गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश स्वास्थ्यको हब बन्दै गएको बताएका छन्।
आइतबार गोरखा सदरमुकामको हरमटारीमा एनपिआई गोरखा अस्पताल शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रबाट १०० सय शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि चितवन, पोखरा र काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको बताए।
‘गण्डकी स्वास्थ्य मन्त्रालयको अनुमतिमा यो अस्पताल सञ्चालनमा आएको छ, गण्डकी विस्तारै स्वास्थ्यको हब बन्दैछ,’ उनले भने।
गोरखा र चितवनका व्यवसायीहरू मिलेर ५५ करोड लगानीमा उक्त अस्पताल सञ्चालनमा ल्याएका हुन्।
निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री पाण्डेले स्वास्थ्य सेवा सबै जनताको पहुँचमा पुग्नुपर्ने बताए।
अस्पतालमा सिटी स्क्यान मेसिन पनि जडान गरिएको छ।
अस्पतालले विशेषज्ञ चिकित्सकसहित फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्ट सेवा दिने अस्पतालका प्रवन्ध निर्देशक पुष्पराज धितालले बताए।