उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले आ-आफ्नो पार्टीभित्र छलफल थालेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बिहान ९ बजेदेखि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको छ। एक नेताले दिएको जानकारीअनुसार बैठक उपसभामुखलाई हटाउने विषयमाकेन्द्रित छ।
साथै कांग्रेसले आफ्ना सांसदहरूलाई मंगलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सिंहदरबारस्थित संसदीय दलमा उपस्थित हुन भनेको छ।
‘संसदीय दल बैठक बोलाइएको होइन, तर सांसदहरूलाई आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संसदीय दलमा आउनू भनिएको छ,’ एक सांसदले भनिन्, ‘हस्ताक्षर गर्नका लागि हुन सक्छ, उपसभामुखलाई हटाउने विषय हो भन्ने बुझिएको छ।’
उनका अनुसार सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस र एमालेका प्रमुख सचेतकहरूबीच उपसभामुख हटाउने विषयमा कुराकानीसमेत भएको थियो। सोमबार साँझपख बालुवाटारमा प्रधानमन्त्री र कांग्रेस सभापति देउवासहित दुई दलका शीर्ष नेताहरूबीच पनि यो विषयमा छलफल भएको थियो।
यस्तै एमालेले पनि उपसभामुख हटाउने विषयमा पार्टीभित्र छलफल गरेको छ।
एमालेले आजै संसदीय दलको बैठक आकस्मिक रूपमा बोलाएको छ।
‘संसदीय दलको बैठक छ भनेर दलकै कर्मचारीले खबर गरेका थिए, विषय भनिएको छैन, म चाहिँ पाल्पा छु,’ एमाले सांसद ठाकुर गैरेले सेतोपाटीसँग भने।
एमालेका अर्का एक सांसदले आफू संसदीय दल कार्यालय पुगिसकेको बताए। उनका अनुसार सांसदहरूलाई बिहान १० बजेदेखि नै संसदीइ दल कार्यालय आउनु भनिएको थियो।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्ना सांसदहरूसँग आजै छलफल गर्दैछन्।
उपसभामुखलाई आचरणसम्बन्धी प्रश्न उठाएर पदबाट हटाउने तयारीमा कांग्रेस र एमाले छन्। उनीहरूले दुई तिहाइ पुर्याएर उपसभामुखलाई पदबाट हटाउने तयारी गरेका हुन्।
उपसभामुख राना मगरले अमेरिकी दूतावासमा पत्र लेखेर भिसा अन्तर्वार्ताका लागि समय सारिदिन आग्रह गरेको पत्र सार्वजनिक भएपछि केही समयअघि उनी विवादमा तानिएकी थिइन्। त्यसबेला कांग्रेस र एमालेका कतिपय सांसदहरूले प्रतिनिधि सभामा बोल्दै उपसभामुखलाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन भनेका थिए।
त्यसबेला प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुखविरूद्ध उजुरी पनि परेको थियो। उजुरी परेको ठ्याक्कै एक वर्षमा अहिले उपसभामुखलाई हटाउन कांग्रेस र एमालेले छलफल गरेका हुन्।
प्रतिनिधि सभामा कांग्रेस र एमालेको मात्रै दुई तिहाइ पुग्दैन त्यसका लागि उनीहरूले प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) को पनि सहयोग लिने गरी छलफल अघि बढाएका छन्। एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० जना सांसद छन्।
उपसभामुख संवैधानिक परिषद सदस्य रहने व्यवस्था छ। ६ सदस्यीय संवैधानिक परिषदमा सत्ता र प्रतिपक्षी बराबर छन्। त्यसो हुँदा निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत संवैधानिक नियुक्ति हुन सकेको छैन।
साथै कांग्रेसले उपसभामुख पदमा दाबी गर्दै आएको छ। राज्य व्यवस्था तथा सुशासन समिति एमालेलाई छाडेर उपसभामुख आफूहरूले लिने कांग्रेस नेताहरूको भनाइ छ।
उपसभामुख ईन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद भएकी हुन्। नेकपा (माओवादी केन्द्र), एमाले र रास्वपालगायत दल सरकारमा हुँदा उनी उपसभामुख बनेकी थिइन्।
उपसभामुखलाई हटाउन दुई तिहाइ चाहिन्छ। यो भनेको २७५ सदस्यीय प्रतिनिधि सभामा १८४ जना हो। सरकारमा रहेका कांग्रेस-एमाले-जनता समाजवादी-लोसपाको मत जोड्दा दुई तिहाइ पुग्दैन। त्यसैले एकीकृत समाजवादीसँग सहयोग खोजेका हुन्। एकीकृत समाजवादीले के गर्ने भन्ने विषयमा निर्णय लिइसकेको छैन।
‘हामीसँग यस विषयका कसैसँग पनि कुराकानी भएको छैन, सत्ता पक्षलाई दुई तिहाइका लागि हामी चाहिँदैन पनि,’ एकीकृत समाजवादीका प्रवक्ता प्रकाश ज्वालाले भने।
कांग्रेसका ८८, एमालेका ७८, जनता समाजवादीका ७, लोसपाका ४ जना सांसद छन्। सरकारलाई ६ सांसद भएको जनमतले पनि समर्थन दिइरहेको छ।