तीन वर्षअघिको भुइँचालोले माटोमा परिणत मुलुकका अधिकांश पहाडी गाउँ राम्ररी उठ्न सकेका छैनन्। सिन्धुपाल्चोकको अतिविकट तेम्पाथाङले भने त्यसरी ध्वस्त हुनुको पीडालाई अवसरमा बदल्न सुरु गरिसकेको छ।
‘मौलिक नेपाली घरहरुले भरिएको मुलुककै सुन्दर गाउँ बन्दैछ,’ गाउँबाटै उठेर काठमाडौंमा स्थापित भइसकेका पर्यटन व्यवसायी सोनाम शेर्पा भन्छन्, ‘अबका केही वर्षमा यो गाउँ घुम्न पर्यटकहरुको ताँती लगाउँदैछु।’
२८ वर्षदेखि पर्यटन व्यवसायमा लागेका सोनामले यो सपना त्यत्तिकै अघि बढाएका होइनन्। आफू जन्मेहुर्केको गाउँ सोत्तर भएपछि उनी रन्थनिएका थिए। गाउँलाई पहिलेभन्दा धेरै राम्रोसँग फेरि उभ्याउने कसरी? दुर्भाग्य त भयो, तर यसलाई सौभाग्यमा बदल्ने कसरी? उनी यही चिन्तनमा लागे। र, मौलिक अनि सुन्दर नेपाली घर बनाउने कला खोज्दै पुगे पनौतिस्थित ‘नेपाल भोकेसनल एकेडेमी’। त्यहीँ भेट भयो एकेडेमीका संस्थापक तथा मौलिक नेपाली घरहरुको संरक्षण र विस्तार अभियानमा लागेका रविन्द्र पुरी।
‘वर्षात बेला त यहाँ आइपुग्नै महाभारत हुने,’ पुरी भन्छन्, ‘त्यतिबेला हिउँदमा पनि मोटर चल्ने विन्दुबाट दुई दिनको बाटो उकालो हिँड्नुपर्थ्यो।’
अरनिको राजमार्गको बलेफीबाट भित्री बाटो समातेर जलबिरे हुँदै सोझै उत्तर उक्लिएपछि तिब्बतसँगको सिमानामै यो गाउँ पर्छ। शेर्पा जातिको बसोबास रहेको यो गाउँ जुगल हिमालको काखमा छ।
जे होस्, पुरीलाई भुइँचालोले ध्वस्त भएको तेम्पाथाङसम्म सोनामले पहिलोपटक हेलिकप्टरमै लगिदिए।
[caption id="attachment_106618" align="alignnone" width="3264"]
सोनाम शेर्पा र रवीन्द्र पुरी।[/caption]
‘काठमाडौंदेखि मान्छे र सामान ओसारेर यहाँ घर बन्दैन,’ पुरीले त्यतिबेलै भनेछन्, ‘गाउँका जागरुक तन्नेरीहरु पठाइदिनुस्, उनीहरुलाई यतै भीरपाखामा उपलब्ध साधन प्रयोग गर्दै बलियो र राम्रो घर बनाउने कला सिकाएर पठाइदिन्छु।’
त्यही विन्दुबाट सोनामको सपना अब उनी एक्लैको सपना रहेन। रविन्द्रले आफूलाई पनि यसमा जोडिदिए।
गाउँभरिबाट सिकर्मी र डकर्मी काम सिक्न १८ जना तन्नेरी छनौट गरियो। उनीहरुलाई डेढ महिनासम्म पनौतीमा राखेर ढुंगा ताछ्ने, काठ चिर्नेदेखि छानो तयार पार्नेसम्मका कला सिकाइयो। राम्रो घर मात्र भएर पुग्दैन, फेरि विपत्ति आइपरे हत्तपत्त नभत्किने बलियो घर बनाउनु पनि उत्तिकै जरुरी थियो। त्यो सबैका तरिका पनि सिकाइयो।
यसरी नै पनौतीबाट दक्ष सिकर्मी बनेर आउनेमध्येका हुन्, जाङबु शेर्पा।
छेउको गाउँ पुगेर आठ कक्षासम्म पढेका जाङबुले इच्छा भइकन पनि त्यसभन्दा अगाडि पढाइ गर्न सकेनन्। १८ वर्षकै उमेरमा उनी मजदुरी गर्न भारत र तिब्बतको सिमाना लद्दाख पुगे। घर बनाउने मजदुरी गर्दागर्दै त्यहीँ उनले डकर्मी काम सिकेका थिए।
