भदौ २४ गते प्रदर्शनकारीले जलाएका देशभरका सरकारी संरचना र प्रहरी कार्यालयहरूमा सरसफाइ र मर्मत सुरू भएको छ। स्थानीय नागरिकहरू स्वस्फूर्त जम्मा भएर संरचनाहरूको सरसफाइ, रंगरोगनमा जुटेका छन्।
स्थानीयहरूले कानुनी शासन बहाल गर्न तत्कालै प्रहरीहरू ती संरचनामा आएर बसून् भन्ने चाहेका छन्। कतिपय स्थानमा लुटपाटको घटना देखिएपछि स्थानीयहरूले प्रहरीका लागि आवश्यक सहयोग संकलनदेखि आवश्यक कम्प्युटर समेत जुटाइरहेका छन्।
आगलागी भएका संरचनाहरू तत्कालै प्रयोगमा आओस् भन्ने धेरैको चाहना छ।
तर इन्जिनियरहरू त्यस्ता संरचना प्रयोग गर्नुअघि अध्ययन गर्नुपर्ने बताउँछन्।
नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले भवन प्रयोग गर्नुअघि आगलागीबाट भएको क्षति अध्ययन गर्नुपर्ने बताए।
'आगलागीका कारण भवनमा कुन तहको क्षति भएको छ, प्रयोग गर्न मिल्ने/नमिल्ने अध्ययन गर्नुपर्छ,' बरालले भने, 'इन्जिनियर्स एसोसिएसनले निःशुल्क यस्तो सेवा उपलब्ध गराउने निर्णय गरेको छ। हामी अध्ययन गरेर प्रयोग गर्न मिल्ने भए हरियो, ठिकठाक भवन भए पहेँलो र प्रयोग गर्न नमिल्ने भए रातो स्टिकर टाँसिदिन्छौं।'
लामो समय आगो बलिरहँदा कंक्रिट भवनले आफ्नो बहन क्षमता र शक्ति गुमाउने सिभिल इन्जिनियर बरालले बताए। त्यस्तो अवस्थामा सानो भूकम्पको धक्काले समेत भवन पूरै ध्वस्त हुन सक्छ।
विज्ञहरूका अनुसार १०० डिग्रीदेखि २०० डिग्री सेल्सियससम्म तापक्रमको आगोले भवनको ढलानमा भएको चिसोपन (आद्रता) घटाउन थाल्छ। त्यो चिसोपनले ढलानलाई जोडेर राख्न मद्दत गरेको हुन्छ। तर तातोले चिसोपन कम हुँदै गएपछि ढलानको भित्री जोड खुकुलिँदै जान्छ। र, भवनको बहन क्षमता र शक्ति घट्छ।
३०० डिग्रीदेखि ४०० डिग्री सेल्सियस तापक्रमले त सिमेन्टको रसायनमै परिवर्तन ल्याउन सक्छ। त्योभन्दा बढी तापक्रम हुँदा भवन प्रयोग गर्नै नसकिने गरी क्षति पुग्छ।
यसपालि आगो लागेका भवन सग्ला देखिए पनि भूकम्प वा अन्य किसिमका ठूला हुरी आउँदा नै गर्ल्याम गुर्लुम्म ढल्न सक्छन्। त्यसैले लामो समय आगो खेपेका भवन प्रयोग गर्नुअगाडि जाँच गर्नुपर्ने विज्ञहरू बताउँछन्।

स्ट्रक्चरल इन्जिनियर झविन्द्र पौडेलका अनुसार आगो लागेको ढलानको रङ बदलिएर पहेँलो देखिएको छ भने जाँच गराइहाल्नुपर्छ। पहेँलो देखिनुलाई जोखिमपूर्ण मानिन्छ।
आगोका कारण ढलानभित्र भएको डन्डीमा असर परेको देखियो भने पनि प्रयोग गर्न हुँदैन। आगोले सुरूमा फलामका डन्डीहरूमा क्षति पुर्याउँदैन। तर लामो समय ५५० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा फलामका छडले आफ्नो क्षमता गुमाउँछन्।
त्यसैले भवन जाँच गर्न अनिवार्य हुने उनले बताए।
'आगो लागिसकेपछि प्राविधिक जाँचबिना भवन प्रयोग गर्नु एकदमै अनुपयुक्त र जोखिमपूर्ण हुन्छ,' पौडेलले भने, 'बाहिरबाट हेर्दा केही क्षति नदेखिए पनि आगो लाग्दा भवन निर्माणमा प्रयोग भएको डन्डी र सिमेन्ट कमजोर भएका हुन सक्छन्।'
