‘तपाईं कहिले बिहे गर्दै हुनुहुन्छ?’
पत्रकारहरूले सोधेको प्रश्नमा ज्यासिन्डा आर्डनले जवाफ दिइन्, ‘सन् २०१७ मा आएर कुनै महिलालाई उसको कार्यालयमै यस्तो प्रश्न सोधिन्छ र उसले जवाफ दिनुपर्छ भने त्यो कुनै हालतमा स्वीकार्य हुँदैन।’
रेडियो कार्यक्रम सञ्चालकसँग प्रेम सम्बन्धमा जोडिएकी आर्डनले अगाडि भनिन्, ‘बिहे कहिले गर्ने र केटाकेटी कहिले जन्माउने भन्ने महिलाको व्यक्तिगत निर्णय हो, यसले उसको काम र पहिचान प्रभावित हुनु हुँदैन। कुनै पनि महिलालाई काममा राख्ने कि नराख्ने भन्ने उसको विवाह वा केटाकेटी जन्माउने निर्णयमा निर्भर गर्दैन।’
समाजमा आफ्नो हैसियत बनाएका कुनै पनि महिलाले ज्यादातर व्यक्तिगत प्रश्न सामना गर्नुपर्छ। अझ ती महिला अविवाहित छन् भने त उसको कामभन्दा बिहेवारी वा परिवारतर्फ बढ्ता चासो हुन्छ।
न्यूजिल्यान्डकी ३७ वर्षीया अविवाहित नेता आर्डनले यही प्रश्नमा जसरी सिधा जवाफ दिइन्, त्यसले अन्तर्राष्ट्रिय चर्चा मात्र पाएन, उनको राजनीतिक मैदान फराकिलो पार्न पनि मद्दत गर्यो।
उनै आर्डन न्यूजिल्यान्डको १ सय ५० वर्षको इतिहासमा सबभन्दा कम उमेरकी प्रधानमन्त्री हुँदैछिन्।
एक महिनाअघि सम्पन्न आमनिर्वाचनमा उनको ‘लेबर’ पार्टी नौ वर्षदेखि सत्तामा रहँदै आएको ‘नेसनल पार्टी’ लाई पछि पारेर सरकारमा पुग्न सफल भएको बेलायती पत्रिका ‘द गार्जियन’ ले जनाएको छ।
गार्जियनका अनुसार निर्वाचनमा दुवै पार्टीको प्रस्ट बहुमत भने छैन। सिटसंख्यामा नेसनल पार्टी अगाडि छ, तर अन्य दलसँगको सत्ता गठबन्धनका आधारमा लेबर पार्टी प्रमुख आर्डन प्रधानमन्त्री हुँदैछिन्।
न्यूजिल्यान्डको १ सय २० सदस्यीय संसदमा सत्तारुढ नेसनल पार्टीले ५६ सिट जितेको छ भने लेबर पार्टी ४६ सिट जितेर दोस्रो भएको छ। लेबरले जितेको यो सिट अघिल्लो चुनावको भन्दा १४ बढी हो। दुवै पार्टीले सरकार बनाउन चाहिने ६१ सिट पुर्याउन सकेनन्।
सदनमा ९ स्थान जितेको न्यूजिल्यान्ड फस्ट पार्टी र ८ स्थानमा विजयी ग्रिन पार्टीसँग मिलेर लेबरले सरकार बनाउने समझदारी गरेको छ।
न्यूजिल्यान्ड फस्ट पार्टीका विन्स्टन पिटर्सले गत साता पत्रकार सम्मेलन गरी आर्डनको लेबर पार्टीमा आफ्नो समर्थन रहने घोषणा गरिसकेका छन्। ग्रिन पार्टीले पनि आर्डनलाई नै समर्थन गर्ने जानकारी दिएको छ। प्रमुख दलहरूको समर्थनमा सत्तामा पुग्न लागेकी आर्डन न्यूजिल्यान्डकी तेस्रो महिला प्रधानमन्त्री पनि हुन्।
‘यो हामी सबैका लागि उत्साहको क्षण हो,’ आर्डनको भनाइ उद्धृत गर्दै गार्जियन लेख्छ, ‘म बलियो र दीगो सरकार दिन प्रतिबद्ध छु, जसले न्यूजिल्यान्डमा गुणस्तरीय जीवनयापनका नयाँ अवसर सिर्जना गर्दै जानेछ।’
‘म प्रण गर्छु, हामी मिहिनेत गर्नेछौं, हामी सबैको मिहिनेतले न्यूजिल्यान्ड फेरि एकचोटि विश्वकै नेतृत्वदायी मुलुकका रूपमा स्थापित हुनेछ, जुन मुलुकप्रति हामी सबै गर्व गर्न सकौं। मलाई थाहा छ, हामी यो गर्न सक्छौं, हामी यो अवश्य गर्नेछौं,’ उनले भनिन्।
