मुख्य निर्वाचन अधिकृतको कार्यालयले कास्कीमा बिहीबार रातिदेखि मतगणना गर्ने गरी तयारी गरेको छ।
जिल्लामा रहेका ३ वटै निर्वाचन क्षेत्रबाट मत पेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक राखेर मत गणना सुरू गर्ने तयारी गरिएको हो।
कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेका अनुसार आज राति ९ बजेसम्म जिल्लाका सबै मतदान स्थलबाट मत पेटिका संकलन भइसक्नेछ। त्यसपछि सर्वदलीय बैठक राख्ने र उम्मेदवारको मत गणना प्रतिनिधिलाई परिचय पत्र प्रदान गरेपछि मत गणना सुरू हुने बेलबासेले बताए।
उनले २४ घण्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम आइसक्ने र त्यसपछि समानुपातिक मत गणना हुने जानकारी दिए।
‘हामी आज रातिदेखि नै मतगणना सुरू गर्दैछौं, दल र उम्मेदवारलाई साथ दिनुभयो भने २४ घण्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम आइसक्छ,’ उनले भने, ‘प्रत्यक्षतर्फको मत गणना सकेपछि समानुपातिक मत गणना गर्ने सर्वदलीय सहमति छ।’
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत गणना स्थल तयार गरिसकेको छ।
कास्की– १ को पोखरा महानगरपालिका वडा नम्बर १२ को कार्यालयमा, क्षेत्र नम्बर २ को सिँचाइ जलस्रोत कार्यालय ड्यामसाइडमा र क्षेत्र नम्बर ३ को कृषि मन्त्रालय मालेपाटनमा मत गणना हुनेछ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रूद्र न्यौपानेका अनुसार कास्की बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ६१.३४ प्रतिशत मतदाताले मतदान गरेका छन्। जसमा महिला १ लाख ३०५ जना, पुरूष ८८ हजार ९५९ र अन्य ३ जना गरी १ लाख ८९ हजार २६७ जनाले मतदान गरेका छन्।