समाचार टिप्पणी
कहिलेकाहीँ मानिसहरूले आफूलाई मनमा लागेको सबभन्दा गम्भीर कुरा ठट्टामा भनिदिन्छन्। त्यसले भन्ने र सुन्ने दुवैलाई सजिलो बनाउँछ।
सुन्नेहरू तत्काल हास्यरसमा अलमलिन्छन् र पछि मात्र त्यसभित्र लुकेको निहितार्थ बुझ्छन्। अनि तिलमिलाउँछन्।
एमाले अध्यक्ष केपी ओली त्यसरी ठट्टा गर्न र ठट्टामै भन्न माहिर छन्।
कांग्रेस सभापति शेरबहादुर देउवामा पनि त्यो क्षमता छ। अरू केही पढ्न मन नलाग्ने तर 'जोक' र जोकका किताब देख्यो भने पढिहाल्ने देउवाको बानी छ। यो कुरा उनकी पत्नी आरजु राणा देउवाले पनि एक अन्तर्वार्तामा भनेकी थिइन्।
ओली भने समकालीन राजनीतिज्ञमध्ये सबैभन्दा धेरै पढ्ने र सूचना खपत गर्ने राजनीतिज्ञ हुन्। डिजिटल मिडियामा छापिने समचारका सबभन्दा 'लोयल' पाठक उनै हुन्।
गम्भीर र हलुका सबै कुरा पढ्ने र ठट्यौलीमा गम्भीर कुरा भन्नमा ओली माहिर छन्।
एमालेलाई लोकतान्त्रिक पार्टी बनाउन र आन्तरिक लोकतन्त्र संस्थागत गर्न ओली दलभित्र लामो समयसम्म लडे। पार्टीमा बहुपदीय नेतृत्व प्रणाली, ७० वर्षको उमेर हद र अध्यक्षमा दुई कार्यकालको व्यवस्था मुख्यतः उनकै लडाइँको परिणाम हो। उनकै नेतृत्वमा बनेको कार्यदलले यी व्यवस्था सुझाएको हो।
एमालेमा यी प्रावधान ओली ६० वर्ष उमेरको हुँदा र पार्टी अध्यक्षको आकांक्षी हुँदा लागू भएका थिए।
ओली ७० वर्ष नपुग्दासम्म र दोस्रो कार्यकाल पूरा नगर्दासम्म यी प्रावधान ठीकै थिए। जब उनी ७० वर्ष कटे र तेस्रो कार्यकाल पनि पार्टी अध्यक्ष बन्ने भोक उनमा जाग्यो, आफैले संस्थागत गरेको ७० वर्षे उमेर हद र अध्यक्षमा दुई कार्यकालको व्यवस्था उनलाई घाँडो भयो। त्यसलाई फाल्नुपर्ने भयो।
त्यसका लागि गम्भीर तर्क गर्ने ठाउँ थिएन। गम्भीर तर्कले काम बन्दैन पनि थियो। गम्भीर तर्क र बहसले त ती प्रावधान जायज छन्, आन्तरिक लोकतन्त्र र पार्टी दुवैका लागगि सही छन् भन्ने निष्कर्षमा पुर्याउँथ्यो!
गम्भीर विषयमा हल्काफुल्का कुरा चलाइदियो भने माहोल आफै हलुका बन्छ। माहोल नै हलुका भएपछि गम्भीर तर्कको ठाउँ नै हुँदैन।
त्यो बेला गम्भीर तर्क गर्नु आफै 'हलुका' बन्नु हुन्छ।
हास्यव्यंग्य कार्यक्रममा गएर कसले शास्त्रार्थ गर्छ? कसैले गर्यो भने पनि त्यसलाई कसले गम्भीर रूपमा लिन्छ?
