उपप्रधान मन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले देश विकासका बाधकका रूपमा रहेका तीन प्रमुख अस्थिरता किनारा लागेको बताएका छन्।
उनले जनतालाई भ्रमित पार्ने र संघीय गणतान्त्रिक व्यवस्थाको विरोध गर्नेहरूको अब कुनै भविष्य नभएको पनि बताए।
अर्थमन्त्री पौडेलका अनुसार देश विकास बाधकका प्रमुख तीन तत्व; राजावादी, राजनीतिमा देखा परेको एजेन्डाविहीन खहरेखोला प्रवृत्ति र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) हुन्।
‘प्रतिगामी तत्व राजावादी, राजनीतिमा देखा परेको एजेण्डाविहीन खहरेखोला प्रवृत्ति र सत्ता प्राप्तिका लागि प्रमुख प्रतिपक्षीको चलखेल राजनीतिमा देखा परेका अस्थिरताका प्रमुख तत्व हुन्,’ पाल्पामा आइतबार भएको पत्रकार सम्मेलनमा पौडेलले भने, ‘यी किनारा लागे।’
साथै उनले २०८४ को आमनिर्वाचनसम्म अहिलेको सत्ता गठबन्धन कायम रहने बताएका छन्।
मुलुक विकास, स्थिरता र समृद्धितर्फ अगाडि बढिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले अहिलेको गठबन्धनलाई २०८४ सम्म कायम राखेर देशलाई अझै विकसित बनाइने बताए।
‘कसैले चाहँदैमा, रोइकराइ गर्दैमा, नानाथरी बोल्दैमा यो सरकार ढल्ने कुनै वातावरण र अवस्था छैन, अहिलेको गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहने छ,’ उनले भने।
अर्थमन्त्री पौडेल अंग्रेजलाई युद्धमा हराएको खुसियालीमा मनाइने रणउजेश्वरी भगवतीको रथयात्रामा सहभागी हुन पाल्पा पुगेका हुन्।
अर्थमन्त्री पौडेलले मुलुकलाई स्थिरतातर्फ लैजान अहिलेको गठबन्धन तत्पर रहेको बताए।
‘प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सदस्यहरूको अंकगणित अनुसार पनि वर्तमान समीकरण नै स्थिरताको प्रत्याभूति दिलाउन सक्ने सरकार हो,’ पौडेलले भने।