वामपन्थी एकता कम्युनिष्टहरुको लागि कलंकको टिका हो: सिपी गजुरेल


नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच भएको तालमेल र एकता प्रयासलाई दक्षिणपन्थी र प्रतिक्रियावादी कदमको संज्ञा दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष गजुरेलले एमाले र माओवादी केन्द्रवीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिएका हुन् । उनले भने,‘यो वाम एकताको प्रयास नै गलत छ, हुन त यो गठबन्धनले केही प्रभाव पार्दैन्, र तीन पार्टीहरु अब दक्षिणपन्थी बाटो हुँदै प्रतिक्रियाकरणको बाटोमा अघि बढेका छन्, त्यसैले उनीहरुको मोर्चा प्रतिक्रियाकरणको मोर्चा हो।’

एमाले, माओवादी र नयाँ शक्तिले कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउँछौं भनेर जनतालाई ढाँट्ने काम गरेको उनको आरोप थियो । उनले भने,‘यीनीहरुको यो वाम तालमेलबाट कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउने कुरा त परै जाओस्, एकीकृत कम्युनिष्ट पार्टी बन्नेवाला पनि छैन्।’

त्यस्तै उनले माओवादी केन्द्र ‘जनयुद्धको’ असली उत्तराधिकारी नभएको उनले आरोप लगाए । ‘हुन त माओवादी केन्द्रले हामी नै जनयुद्धको उत्तराधिकारी हो भनेर जनतामा भ्रम पारो, तर यो सब झुठको खेती हो’ उनले भने।

उनले क्रान्तिकारी र देशझत्तहरु सचेत भएर मोर्चावन्दीमा जुट्नुपर्नेमा समेत जोड दिए । उनले भने,‘यो देशमा क्रान्तिकारीहरु शक्तिहरु छन्, त्यसैले अब एक भएर जुट्नुपर्छ।’ एमाले र माओवादी केन्द्रको एकताको प्रयासले कांग्रेसभित्रपनि समस्या देखा परेको उल्लेख गर्दै कांग्रेसले छट्पटीमा पञ्चहरुलाई खोज्न थालेको उनको गुनासो थियो ।

नेता गजुरेलले एमाले र माओवादी केन्द्रको यो गठबन्धन जनता र राष्ट्रको लागि औचित्यहिन रहेको दाबी गरे । उनले भने,‘यो गठबन्धन भ्रष्टहरुको सञ्जाल हो, यसले मुलुक र जनताको लागि केही पनि गर्न सक्दैन्, तपाई लेखेर राख्नुहोस्, यहाँ सच्चा कम्युनिष्टहरु छैनन्।’

उनले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले त धेरै पहिल्यैदेखि नै कम्युनिज्म त्यागेको घोषणा गरेकोले उनी पनि यही मोर्चामा आउनु उनको लागि पनि नाँगो भएको आरोप थियो । उनले माओवादी केन्द्रले त एमालेसँग एकता गरेको नभएर आत्मसर्मण गरेको आरोप लगाए ।

जुरेलले एमाले, माओवादी र नयाँ शक्तिवीचको तालमेलले कम्युनिष्टहरुको मुल प्रवाह कुनैपनि हालतमा बन्नै नसक्ने ठोकुवा गरे ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.