‘त्यहाँ सिमेन्ट र छडले घर बनाइन्थ्यो,’ जाङबु भन्छन्, ‘यहाँ चाहिँ तरिका नजानेर नै हामी ढुंगा माटोको घर बलियो हुँदैन भन्दै आइरहेका थियौं।’
[caption id="attachment_106615" align="alignnone" width="2528"]
जाङ्बु शेर्पा[/caption]
करिब चार वर्षपहिले जाङबु फर्केर गाउँ आए र उता सिकेको डकर्मी पेसा अपनाएरै जसोतसो गुजारा गरिरहेका थिए। अचानक भुइँचालो आएर सबै ध्वस्त भइदियो।
‘त्यतिबेलै गाउँकै सोनाम दाइले तल पनौती लगेर सिकर्मी काम सिकाउने र रोजगारी पनि दिने कुरा गर्नुभयो,’ जाङबु भन्छन्, ‘त्यसपछि गाउँकै साथीहरु जम्मा गरेर उहाँको साथ लागेका थियौं।’
जाङबुका अनुसार गाउँकै दुई किलोमिटर माथि गोब्रेसल्लाको वन छ। त्यहीँबाट काठ ल्याएर झ्यालढोका बनाउने काम त उनीहरुले पहिले पनि गर्दै आएका थिए।
‘आरी, बसेला र बन्चरो प्रयोग गरेर हामीले बनाएका झ्यालढोका न बलिया हुन्थे न राम्रा,’ उनी भन्छन्, ‘पनौतीमा मेसिन देखेपछि हामीले गाउँमा त्यस्तै मेसिन जडान गर्यौं र अब त्यही काठ बलियो मात्र होइन, त्यसमा बुट्टासमेत काटेका छौं।’
जाङबुको नेतृत्वमा सिकर्मी काम सिक्न गाउँका आठ जना तन्नेरी पनौती गएका थिए।
‘यता डकर्मी काम गरिरहेका हामी मेसिनसमेत चलाएर सिकर्मी काम गर्न पोख्त भएर आयौं,’ उनी भन्छन्, ‘घरमा प्रयोग हुने काठको संरचना तयार पार्ने मात्र नभई ती काठलाई कसरी लामो समय जोगाउने भन्ने जानकारी पनि लिएर आएका छौं।’
सम्पूर्ण घर भत्किएको यस गाउँमा पहिले कस्ता घर बन्थे भन्ने जिज्ञासामा जाङबुले जसोतसो अडिएको परको गुम्बा देखाए। उनका अनुसार त्यसै गुम्बालाई आधार बनाएर गाउँका बाँकी घर तयार भएका थिए।
ढुंगाको बाक्लो गारो र अत्यन्त साना झ्याल रहेको गुम्बा मुलुकका दुर्गम भेगमा देखिने संरचनाभन्दा बेग्लै थिएन।
जाङबुले सिकर्मीहरुको नेतृत्व गरेजस्तै गाउँकै तेन्जी शेर्पा भने १० जना डकर्मी टोलीको नेतृत्व गरेर पनौती गएका थिए। उनी मूलतः कृषिमै आश्रित छन्। तर, गाउँमा पर्दाओर्दा सघाउन भनेर तेन्जीले डकर्मी काम स्थानीय तवरबाटै सिकेका थिए।
‘मैले बनाएका कुनै पनि घर भुइँचालोमा बाँचेनन्,’ उनी भन्छन्, ‘त्यसैले अब घर बनाउनु बेकार छ भनेर सोचिरहेकै बेला यसरी बलियो घर बनाउने तरिका जान्न पाइयो।’
[caption id="attachment_106621" align="alignnone" width="2067"]
तेन्जी शेर्पा[/caption]
तेन्जीका अनुसार वैशाख १२ को पहिलो भुइँचालोले नै क्षतविक्षत पारिदिएको यस गाउँलाई त्यसपछिका ठूला परकम्पले ध्वस्तै बनाइदियो। भुइँचालो बेला यस गाउँमा दुई जना महिलाको निधन भएको थियो।
‘गाउँमा डकर्मी काम जान्ने सबै केटालाई अब नयाँ किसिमले बलियो घर बनाउन सिकाउने ठाउँ छ भनेर सोनाम दाइले बोलाउनुभयो,’ तेन्जी भन्छन्, ‘त्यसपछि साथीभाइ जम्मा भएर गएका थियौं।’
