नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले मधेसको खानेपानी तथा सिँचाइको समस्याबारे कागजी घोषणा गरेर सरकार पन्छिन नमिल्ने टिप्पणी गरेकी छन्।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो टिप्पणी गरेका हुन्।
मधेसको सुख्खापनको समस्या समाधान गर्न सरकारले प्याकेजसहितको कार्यक्रम ल्याउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले सरकारले एक वर्षमा जनहितका केही उपलब्धि प्राप्त गर्न नसकेको बताए।
उनले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयन नभएको र हुन नसक्ने टिप्पणी पनि गरे।
जनताको आधारभूत सेवा र सुविधा सुनिश्चित गर्न राज्य पूर्णतः असफल भएको आरोप लगाए।
‘तपाईंजस्तो दुई तिहाइको प्रधानमन्त्रीले रोजगारीको अवसर सिर्जना गरेर गरिबी न्यूनीकरण गरेको खोई?’ भन्दै प्रधानमन्त्रीलाई प्रश्न उनको छ।
उनले भने, ‘मधेसका नागरिकहरूलाई खानेपानी तथा सिँचाइको लागि पानी उपलब्ध गराउने कागजी घोषणाले मात्रै सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन। सरकारले ठोस राहत प्याकेजको व्यवस्था गर्न सम्माननीय अध्यक्षज्यूमार्फत् नेपाल सरकारलाई आग्रह गर्दछु। लागू नभएका र नहुने सरकारका सात बुँदाको म यहाँ चर्चा गर्न चाहन्नँ। जनताले के खोजेका थिए र यो एक वर्षमा के भयो? नेपाली जनताले अर्थतन्त्रमा सुधार खोजेका थिए तर सरकारले सुधार गर्न सकेन। रोजगारीको माग गरे सरकारले वास्ता गरेन।’
उनले अगाडि भने, ‘निःशुल्क औषधोउपचार पाउने गरी जनताको इच्छा समेत पूरा भएन। दलालबाट मुक्ति खोजेका जनताले त्यो पनि पाएनन्। राज्यले तोकेको सेवा जनताले उपभोग गर्न पाएनन्। सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंजस्तो दुई तिहाइको प्रधानमन्त्रीले रोजगारीको अवसर सिर्जना गरेर गरिबी न्यूनीकरण गरेको खोई? सक्रिय जनशक्ति पलायन हुनबाट किन रोक्न सक्नुभएन?’
उनले मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि र रोजगारी सिर्जनामा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए। —न्युज एजेन्सी नेपाल