‘कर्साब! हामीसँग त बन्दुक छैन, टोली पठाउनुपर्यो।’
चुवाङ तामाङ बेलाबेलामा नेपाली सेनाका प्रमुख सेनानी प्रद्युम्न गौतमलाई फोन गरी भनिरहन्छन्।
तामाङ गोसाइँकुण्ड गाउँपालिका-५ स्याप्रुबेँसीका स्थानीय तथा सूर्यकुण्ड मध्यवर्ती संरक्षण समितिका अध्यक्ष समेत हुन्।
गौतम भने लाङटाङ राष्ट्रिय निकुञ्ज संरक्षणका लागि रसुवाको सदरमुकाम धुन्चेमा रहेको श्रीनाथ गणका गणपति हुन्।
लाङटाङको निकुञ्ज क्षेत्रमा धेरैजसो लोपोन्मुख जनावर रेडपाण्डा पाइन्छ। अन्य चरी बाघ, हिउँचितुवा, कस्तुरी मृग लगायत जंगली जनावरहरू पनि पाइन्छ। केही महिनाअघि मात्रै रसुवाकै कालिकामा दुई वटा चरी बाघका बच्चा फेला परे।
पुस, माघ, फागुन महिनामा धेरै जाडो हुँदा माथिल्लो भेगमा हिउँ पर्छ।
तीन महिनापछि हिउँ पग्लिन थाल्छ। त्यही बेला लाङटाङमा काठमाडौंसहित विभिन्न क्षेत्रबाट ट्रेकिङका लागि जान्छन्। यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनका यस कारण पनि चर्चित छ।
तर यसैबीच यहाँ लोपोन्मुख जनावर रेड पाण्डा पनि भएकाले चोरी सिकारी गर्ने समूह पनि सक्रिय रहने गरेको छ। कतिपय भने कस्तुरी मृगको वीणाका लागि पनि सिकार गर्न खोज्नेहरू रहेको पनि समिति अध्यक्ष तामाङले बताए।
सेनासँग गस्ती जाँदा क्याम्प बनाएर बसेका स्थानीय।
चैत/वैशाख सुरू भएसँगै चुवाङ तामाङले सेनाका प्रमुख सेनानी गौतमलाई अनुरोध गरी संयुक्त गस्ती जाने गरेका छन्।
‘हामी यहाँको स्थानीय पनि भएकाले धेरै ठाउँ, बाटोबारे थाहा पनि हुन्छ। त्यसैले हामी पनि संरक्षण गर्न भनेर हिँड्छौं,’ तामाङले भने, ‘अन्यत्र स्थानीय र सेनाको द्वन्द्व छ भन्छन्। तर यहाँ छैन। हामी पनि संरक्षणका लागि सँगै हिँड्ने गर्छौं।’
चोरी सिकारी गर्ने तस्करहरूसँग हतियार हुने भएकाले पनि आफूहरूले सेनाको सहयोग लिनुपर्ने उनी बताउँछन्।
‘तस्करसँग त बन्दुक हुन्छ नि! हामीसँग हुँदैन। हामी पनि जाने भनेको स्थानीयहरू नै हो। त्यसैले बेलाबेलामा म कर्साबलाई फोन गर्छु- मसँग बन्दुक छैन नि। गस्ती जानलाई सेनाको टोली पठाउनुपर्यो। हामी मात्र गएपछि त ज्यानकै खतरा छ,’ उनले भने, ‘त्यसो भनेपछि उहाँले पनि पठाउनुहुन्छ। सुरक्षित भएर काम गर्न पाउँछौं।’
ठाउँठाउँमा क्याम्प नै स्थापना गरी स्थानीय र सेना बसेर हिँड्ने गरेका छन्। यसरी प्रतिफल पनि मिलेको तामाङ बताउँछन्।
‘हामी जाँदा हरेक पटकजसो पासो फेला पर्ने गरेको छ,’ उनले भने।
सयौंको संख्यामा पासो फेला पारेर निकालेको पनि उनले बताएका छन्।
उनका अनुसार दोकाचे, जुरिङ्गखर्क, ताङरो, कोल्मु, दोकाचे, जुरिङ्गखर्क लगायत ठाउँमा त्यस्ता पासो फेला परेका छन्।
कतिपय ठाउँमा त सिकारीले बास बस्ने ठाउँसमेत बनाएको फेला परेको छ। फेला परेका त्यस्ता बासस्थानलाई पनि सेना र स्थानीयले भत्काउने गरेका छन्।
तस्करले बनाएको बासस्थान।
विशेषगरी स्थानीयसँग सेना सूचना आएको बेला खटिन्छ। त्यसबाहेक सेनाले पनि आफ्नै हिसाबले विभिन्न अपरेसनहरू सञ्चालन गर्दै आएको छ। सेनाले पनि आफ्नै सुराक परिचालन गरी गस्ती पठाउने गरेको छ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले पनि निकुञ्ज क्षेत्रमा तस्करी नियन्त्रण तथा संरक्षणका लागि स्थानीयको सहकार्य महत्वपूर्ण र प्रभावकारी भएको बताए।
‘स्थानीयसँगको सहकार्य महत्वपूर्ण र प्रभावकारी देखिएको छ। यसले तस्करी नियन्त्रण गर्न सेनालाई पनि मद्दत भएको छ,’ उनले भने।
स्थानीयसँगको सहकार्यसँगै सेनाले आफ्नै हिसाबले पनि संरक्षण गर्दै आएको उनले बताए।
निकुञ्जको संरक्षण गर्न सेनाले गर्ने विशेष अपरेसन, स्पाई क्यामरा, लगायतले पनि मद्दत पुर्याएको उनले जानकारी दिए।
