प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार जहाँ-जहाँ पुग्छ त्यहा भ्रष्टाचार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन्।
सोमबार प्रतिनिधि सभामा बोल्दै प्रचण्डले विशेष गरी भूमिहीन सुकुम्वासीका सन्दर्भमा आफू नेतृत्वको सरकारले राम्रो काम गरेको तर दुई तिहाइको अहिलेको सरकारले भूमी आयोगको पदाधिकारी हटाउनुबाहेक केही नगरेको बताए।
प्रचण्डले सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डील गरिरहेको सार्वजनिक भएको बताउँदै प्रधानमन्त्रीले भन्दै भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको बताए।
उनले यसबारेमा प्रधानमन्त्रीले चित्रगुप्तलाई नै जबाफ दिन्छु भनेको कुरा स्मरण गर्न आग्रह गरे।
'उहाँले भन्नुभएको थियो चित्रगुप्तलाई बयान दिन तयार छु। यो अभिव्यक्ति पक्कै पनि प्रधानमन्त्रीले स्मरण गर्नुभएको होला। अहिले त जहाँ सरकार त्यहँ भ्रष्टाचार । अब चित्रगुप्तलाई प्रधानमन्त्रीले के जबाफ दिनुहोला,' प्रचण्डले भने।