भवनका पिलर/स्तम्भमा धाँजा फाटेको देखिए, त्यस्ता भवन प्रयोगका लागि अयोग्य मानिन्छ।
इन्जिनियर बरालले काठमाडौं जिल्ला अदालतको भवन बाहिरबाट हेर्दा प्रयोग गर्न मिल्ने जस्तो देखिए पनि पहिलो तलाको स्तम्भ चर्किएको बताए। त्यस्तै ढलानमा पनि क्षति पुगेको छ।
'नयाँ र आधुनिक भवन भए पनि पहिलो तलामा भएको क्षतिले माथिका ६ वटा तलाको भार थाम्ने अवस्था छैन, जाँचमा गएका बरालले भने, 'कुनै पनि बेला कोल्याप्स हुन सक्छ। हामीले रातो स्टिकर टाँसेका छौं।'
भवनमा लामो समय कागजात बलेको र निभाउने काम समयमै नभएकाले ढलानदेखि रडसम्मै क्षति पुगेको उनले बताए। आगोमा परेका फर्निचर र कागजपत्र तुरून्त निभाउन पाएको भए भवनमा यस्तो क्षति पुग्ने थिएन।
स्ट्रक्चरल इन्जिनियर पौडेल पनि २४ घन्टाभन्दा बढी समय आगो लागेको भवन तत्काल प्रयोग गर्न नहुने बताउँछन्।
'भवनको केही भाग प्रयोगयोग्य देखिए पनि पूर्ण रूपमा मर्मत वा रेट्रोफिट नगरी प्रयोग गर्न उपयुक्त हुँदैन,' पौडेलले भने, 'मर्मतको स्तर क्षति अनुसार तय गर्नुपर्छ।'
इन्जिनियरहरूले आइतबार परीक्षण गरेको सर्वोच्च अदालत र नेपाल बार एसोसिएसनको भवन पनि प्रयोगका लागि अयोग्य रहेको बरालले बताए।
उनका अनुसार बारको भवन ठिकठाकै देखिन्छ। सीमित मानिसहरूको आउजाउ र गतिविधि हुने भए भवन प्रयोग गर्न सकिन्थ्यो। तर त्यहाँ धेरै मानिसहरू आउजाउ हुन्छ। त्यसैले रातो स्टिकर टाँसिएको छ।
सडक विभागको भवन प्रयोग योग्य भए, नभएको जाँच गर्दै विज्ञ सम्मिलित नेपाल इन्जिनियर्स एसोसिएसनको टोली। तस्बिर : सुवासचन्द्र बराल
त्यस्तै सर्वोच्चको भवनको एकातर्फ रातो स्टिकर र अर्कोतर्फ पहेँलो स्टिकर उनले टाँसिएको बताए।
एसोसिएसनले आगलागी भएका देशभरका भवनमा विज्ञ टोली खटाउने जनाएको छ।
'सातै प्रदेशमा विज्ञ साथीहरू हुनुहुन्छ। हामी आह्वान गरेर जहाँ प्राविधिक जनशक्ति छैन, त्यहाँ जानू भनेर साथीहरूलाई भन्छौं,' बरालले भने।
विज्ञहरूले भवन जाँचपछि मर्मत गरे मात्र पुग्छ वा रेट्रोफिट गर्नुपर्छ वा भत्काएर हटाउनैपर्छ भन्नेबारे सल्लाह र सुझाव दिने उनले बताए।
पूर्वसचिव एवं इन्जिनियर किशोर थापा भने आगलागी भएका धेरै प्रहरी कार्यालय र वडा कार्यालय भवन प्रयोग गर्न सकिने अवस्थामा भएको हुन सक्ने बताउँछन्।
'आरसिसी (ढलान) संरचनामा आगलागीले कमै क्षति हुन्छ,' थापाले भने, 'प्लास्टर उक्किएका, तारहरू जलेका हुन्छन्। तर आगोले ठूलो क्षति गर्दैन,' उनले भने।
थापाले माओवादी द्वन्द्वकालमा बम पड्किएका कयौं भवन सरकारले पुनः प्रयोग गरेको उदाहरण दिए।
'बम पड्किएका भवन समेत हामीले प्रयोग गर्यौं,' सरकारका सचिव रहिसकेका थापाले भने, 'मूल संरचनामा क्षति नहुने रहेछ। बीचमा लगाइएका पर्खाल र फर्निचरमा क्षति हुने रहेछ। यस्तो भवन मर्मत सम्भार गरेर प्रयोगमा ल्याउन सकिन्छ।'