अनि, माङमति बनिन् झ्यांसी डोल्मा

तस्वीरः विद्या राजपुत


माङमति लामा ३७ वर्षकी थिइन्। उनले पूरै कपाल खौरिइन्। नयाँ नाम राखिन्– झ्यांसी डोल्मा।

झ्यांसी डोल्मा ५२ वर्षकी भइन्।

उनलाई यो नाम निकै प्यारो छ। चितवन टाँडीको एक गुम्बामा यही नाम सार्थक बनाउन उनी बसिरहेकी छन्।

झ्यांसी आनी हुन्।

लमजुङको गाउँबाट धेरै वर्ष पहिले चितवन झरेपछि उनी अरूको घरमा काम गरेर जीवन गुजारा गर्थिन्। यही क्रममा उनको भेट गुम्बामा बस्ने साङ्गे दोर्जेसँग भयो। तिनै ‘लामा गुरू’ ले उनलाई आनी बन्न प्रेरित गरे।

‘अर्काको घरमा काम गरेर गुजारा चलाउँथे,’ झ्यांसीले भनिन्, ‘यस्तैमा एक जना लामा गुरू भेट हुनुभयो। उहाँले मलाई आनी बन, कति अरूको घरमा काम गरेर बस्छौ? भन्नुभयो। सबै व्यवस्था पनि मिलाइदिन्छु भनेपछि मलाई एककिसिमले ढुक्क भयो। मेरो जीवन यसै कठिन थियो। त्यसले आनी बनेर शान्ति पाउने विचार गरेँ।’

विचार गरे पनि घरेलु कामकाज गर्दै आएकी उनलाई आनी बन्न र बनेपछि के–के गर्नुपर्छ भन्ने थाहा थिएन। उनको मन आत्तिएको थियो।

उनले गुरूलाई सोधिहालिन्– आनीले के–के गर्नुपर्छ?

गुरूले सबै सम्झाए र हेटौंडाको एक गुम्बामा लगेर आनी बन्ने प्रक्रिया सुरु गरे।

सामान्य जीवन विताइरहेकी महिलालाई आनी बन्न त्यति सजिलो कहाँ थियो र?

‘मैले सुरुमै कपाल खुइलाउनु पर्यो अनि रातो र पहेंलो कपडा लगाउनु पर्यो,’ उनले भनिन्, ‘खुइलिएको कपाल र ती लुगा लगाएर पहिलोपटक ऐना हेर्दा त म एकदमै झस्किएँ।’

उनको स्वरूप पूरै फेरिएको थियो– अनुहारको मुस्कानबाहेक।

आनी जीवन सामान्य जीवनभन्दा धेरै फरक हुने उनले बताइन्।

‘हामीले सादा जीवन बिताउनपर्थ्यो,’ उनले भनिन्, ‘अधबैंसे उमेरमा बुद्धको शरणमा पुगेकी भएर होला मलाई बाहिरी आकर्षणले तानेन। गुम्बामा योग, ध्यान, पूजापाठ र भिक्षा माग्ने कामले मेरो जीवनमा परिवर्तन ल्यायो।’

गुम्बाका प्रमुख गुरू सइनम दोर्जेका अनुसार सबै मोह त्यागेर लामा जीवन विताउने प्रण गरेर पञ्चशील लिएपछि मात्र लामा बन्न पाइन्छ। पञ्चशीलमा जाँड रक्सी र माछामासु नखाने, अर्काको सम्पत्तिमा लोभ नगर्ने, राम्रो व्यवहार गर्ने लगायतका कुरा पर्छन्। यी सबको मूल्यांकनपछि कपाल खौरिने र पहेंलो–रातो लुगा लाउनुपर्छ।

झ्यांसी १२ वर्ष अगाडि यही मूल्यांकनमा सफल भएकी थिइन्।

आज पनि उनको खुइल्याइएको कपाल उस्तै छ। अनुहारको मुस्कान ताजै छ। जीवन हतासिएको छैन, सन्तुष्ट छ।

