जेनजी मुभमेन्ट अलायन्सले प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनको प्रतिवेदन पर्खिरहेको बताएको छ।
अलायन्सले बिहीबार प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको सन्दर्भमा प्रधानमन्त्री कार्कीलाई खुला पत्र लेखेको हो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगको समयावधि फागुन २२ गते अर्थात् शुक्रबार सकिन लागेकाले सार्वजनिक गर्नुपर्ने प्रधानमन्त्री कार्कीको दायित्व रहेको अलायन्सको भनाइ छ।
‘हामी कार्की आयोगको प्रतिवेदनको पर्खाइमा छौं। आफ्ना कलिला बच्चा गुमाएका अभिभावक आमा-बुवालाई चुनाव लागेको छैन। उहाँहरू न्यायको पर्खाइमा हुनुहुन्छ। जीवित सहिद भएका घाइते साथीहरू न्यायको पर्खाइमा हुनुहुन्छ,’ उनले भने, ‘हामी सबै नेपाली नागरिक न्यायको पर्खाइमा छौं। के यो शासक वर्ग विधिको शासनभन्दा माथि रहने अन्यायको दुष्चक्रबाट तपाईंले हामी नेपालीलाई मुक्ति दिनु हुन्छ?’
यस्तै, अलायन्सले सार्वजनिक गर्नका लागि खबरदारी समेत गरेको छ।
‘जेनजी जनआन्दोलन प्रतिको यहाँको पहिलो उत्तरदायित्व पूरा गरी कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न यहाँलाई हामी खबरदारीपूर्ण, विनम्र अनुरोध गर्दछौँ। फाल्गुन २१ को यहाँलाई धेरै धेरै बधाई। हामी फाल्गुन २२ को पर्खाइमा छौं,’ अलायन्सले भनेको छ।
अलायन्सले निर्वाचन शान्तिपूर्ण र भयरहित तवरले सम्पन्न गराएकोमा धन्यवाद ज्ञापन गरेको छ।
‘देशलाई संक्रमणकालीन अवस्थाबाट केही घटना बाहेक शान्तिपूर्ण र भयरहित तवरले चुनाव सम्पन्न गराएर पुनः संवैधानिक मार्गमा फर्काउन सफल हुनु भएकोमा हार्दिक बधाई तथा हृदयदेखि नै धन्यवाद। निर्वाचन हुँदैन भन्ने अनेक संशय र बाधा अड्चनका बीच नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा यहाँको दृढ र सक्षम नेतृत्वका लागि इतिहासले यहाँलाई नमन गर्नेछ,’ खुलापत्रमा भनिएको छ।