सेनाको श्रीनाथ गणले गत वर्षमात्रै ६ सयभन्दा बढी पासो फेला पारी हटाएको छ।
लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवा, सिन्धुपाल्चोक र नुवाकोटमा पर्छ। त्यसका लागि सेनाले तीन वटा सेक्टर विभाजन गरी गस्ती पठाउने गरेको छ। हेलम्बु, स्याप्रुबेँसी र कालिका सेक्टर विभाजन गरी सेना परिचालन भएका छन्। कतिपय ठाउँमा अस्थायी बेस नै राखेर सेना परिचालन भएको छ।
अन्य राष्ट्रिय निकुञ्जका ठाउँठाउँमा स्पाई क्यामरा पनि जडान गरिएका छन्। तर लाङटाङमा त्यसको प्रयोग भइसकेको छैन।
चितवन राष्ट्रिय निकुञ्जमा हालै सिकारी गर्न पुगेका दुई जना स्पाई क्यामरामा कैद भएका थिए।
सहायक रथी बस्नेतका अनुसार तस्बिर प्राप्त भएपछि जेठ २१ गते चितवनको निकुञ्जबाट सिकारीका केही सामान बरामद भएका थिए। क्यामरामा कैद भएको हुलियाको आधारमा जेठ २२ गते दुई जना पक्राउ परेका थिए भने जेठ २३ गते उनीहरूले छाडेका हतियार पनि बरामद भएका थिए।
अहिले सेनाले रियल टाइम मनिटरिङ सिस्टम, स्मार्ट आई, भेहिकल ट्र्याकिङ एन्ड रेकग्निसन सिस्टमको प्रयोग गर्न थालेको छ।
सेना आफैले १५ वटा स्मार्ट आई प्रविधिको विकास गरी निकुञ्जमा प्रयोग गर्ने तयारी भइरहेको पनि सहायक रथी बस्नेतले बताए।
निकुञ्जमा रेड पाण्डा छ, तर छैन यकिन संख्या
लाङटाङ निकुञ्ज क्षेत्रमा रेडपाण्ड पाइन्छ भन्ने यकिन छ। तर भौगोलिक अवस्थाका कारण कति संख्यामा छ भन्ने यकिन गर्न भने सकेको छैन।
स्याप्रुबेँसीकी रेन्जर निलम कार्कीले रेडपाण्डा रहे पनि कति छन् भन्ने गणना नभएको बताइन्।
‘कतिको संख्यामा रेडपाण्डा छ भनेर यहाँ गणना हुनसकेको छैन। गणना गर्नलाई प्राविधिक सहयोगको आवश्यक छ। त्यसका लागि पहल भइरहेको छ,’ उनले भनिन्।
निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यसबारेमा अध्ययन गर्नुपर्ने बताए।
‘अध्ययन नभएकाले यकिन कति छ भनेर थाहा पाउन सकिएको छैन। अध्ययन सुरू गर्न थालेपछि यहाँको यकिन संख्या आउँछ,’ उनले भने।
निकुञ्जमा सेना ५० वर्षदेखि तैनाथ, अमेरिकाको यल्लोस्टोन नेसनल पार्कभन्दा लामो समयदेखि नेपालमा प्रकृति संरक्षण
नेपाली सेनाले राष्ट्रिय निकुञ्जमा संरक्षण गर्न थालेको यसवर्ष ५० वर्ष पुगेको छ।
विगत ५० वर्षदेखि हिमाल, पहाड र तराईंका ३३ जिल्लाहरूमा रहेका १४ वटा राष्ट्रिय निकुञ्ज र आरक्षहरूमा नेपाली सेना खटिँदै आएको छ। तर नेपालको प्रकृति तथा वन्यजन्तुको संरक्षण गर्न थालेको इतिहास त्योभन्दा अगाडिको छ।
अमेरिकाको यल्लोस्टोन नेसनल पार्क विश्वकै सबैभन्दा पुरानो निकुञ्जको रूपमा चिनिन्छ।
यल्लोस्टोन नेसनल पार्क सन् १८७२ मा स्थापना भएको थियो। तर त्यो भन्दा तीन वर्ष अगावै अर्थात सन् १८६९ मा नै नेपालमा प्रकृति संरक्षण काम सुरू भएको थियो।
सन् १८६९ मा राजा सुरेन्द्र वीर विक्रम शाहको पालामा नै प्रकृति संरक्षणको प्रयास सुरू भइसकेको शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेको शिलालेखमा उल्लेख गरिएको जंगी अड्डाले जनाएको छ।
नेपाली सेनाले वि.सं.२०१८ देखि गैँडा गस्ती सुरू गरेको थियो।
वि.सं. २०३० मा नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्जको घोषणा भएको थियो। त्यसपछि नेपाली सेनाले वि.सं. २०३२ सालदेखि संरक्षणको लागि औपचारिक रूपमा जिम्मेवारी दिइएको थियो। यसरी सेनाले संरक्षण क्षेत्रमा ५० वर्ष पूरा गरेको हो।
अहिले नेपाली सेनाका ८ वटा गण, ७ वटा अनाश्रित गुल्म र १ वटा शिक्षालय गरी करिब ८ हजार भन्दा बढी सैनिक संरक्षित क्षेत्रहरूमा परिचालित छन्।