आर्डनले लेबर पार्टीको नेतृत्व सम्हालेको निर्वाचनभन्दा ५० दिनअघि मात्र हो। यति कम समयमा उनले पार्टीका सम्पूर्ण राजनीतिक गतिविधि लगभग एक्लै चलाइन्। पार्टीलाई एक्लै नेतृत्व दिइन्। चुनावी प्रचार कार्यक्रमहरूमा अत्यन्तै सहज तर सशक्त ढंगले प्रस्तुत भइन्। महिला सरोकारका एजेन्डालाई प्रखर रूपमा उठाइन्।
उनले सामाजिक क्षेत्रमा पनि केही कल्याणकारी कार्यक्रम घोषणा गरेकी छन्। आर्थिक अवस्था कमजोर भएका परिवारका लागि उनले ल्याएको सहुलियतपूर्ण आवास योजना धेरैले रुचाए। उनले कर कटौतीदेखि परिवारलाई दिइने घरायसी सहुलियत र विद्यार्थी भत्ता वृद्धि गर्ने कार्यक्रमसमेत ल्याइन्।
सार्वजनिक समारोहहरूमा निर्भीक प्रस्तुति र कल्याणकारी प्याकेज घोषणाले निर्वाचनको मुखमा आर्डनको लोकप्रियता ह्वात्तै बढ्यो। स्थानीय सञ्चारमाध्यमहरूले उनको लोकप्रियतालाई ‘ज्यासिन्डामेनिया’ नाउँ दिए। र, यही ज्यासिन्डामेनियाले लेबर पार्टीलाई सत्तासम्म पुर्यायो।
यो वर्षको सुरुआतसम्म लेबर पार्टीलाई कमजोर प्रतिपक्षीका रूपमा लिइन्थ्यो। उसले निर्वाचनमा यति राम्रो परिणाम ल्याउला भन्ने कमैले आस गरेका थिए।
आर्डनले पार्टीको नेतृत्व सम्हालेको २४ घन्टाभन्दा कम समयमै ज्यासिन्डामेनिया बीजारोपण भएको हो, जब ‘तपाईं कहिले बिहे गर्दै हुनुहुन्छ’ भनी सोधिएको प्रश्नमा उनले सिधा तर सशक्त जवाफ दिएकी थिइन्।
त्यतिबेला उनको जवाफ खासगरी महिला मतदातामाझ लोकप्रिय भयो। धेरैले यसलाई मतदातासँग कसरी जोडिनुपर्छ भनी थाहा पाउने खुबीका रूपमा व्याख्या गरे। र, राजनीतिक नेताका रूपमा उनको सशक्त पक्ष माने। न्यूजिल्यान्डका नेता तथा सांसदहरूमध्ये ट्विटरमा उनलाई पछ्याउनेको संख्या सबभन्दा ठूलो भयो।
आर्डन न्यूजिल्यान्डकै दोस्रो महिला प्रधानमन्त्री क्लार्कलाई आफ्नो राजनीतिक जीवनको ‘प्रेरणा’ मान्छिन्। कुनै बेला राष्ट्रसंघ नेतृत्वका प्रबल दाबेदार मानिएकी क्लार्क स्वयं पनि आर्डनलाई फ्रेन्च राष्ट्रपति इम्यानुअल माक्रों र क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोजस्तै ‘रकस्टार’ राजनीतिक नेता मान्छिन्।
आर्डनको जन्म सन् १९८० मा भएको हो। उनका बुवा प्रहरी थिए। न्यूजिल्यान्डको उत्तरी टापु क्षेत्रमा हुर्केकी आर्डन आफ्नो बाल्यकाल गरिबीमा कष्टपूर्ण ढंगले बितेको सम्झन्छिन्। वन्य क्षेत्रमा पर्ने उनको गाउँमा अधिकांश परिवार गरिब र सामाजिक न्यायबाट वञ्चित थिए। त्यही बेला यस्तो घटना भयो, जसले आर्डनको जिन्दगी नै फेरिदियो।
सरकारले त्यस क्षेत्रका वन पैदावारमा आधारित उद्योगहरू निजीकरण गरेपछि स्थानीयवासीले रोजगार गुमाए। केन्द्रीय सरकारबाट सहुलियत पनि नपाउँदा उनीहरूको जीवन कष्टकर हुँदै गयो। राज्यको एउटा निर्णयले जनताको जीवन कतिसम्भ प्रभावित हुन सक्दो रहेछ भन्ने उक्त घटनाका भुक्तमान आर्डनले अनुभव गरिन्।
‘सामाजिक न्यायप्रति म जति प्रतिबद्ध छु, त्यो मेरो बाल्यकालकै प्रभावले हो,’ आर्डनले सन् २००८ मा संसदमा सम्बोधन गर्दै भनेकी थिइन्, ‘म सानो छँदा गाउँमा धेरैले रोजगार गुमाएका थिए। मलाई औद्योगिक निजीकरणको सरकारी नीतिले गाउँले बेरोजगार भएको थाहा थिएन, उनीहरूले केन्द्रीय सरकारबाट कुनै सहुलियत नपाएको पनि जानकारी थिएन।’