कम्युनिस्ट पार्टीको पोलिटब्युरो वा स्थायी समिति सबभन्दा गम्भीर संस्था वा ठाउँ मानिन्छन्।
अध्यक्ष ओलीले यिनै ठाउँमा ठट्टा चलाइदिए।
शुक्रबार र शनिबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय राजनीति अप्ठ्यारो अवस्थामा रहेको बताए। र, एमालेलाई निर्णायक शक्ति बनाउन आफ्नो नेतृत्व अपरिहार्य रहेकाले सुविचारित ढंगले ७० वर्षे उमेर हद र अध्यक्षमा दुई कार्यकाल हटाएको सुनाए। अहिले पनि आफूमा ऊर्जा भएको र आफू १८ घन्टा खट्न सक्ने भएकाले अझै एक कार्यकाल नेतृत्व गर्न सक्ने बताए।
त्यसपछि आफ्ना तर्कमा अन्तिम लाहाछाप लगाउन भने उनले ठट्यौलीको सहारा लिए।
उनले भने, '७० वर्षे उमेर हद राख्ने हो भने मेरो जेल बसेको समय (१४ वर्ष) घटाउनुपर्ने हुन्छ। अनि त म पनि ६० वर्षको भइहाल्छु नि! ऊर्जा पनि ६० वर्षजस्तै छ।'
ओलीले यति भनेपछि सिंगो हल गलल्ल हाँस्यो।
त्यसपछि तर्क र बहसको ठाउँ सकियो।
ओलीले अर्को कार्यकालका लागि पनि अध्यक्ष बन्न कति दृढ छु भनेर ठट्टामै भनिदिए। त्यसपछि उमेर हद राख्नुपर्छ भन्नेहरूलाई यो कुराको प्रतिवाद गर्नु भन्दा हाँस्नै सजिलो भयो।
हलले हाँसेरै अनुमोदन गर्यो। पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव एक मतले पारित गर्यो।
यसको एउटा मात्रै फसाद छ — नेपाली राजनीतिमा जेल बसेको पुस्ता अझै बाँकी छ। त्यसले पनि ओलीबाट प्रेरणा लियो भने? उनको तर्क सापटी लियो भने?
राष्ट्रपति रामचन्द्र पौडेल समकालीन नेपाली राजनीतिज्ञहरूमा सबभन्दा धेरै सयम जेल बसेका नेता हुन्। उनी पटक पटक गरेर १५ वर्ष जेल बसेका छन्। कांग्रेस सभापति देउवा पनि पञ्चायतकालको ९ वर्ष सहित करिब १० वर्ष जेल बसेका छन्।
पौडेलको उमेर १५ वर्ष र देउवाको उमेर १० वर्ष घटाउने हो भने त उनीहरू पनि जवान भइहाल्छन्। त्यसपछि त देउवा फेरि तेस्रो कार्यकाल कांग्रेस सभापति बन्न लायक, पौडेल दोस्रो पटक राष्ट्रपति बन्न लायक!
राष्ट्रपति पौडेल र सभापति देउवाले ओलीको भनाइ र एमाले पोलिटब्युरोको निर्णयलाई ठट्टाकै रूपमा लिऊन्। 'रिफरेन्स' वा प्रेरणाका रूपमा नलिऊन्।
कार्यकालको विषयमा रिफरेन्स चाहिएकै हो भने विश्व राजनीतिमा यो सन्दर्भसँग मिल्ने गजबको रिफरेन्स हो नेल्सन मण्डेलाको।
मण्डेला २९ वर्ष जेल बसे। शान्तिपूर्ण विद्रोहबाट दक्षिण अफ्रिकामा रंगभेदी शासनलाई घुँडा टेकाएरै छाडे। सन् १९९४ मा दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति बने।
संविधानले उनलाई दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने बाटो दिएको थियो। धेरै शुभेच्छुकहरू मण्डेला अर्को पाँच वर्ष पनि राष्ट्रपति बनून् भन्ने चाहन्थे!
तर मण्डेलाले एक कार्यकाल पूरा गरेर राष्ट्रपति छाडे। त्योभन्दा दुई वर्षअघि नै उनले अफ्रिकन नेसनल कंग्रेसको नेतृत्व छाडे।
नेतृत्व हस्तान्तरण गर्दैगर्दा मण्डेलाले एउटा यादगार वाक्य बोलेका छन्।
उनले भनेका छन्— अर्को पुस्तालाई आफ्नो जिम्मेवारी हस्तान्तरण गर्ने सही समय कहिले हो भनेर जान्नु हाम्रो आन्दोलनको महान् परम्परा हो।
राजनीतिज्ञ र राजनेताबीचको भेद सायद यही हो — राजनेतालाई सत्ता कहिले छाड्ने भन्ने थाहा हुन्छ!