पनौतीमा सबैभन्दा पहिले त ढुँगाको गारो हाल्दा बीचमा काठको ‘नास’ अनिवार्य फिट गर्नुपर्ने कारण उनले बुझेनन्। तर, त्यसले घर हल्लिँदा कसरी जोगाउँछ भन्ने कारण खुलाइएपछि भने उनी ढुक्क भए।
सीप जानेर आएपछि तेन्जीलाई सबैभन्दा गाह्रो त जग खन्नबाटै सुरु भयो।
‘पहिले जस्तोसुकै जमिनमा दुई फिटसम्म खनेपछि जग हालिहाल्थ्यौं,’ उनी भन्छन्, ‘अब भने हामीलाई कसिलो जमिन नभेटिएसम्म खनिरहनुपर्ने भएको थियो।’
यसरी अहिले बनेका कुनै पनि घर पाँच फिटभन्दा कम गहिराइमा नउभिएको उनी बताउँछन्।
‘कुनै कुनै घर त धेरै गहिरो पो खन्नुपरेको छ,’ तेन्जी भन्छन्, ‘जति मेहनत परे पनि घर बलियो बनाउन सम्झौता गर्नुहुन्न भन्ने लागेर अल्छी मानेनौं।’
यसरी जाङबु र तेन्जीको नेतृत्वमा खटेका कामदार अनि काठमाडौंदेखि सम्पूर्ण भरथेग गरिदिने सोनाम र पुरीको प्रयासकै फलस्वरुप वर्षदिनमै तेम्पाथाङमा मौलिक नेपाली शैलीका छ वटा घर उभिइसकेका छन्। पहिलो चरणमै यस्ता ३५ वटा घर यो गाउँमा बन्ने तयारीमा छ।
यसै क्रममा कामको अनुगमन गर्दै पुगेको पुरीको टोलीलाई गाउँलेहरुले न्यानो स्वागत गरे। ढुंगाले छाएको पहिलो घरधनी नोर्बु शेर्पाले आतिथ्य मात्र प्रदान गरेनन्, भोलिपल्ट गाउँभरिलाई बोलाएर हिमाली शैलीमा स्वागत कार्यक्रमसमेत राखे। खादा ओढाइदिए, मन्त्र पाठ गरे र चिसो बताससँगै एकाकार भाकामा गीत सुनाए।
‘पहिला पहिला यहाँ बनेका घरमा जगदेखि माथि धुरीसम्म एकले अर्कोलाई बाँधेर राख्ने हिसाबले बनाइएको थिएन,’ भत्केको घर देखाउँदै पुरी भनिरहेका थिए, ‘यहाँका तन्नेरी पनौती आएपछि हामीले सबैभन्दा सुरुमा सिकाएको कुरा नै त्यही थियो।’
उदाहरणस्वरुप भर्खरै बनेको घर देखाइयो जसमा गारोका भित्रभित्रै पनि थामजस्तो गएको देखिन्थ्यो। ‘घरका सम्पूर्ण संरचना एकअर्कासँग जोडिएका छन्,’ पुरीले भने, ‘त्यसैले यसरी बनेको घर अब बलियो हुन्छ।’
यस्ता घर बनाउन सुरको ढुंगा पनि मिलाउनुपर्ने हुन्छ। ‘यहाँका मानिसले सुर ढुंगा भन्ने कहिल्यै बनाएकै थिएनन्,’ पुरी भन्छन्, ‘ठीक नब्बे डिग्री कोणको ढुंगालाई सुरमा राखिएन भने भुइँचालो आउँदाखेरि त्यही कुनाबाटै घर ढलिदिन्छ।’
आफूले यस्तै स्थानीय सामग्री तयार पारेरै मुलुकभर बनाएका सयौं घरमध्ये भुइँचालोले एउटालाई पनि नोक्सान गर्न नसकेको दाबी गर्छन् पुरी।
पुरानै घरका काठ र थप माथि वनबाट ल्याइएका काठ प्रयोग गरेका गाउँलेले पनौतीबाटै सिकेर आएको सीप प्रयोग गर्दै कताकती झ्याल–ढोकामा बुट्टा काटेको पनि देखिन्थ्यो। यसरी यो अनकन्टार डाँडामा छाँट मिलेका बुट्टेदार झ्याल–ढोका भित्रिन पुग्यो। यी उत्तिकै बलिया पनि रहेको पुरीको दाबी थियो। बाक्लो गारोमा एकोहोरो झ्याल र ढोका राख्दा घरको कमजोर विन्दु यही हुने गरेको बताइन्छ।
