मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल विरूद्धको अविश्वास प्रस्ताव पारित भएको छ।
बुधबार बसेको प्रदेश सभा बैठकले अविश्वासको प्रस्ताव पारित गरेको हो।
बैठकमा प्रदेश सभा सदस्य ७८ जना सदस्य उपस्थित थिए। जसमध्ये सभामुखले पद अनुकूल आचरण प्रस्तुत नगरेको भन्ने प्रस्तावको पक्षमा ७६ मत खसेको छ भने विपक्षमा शून्य मत खसेको उपसभामुख बबिता कुमारी राउत ईशरले जानकारी दिइन्।
सभामुखले पद अनुकूलको आचरण प्रस्तुत नगरेको भन्ने प्रस्तावको पक्षमा जम्मा ७६ मत परेको र उक्त संख्या तत्काल कायम रहेको प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमत अर्थात् ७२ भन्दा बढी भएकोले प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८२ को उप नियम ४ बमोजिम पारित भएको छ।
उपसभामुख बबिताले नेपालको संविधानको धारा १८२ उपधारा ६ खण्ड 'ग' र प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८२ को उप नियम ४ बमोजिम सभामुख रामचन्द्र मण्डल स्वत: पद मुक्त भएको घोषणा गरिन्।
सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले कात्तिक २७ गते प्रस्ताव दर्ता गराएका थिए।
प्रदेश सभा बैठक मंसिर ४ गते बिहीबार १ बजे बस्नेगरि स्थगित भएको छ।
यसअघि प्रदेश सभा सदस्य कुँवर कान्त झाले प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८२ को उप नियम १ बमोजिम सभामुखले पद अनुकूल आचरण पेस नगरेको प्रस्ताव संसदमा पेस गरेका थिए।
छलफलपछि पनि उनले प्रस्ताव फिर्ता नलिएपछि मत विभाजनको प्रक्रिया अघि बढाइएको थियो।
बैठकमा नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्य शारदा थापा मात्रै उपस्थित भएकी थिइन्। उनले नियमापत्ति गरेपछि १० मिनेटका लागि बैठक स्थगित पनि गरिएको थियो। त्यसपछि भने उनी बैठकमा देखा परिनन्।
गत २३ गते प्रदेश सभा बैठक सञ्चालन गर्दा सभामुख मण्डलले पदीय आचरण विपरित कार्य गरेको भन्दै काँग्रेस सहितका ७ दलले विरोध जनाएका थिए।