्दा सकारात्मक पक्ष भनेको साइकल व्यवसाय गर्न कुनै ठूलो योग्यता र लगानी चाहिँदैन। चलाउन जान्ने भए हुन्छ।

साइकलको मूल्य गुणस्तर र प्रकार हेरी फरक पर्छ। कोइरालाका अनुसार सामान्यतया ढुवानी निम्ति १० हजार रूपैयाँभन्दा माथिका गियरवाला साइकल भए सहज हुन्छ। सामान राख्न बाकस वा स्ट्यान्ड बनाउनुपरे दुईदेखि पाँच हजारसम्म पर्छ।

पोर्टल बाइक्स लगायत कम्पनीले सामान ढुवानी गर्ने यस्ता साइकल बेच्दै आएको छ। यसको मूल्य ३२ हजार ५ सय रुपैयाँ छ। यति महँगो नकिन्ने हो भने सामान्य गियरवाला साइकलमै कम खर्चमा क्यारिअर राख्न सकिन्छ। दुवैले दिने सुविधा लगभग उस्तै हो।

कुनै बेला एउटा निजी कम्पनीमा बजार प्रतिनिधि रहेका कोइराला साइकल व्यापारबाट सन्तुष्ट छन्।

बजार प्रतिनिधि छँदा उनी दैनिक १० घन्टाभन्दा बढी काम गर्थे। तै परिवार पाल्न हम्मे पर्थ्यो। एक छोरा, एक छोरी र श्रीमतीसँग बस्दै आएका उनी काममा यति व्यस्त हुन्थे, परिवारलाई मुश्किलले समय दिन पाउँथे।

यी सब झमेलाबाट मुक्त हुन उनले उद्यमको विकल्प रोजे।

‘आफ्नो लागि समय निकाल्न सकिने, बजार मागअनुसार सामान बेच्न सकिने र धेरै लगानी पनि नचाहिने काम कसरी गर्ने होला भन्ने सोच्थेँ,’ उनले भने, ‘अहिले यी सबै थोक पाएको छु।’

साइकलमा राखिएको आलु चिप्स। तस्बिर स्रोतः पोर्टल बाइक्स

चार जनाको परिवार उनी एक्लैको कमाइले धानेको छ। छोरा १७ वर्षका छन्। ब्राइट फ्यूचर कलेजबाट १२ पास गरिसके। अब थापाथलीको एभरेस्ट कलेजमा स्नातक पढ्ने तयारी गर्दैछन्। छोरी १४ वर्षकी भइन्। शंखमूलको एआइए स्कुलमा कक्षा १० पढ्छिन्।

‘जागिर छाडेर सुरु गरेको यो कामले मेरो जिन्दगी नै बदलियो। न कसैको किचकिच न समय पाबन्दी। आफ्नो हाकिम आफैं,’ उनले हाँस्दै भने, ‘म जति सन्तुष्ट छु, मैले सामान ओसार्ने ग्राहक पनि सन्तुष्ट छन् जस्तो लाग्छ।’

वास्तवमै कोइराला आफ्नो कामका ‘हाकिम’ हुन्। ललितपुर क्षेत्रका अधिकांश पसलले उनलाई चिन्छन्। उनको साइकल व्यापार चिन्छन्।

साइकल व्यापार गर्नुअघि कुन सामान बेच्ने वा कुन-कुन पसलको अर्डर ओसार्ने निश्चित हुनुपर्ने भट्टराईको सुझाव छ। ‘आफू जाने क्षेत्र र आफ्ना सम्भावित ग्राहक को हुन सक्छन् भन्ने सर्रर बुझ्न सकिन्छ,’ उनले भने।

भट्टराई र कोइरालाजस्ता साइकल व्यापार गर्ने धेरै छन्। कोही आलुचिप्स, चिजबल्सजस्ता खानेकुरा बेच्छन् भने कसैले चकलेट, चुइगम, बिस्कुट, डुनट, पाउरोटी। साइकलमै फूलका बिरूवा बेच्ने र पानीका जार ढुवानी गर्ने पनि छन्।

‘असन क्षेत्रमा अहिले यस्ता हलुका सामान ल्याउन पनि एकाबिहानै वा साँझ पर्खिनुपर्छ,’ कोइरालाले भने, ‘हामीजस्तै साइकलमा ल्याइपुर्याइ गर्दा त्यहाँका व्यापारीलाई सहज, नयाँ उद्यम गर्न खोज्नेलाई मौका।’

‘असनका व्यवसायीले यो विकल्प प्रयोग गरेर आफ्नो समस्या सुल्झाउन सक्छन्,’ उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.