आनी बनिसकेपछि टाँडी, हेटौंडा र दाउन्नेका सबै गुम्बा चहारेपछि उनले टाँडीको गुम्बामा रोजिन्।

उनी बिहान ३ बजे उठेर पूजा गर्छिन्। ‘चोखो’ पानी र चिया पिउँछिन्। खाना पकाउँछिन्, भाँडा सफा गर्छिन् र कपडा धुन्छिन्। यस्तै–यस्तै काममा उनको दिन बित्छ।

झ्यांसी भिक्षुनी हुन्। धर्मअनुसार उनी बेला–बेला भिक्षा माग्न पनि जानुपर्छ। धेरै समय गुम्बाको हेरचाहमै बिताउने हुनाले उनी भ्याउँदिनन्। तर साथी पाए मिलाएर कहिलेकाँही भने जान्छिन्।

‘समय मिल्यो भने टाढा र नमिले नजिक जान्छु,’ झ्यांसीले भनिन्, ‘भिक्षामा इच्छाअनुसार धान, चामल, पैसा दिन्छन्। अहिलेसम्म भगवानले पुर्याइरहेका छन्। गुम्बामा शान्ति मिल्छ।’

तस्वीरः विद्या राजपुत

यही शान्ति हो उनले एक्लै अनुभूति गर्न नचाहेको। ‘मैले गुम्बामा जे पाएँ, त्यो एक्लै अनुभव गरिबस्न मन लागेन,’ उनले भनिन्, ‘अरूले पनि पाऊन् भन्ने भयो। खासगरी मेरो परिवारले।’

त्यसैले गुम्बामा आफ्नो जीवन केही सहज भएपछि उनले लमजुङबाट आमालाई बोलाइन्।

‘आमाको खुबै याद आउँथ्यो,’ उनले भनिन्, ‘यहाँ पनि कहिलेकाँही एक्लै भएको जस्तो लाग्थ्यो। अनि बोलाएँ। आमाले ६० वर्षमा कपाल खौरनुभयो,यही गुम्बामा बस्नुभयो। क, ख पनि यहीँ सिक्नुभयो।’

आमा मात्र होइन, पछि उनका बुबा पनि त्यही गुम्बा आए।

विस्तारै उनका परिवारका अन्य सदस्य पनि आउन थाले। अहिले झ्यांसी र उनका आमाबुबासहित त्यहाँ बहिनीका दुई छोरी, २ छोरा र एक जना नाता पर्ने बहिनी र बज्यै छन्।

यी सबैको यहाँ आ–आफ्नो जिम्मेवारी छ।

‘गुम्बाको जिम्मेवारी आमाबुवा र मेरो हो,’ झ्यांसीले भनिन्, ‘गुम्बामा ठूलो काम गर्न परे गुरू बोलाउँछौं। नत्र नियमित पूजापाठ हामी नै गर्छौं। यसमा पनि आमाको जिम्मेवारी धेरै छ।’

उनकी आमालाई सबैले बोलाउने नाम ‘ठूली आनी’ हो। उनी ७२ वर्षकी भइन्। बिहान ३ बजे उठेर ६ बजेसम्म ध्यान र पूजापाठ गर्छिन्। बेलुकी पनि ३ बजेदेखि नै पूजा सुरु हुन्छ।

‘बूढी भएँ, तर ३ बजे उठेर नै सबभन्दा पहिला ध्यान गर्छु, अनि पुजामा बस्छु,’ उनले भनिन्, ‘ढ्यांग्रो र घण्टी बजाउने, पूजा गर्ने काम एकदम मनपर्छ, आनन्द आउँछ।’

यी सबमा परिवारका सदस्य साथै हुनुले पनि आनन्द बढाएको ठूली आनी बताउँछिन्।

तस्वीरः विद्या राजपुत

‘सबै परिवार यहीँ छ। छोरीको मात्र होइन, गुम्बा र यहाँका सबैको अभिभावक भएकी छु। भगवानको घरमा छु। मलाई के चाहियो ररु,’ उनले भनिन्।