‘त्यतिबेला केही गाउँलेले आत्महत्या गरेका थिए, तर त्यो आत्महत्या, मेरो समुदायको गरिबी र उद्योग निजीकरण गर्ने सरकारी निर्णयबीच कुनै सम्बन्ध होला भन्ने मैले सोचेकै थिइनँ। जुन दिन मैले यो सम्बन्ध बुझेँ र सामाजिक न्याय राज्यको नीतिसँग जोडिन्छ भन्ने ज्ञान भयो, म स्वस्फूर्त राजनीतितर्फ तानिएँ। यो देशमा सामाजिक न्याय सुनिश्चित गर्नुछ भने राजनीतिमा होमिनु नै एक मात्र उपाय हो भन्ने मलाई लाग्यो। त्यही बुझाइले मलाई आज यहाँसम्म ल्याएको हो,’ उनले भनिन्।
यसरी सामाजिक न्यायको उद्देश्य बोकेर राजनीतिमा होमिएकी आर्डन १७ वर्षको उमेरमा लेबर पार्टीमा लागिन्। सन् २००१ मा स्नातक गरेपछि उनी तत्कालीन लेबर प्रधानमन्त्री क्लार्कको कार्यालयमा अनुसन्धानकर्ताका रूपमा आबद्ध भइन्। उनले केही समय बेलायती मन्त्रिपरिषद कार्यालयमा पनि काम गरिन्, जब टोनी ब्लेयर प्रधानमन्त्री थिए।
सन् २००८ मा पहिलोपटक सांसद हुँदा आर्डन २८ वर्षकी थिइन्। उनी त्यतिबेला पनि संसदकै सबभन्दा कम उमेरकी सदस्य थिइन्।
आफ्नो राजनीतिक करिअरमा दुई जना फरक प्रधानमन्त्रीसँगको अनुभव सँगालेकी आर्डन गत अगस्ट १ मा लेबर पार्टी प्रमुख छानिएकी हुन्। त्यसअघि उनी पार्टीकी उपप्रमुख थिइन्।
न्यूजिल्यान्डले प्रगतिशील राजनीतिको लामो परम्परा बोकेको छ। महिलालाई पहिलोपटक मतदान अधिकार दिने र सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने न्यूजिल्यान्डलाई ‘बीसौं शताब्दीको जन्मस्थल’ का रूपमा समेत वर्णन गरिन्छ। आर्डनले विपक्षी नेताका रूपमा विगतमा लिएका नीति पनि कम प्रगतिशील थिएनन्। उनी गर्भपतनका पक्षपाती थिइन् भने स्वैच्छिक मृत्यु र समलैंगिक विवाहमा उनको खुला समर्थन थियो। न्यूजिल्यान्डमा सन् २०१३ देखि समलैंगिक विवाहले कानुनी मान्यता पाएको हो।
आर्डनले सन् २००५ मा मोरमोन चर्च छाड्नुको कारण पनि पुरुष समलिंगी विवाहप्रति उनको समर्थनलाई नै मानिन्छ।
यस्तो प्रगतिशील छवि हुँदाहुँदै आप्रवासी मुद्दामा भने आर्डनले अनुदार नीति लिँदै आएकी छन्। आप्रवासी प्रवेश खुला गर्दा न्यूजिल्यान्डवासीको रोजगार र उनीहरूले सरकारबाट पाउने सहुलियतमा असर पर्ने उनको तर्क छ।
लोककल्याणका समर्थक र आप्रवासी मुद्दामा अनुदार नीतिकै कारण आर्डन नेतृत्वको लेबर पार्टी पछिल्लो आमनिर्वाचनमा दोस्रो ठूलो दल बन्न सफल भएको राजनीतिक विश्लेषक बताउँछन्। जनतालाई राज्य तर्फबाट बढी सहुलियत दिने र सँगसँगै विदेशीहरूको प्रवेश निरुत्साहित गर्दै बाह्य हस्तक्षेप घटाउने उनको नीतिले नै ‘ज्यासिन्डामेनिया’ को लहर ल्याएको विश्लेषकको भनाइ छ।
आर्डनको पक्षमा उठेको जनलहरमा उनको वाकपटुतालाई पनि विश्लेषकहरू कारण मान्छन्।
उनी पत्रकारहरूले सोधेका प्रश्नमा तुरुन्तै जवाफ फर्काउन खप्पिस छिन्। उनले दिने जवाफ सोझो र सशक्त मात्र हुँदैन, कहिलेकाहीँ हास्यचेतले समेत भरिएको हुन्छ।
पछिल्लो एक कार्यक्रममा अस्ट्रेलियन पत्रकारले सोधेका थिए, ‘न्यूजिल्यान्डका नयाँ प्रधानमन्त्रीको नाम हामीले कसरी उच्चारण गर्ने?’
केही दिनमै सरकारको नेतृत्व सम्हाल्न गइरहेकी आर्डनको जवाफ थियो, ‘आह–डर्न।’