‘यी प्रत्येक झ्याल र ढोकामा दुईवटा फर्मा राख्न लगाएका छौं,’ उनी देखाइरहेका थिए, ‘यसरी यो झ्याल नभएर एक किसिमको बाकसजस्तै बन्न पुग्छ र गाह्रो जत्तिकै बलियो भएर अडिन्छ।’
झ्यालढोका मात्र नभई जगदेखि धुरीसम्म जुन प्रकारले काठ एकअर्कालाई जोडेर राखिएको छ, अब यी संरचनाले नै घरलाई जस्तै कम्पनमा पनि फाटिन नदिने पुरीको दाबी छ।
गाउँलेका अनुसार भुइँचालोमा यस गाउँका सयभन्दा बढी घरधुरी शतप्रतिशत भत्किएका थिए।
‘गाउँका तन्नेरीलाई उही ढुंगा, काठ र माटोबाटै सुरक्षित घर बनाउने यो प्रविधि बताइरहँदा उनीहरुको अनभिज्ञता स्पष्ट देखिएको थियो,’ पुरी भनिरहेका थिए, ‘ढुंगाको गारो बीचमा काठ मिसाउँदा त्यसले यसरी भार थाम्छ भनेर देखाउँदा सबै छक्क परेका थिए।’
सोनाम शेर्पाका अनुसार आफूहरुले तीव्र गतिमा घर बनाउन नसक्दा गाउँलेहरु निराश भइरहेका छन्। ‘एक वर्षमा छ वटा घर मात्र तयार भयो,’ उनी भन्छन्, ‘अबको दुई वर्षमा हाललाई लक्ष्य लिएको ३५ वटै तयार पार्ने उद्देश्य छ।’
सीप सिकेपछि यो एक वर्षको अनुभव पनि थपिएका आधारमा स्थानीय सिकर्मी डकर्मीको आत्मविश्वास बढेको छ।
दुई वर्षमा पहिलो चरणका यी ३५ वटै घर सकिएपछि फेरि अर्को चरणको काम सुरु हुने सोनाम सुनाउँछन्। यसरी तीव्र गतिमा काम अघि बढाउन जनशक्ति थप्नुका साथै गाउँमै स्थापना गरिएको काठको ‘वर्कसप’ मा नयाँ जेनरेटर र बेन सो (काठका मुढा चिर्ने ठूलो आरा) तत्काल चाहिएको उनले बताए।
छेउमै बसेका पुरीले जेनरेटर र आरा आफू काठमाडौं फर्किनेबित्तिकै पठाइदिने वाचा गरे।
‘बिहे र चाडपर्व त कुरै छाडौं, गाउँमा एकजना कोही मरिदियो भने पनि अलिदिनसम्मै गाउँलेहरु काममै फर्किँदैनन्,’ सोनाम भनिरहेका थिए, ‘त्यसैले हत्तपत्त आफ्नो गाउँ फर्किन पनि नसक्ने गरी टाढाबाट कामदार ल्याउने विचार गरिरहेको छु।’
बाहिरबाट आएकाहरुले एकोहोरो काम गरिरहे भने त्यो देखेरै गाउँका अरु तन्नेरीलाई काममा फर्कन उत्साह मिल्ने उनको ठम्याइ छ।
‘मैले रुकुमतिरबाट मान्छे ल्याउने गरी कुरा चलाइरहेको छु,’ सोनाम भन्छन्, ‘आफ्नो गाउँमा कामै नगरे पनि डोल्पा पुगेर अहोरात्र खटिने रुकुमेलीहरु देखेर म प्रभावित भएको थिएँ।’
यतिबेला भने तेम्पाथाङमा पनौतीबाट सिकेर आएका छ जना डकर्मी र आठ जना सिकर्मीले काम गरिरहेका देखिन्थे। ज्यामी चाहिँ घरधनीले नै बन्दोबस्त गर्नुपर्ने प्रावधान छ। गाउँलेहरुबीच एकले अर्कालाई परेका बेला सघाउने भएकाले त्यसमा खासै समस्या छैन।
डकर्मी र सिकर्मीलाई तलबको बन्दोबस्त सोनामले संस्थाका माध्यमबाट मिलाइरहेका छन् भने काम गरुन्जेल दिउँसोको खाजा घरधनीले नै बन्दोबस्त गरिदिनुपर्ने हुन्छ।