ठूली आनीलाई काम नगरी बस्न मनपर्दैन। केही न केही गरिरहेकी हुन्छिन्। शरीर अलि बलियो हुँदा गुम्बाकै बारीमा बेसार, अदुवा रोप्थिन् र बेच्थिन्। आफूलाई चाहिने तरकारी आफैं फलाउँथिन्।

‘आजकाल सक्दिनँ, त्यही पसल खोलेकी छु,’ उनले भनिन्, ‘पसलमा धेरै दुःख हुँदैन। गुम्बामा प्रार्थना गर्न आउनेका लागि चाहिने धुप, झण्डा बेच्छु।’

उनी आफ्नो पसलमा धेरै सस्तोमा सामान बेच्ने बताउँछिन्। ‘सोच्नु न पसल खोलेको ३ दिनमा सय रुपैयाँ बोहनी भएको थियो। म व्यापारी होइन। समय काट्न र यहाँ आउनेका निम्ति सहज होस् भनेर पसल थापेकी हुँ।’

उता झ्यांसीका बाबु पनि आमा जस्तै नै छन्। एकैछिन् खाली बस्दैनन्। उनी उमर बहादुर थिए, गुम्बामा हिसे दोर्जे भए। अहिले उनलाई सबै ‘मेमे’भन्छन्।

छोरी र श्रीमती गुम्बा आएपछि पनि उमर बहादुरले धेरै समय बाहिरै काम गरेर बसे। उनी मिस्त्री हुन्।

बुढो हुँदै गएपछि परिवारसँगै गुम्बा बस्न आएका उनी अहिले पनि बाहिर मिस्त्रीको काम गर्छन्। उनीसँग घर र काठको सामान बनाउने सिप छ। गुम्बामा आवश्यक मर्मत सकेसम्म आफैं गर्छन्।

तस्वीरः विद्या राजपुत

‘म बेन्चहरू र बत्तिबिजुली बनाउने, खन्ने सबै काम गर्छु,’ उनले भने, ‘यहाँ धर्मशाला बनाउँदा पनि खटेको थिएँ। पूजापाठ सकेपछि गुम्बाको काम हेर्छु।’

एकै परिवारका ८ सदस्यले गुम्बा रेखदेख गरेपनि गुम्बाको अवस्था निकै नाजुक भएको गुम्बाका उपप्रमुख फुर्वा दोर्जे बताउँछन्।

‘विसं २०४८ मा बनेको गुम्बा हो। २० वर्षमा पनि त्यति व्यवस्थित गर्न सकिएको छैन,’ उनले भने।

उनका अुनसार वार्षिक बत्ति बाल्ने कार्यक्रम, मानिस बितेपछि गरिने कामकाज गुम्बाबाट हुन्छन्। त्यहीबेलाका दान–दक्षिणा, कुनै कर्म काण्डबाट केही आम्दानी हुने उनी बताउँछन्।

‘आनी–मेमेहरू चुहिने छाप्रोमा बस्छन्। एउटा सानो गुम्बा छ। भित्ताहरू साह्रै कमजोर भइसके, ढल्न मात्र बाँकी छन्,’ उनले भने, ‘जीवन कष्टकर छ।’

यही कष्टकर जीवन सहज बनाउन उनीहरू बजार टोल, गाउँमा चन्दा संकलन गर्न जान्छन्। इच्छाअनुसार दान गर्न अनुरोध गर्छन्। ‘त्यसैबाट खान–लाउन पुर्याउँछौं,’ उनले भने।

गुम्बामा अहिले ४–५ जना विद्यार्थी लामा पनि पढ्छन्।

गुम्बाको संरक्षण गर्न सके बौद्ध धर्म र लामाको उद्दार हुने गुम्बाका अध्यक्ष कृष्ण बहादुर ब्लोन्ड बताउँछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.