यसरी मौलिक शैलीको सम्पूर्ण घर तयार पार्दा आफ्नो अढाइ लाख रुपैयाँ खर्च भएको गाउँकै कामी शेर्पा बताउँछन्। त्यसमध्ये पहिलो किस्ताको पचास हजार रुपैयाँ उनले सरकारबाट पाइसकेका छन्। बाँकीको किस्ता अर्थात् अढाइ लाख रुपैयाँ पनि उनले नियमपूर्वक पाउने पुरी बताउँछन्।
‘पुनर्निर्माण प्राधिकरणले जारी गरेको नक्सामध्येकै एक ‘स्टोन, मेसनरी, मोर्टार’ नमूनामा आधारित भएरै यी घर तयार भएका हुन्,’ पुरी भन्छन्, ‘सक्दो छिटो गाउँलेलाई राम्रो र बलियो घरमा बसाउने सरकारको उद्देश्यलाई नै हाम्रो यो अभियानले सघाएको छ।’
यसरी कामी शेर्पालगायत गाउँलेले मौलिक नेपाली डिजाइनको सुन्दर र बलियो घर मात्र होइन, सरकारी रकम सबै पाएपछि पचास हजार रुपैयाँ उल्टो नाफा पनि कमाउनेछन्।
पुनर्निर्माण प्राधिकरणको आँकडाअनुसार तेम्पाथाङबाट कुल एक सय नौ वटा घर बनाउने निवेदन परेको छ। यथार्थमा ९५ वटाभन्दा बढी घर बनाउनु नपर्ने सोनाम दाबी गर्छन्। २८ वर्ष पर्यटन व्यवसायमा लागेको अनुभवकै आधारमा आफूहरुको योजना पूरा भएपछि यो गाउँ पर्यटकहरुको केन्द्र बन्न सक्ने उनको भनाइ छ।
‘जताततै घान्द्रुक र घलेगाउँभन्दा चिटिक्कका नेपाली घरले भरिएको गाउँ हेर्न कसले मनपराउँदैन?’ उनी भन्छन्, ‘त्यसबाहेक इको र सस्टेनेबल टुरिज्ममा यो ठाउँ अग्रस्थानमै आउनसक्ने हैसियत छ।’
सोनामको ट्रेकिङ एजेन्सीले अहिले पनि पर्यटकहरुलाई यो गाउँभन्दा पल्लोतर्फको प्रसिद्ध पाँच पोखरी लैजाने काम गरिरहेको छ।
‘अब म जन्मे हुर्केको यो गाउँ यस भेगकै पर्यटकीय केन्द्र बन्नेछ,’ उनी थप्छन्, ‘यो गाउँबाट माथि लगेपछि लाङटाङ, सिसापाङ्मा लगायत हिमाल असाध्यै नजिकबाट देखिने ठाउँ छ।’
तिनै हिमाल काठमाडौंबाट देखिनेभन्दा एकदमै बेग्लै रुपमा साक्षात्कार हुने त्यस ठाउँमा स्याबल नामको ठूलो ताल पनि रहेको जानकारी उनले दिए।
धार्मिक यात्रा गर्न खोज्नेका निम्ति विष्णुको मुखबाट पानी आउने मुहानदेखि अनेक गुम्बा रहेको उनले जानकारी दिए। यस गाउँबाट दुई दिनको हिँडाइमा पुगिने छक्छोलु गाउँमा नौवटा ताल हुनुका साथै वरिपरि छर्लङ्गै हिमाल पनि देखिने उनले बताए।
‘ती सम्पूर्ण भेगसम्म पर्यटकको ताँती लैजान सकिने भिजन मसँग छ,’ सोनाम भन्छन्, ‘र, त्यसको केन्द्र वा प्रवेशविन्दु मेरो तेम्पाथाङ गाउँ बन्नेछ।’
त्यसैका निम्ति मौलिक नेपाली पाराको सुन्दर गाउँ बनाउन आफू अठोटका साथ लागेको सोनाम बताउँछन्।
‘भुइँचालो त दुर्भाग्य नै हो,’ उनी भन्छन्, ‘तर, विनाशपछिको पुनर्र्निर्माण हाम्रो निम्ति अवसर बनोस् भनेर यो सब गरेँ।’
गाउँ तयार नभइसक्दा पनि यो वर्ष मात्रै आफूले दस जना पर्यटक तेम्पाथाङमा ल्याइसकेको जानकारी सोनामले दिए।