नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई बर्खास्त गरिनुपर्ने बताएका छन्।
यतिका विषय आइसकेपछि प्रधानमन्त्रीले तत्कालै मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्नुपर्ने उनको भनाइ छ।
पार्टीको पेशागत तथा बुद्धिजीवि विभागले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले मन्त्री गुप्ताले आफूमाथि प्रश्न उठेपछि राजीनामा दिनुपर्नेमा नदिएकोले प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका हुन्।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी 'डिल गरेको' अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भइरहेको छ।
‘वहालवाला मन्त्रीको यत्तिको विषय आइसकेपछि ती मन्त्रीले गल्ती गरेका होइनन् भने तुरून्त राजीनामा दिएर ममाथि छानबिन होस् भनेर भन्थे होलान् भन्ने मेरो अनुमान, मन्त्रीले त्यति नभनेपछि आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन, र लतारेर लैजान्छु भन्ने कुरा गरिसकेपछि प्रधानमन्त्रीले तुरून्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो, यसका बारेमा टिप्पणी नै गर्नु पर्दैन होला भन्ने लागेको थियो,’ महामन्त्री थापाले भने, ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो, यो कार्यक्रममार्फत् नै प्रधानमन्त्रीलाई आग्रह गर्छु, तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्। यो विषयको छानबिन गर्ने कुरालाई सहज बनाउनुस्।’
मन्त्रीलाई बर्खास्त गरेर मात्र नपुग्ने भन्दै उनले छानबिन हुनुपर्ने बताए। ‘यसको छानबिन हुनुपर्छ, यसमा देखिएका वा संलग्न रहेका कोही छन् भने उनीहरूलाई पनि कारबाही हुनुपर्छ,’ उनले भने, ‘कानुनको शासन भनेपछि त्यसभन्दा माथि कोही पनि हुँदैन। सत्ताको शक्ति प्राप्त गरेर कोही कानुनमाथि हुँदैन।’
यो पनि:
घुस डिल गर्दै मन्त्री गुप्तालाई १५ लाख अहिले लिनु, १० लाख भोलि ल्याइदिन्छु भनेको अडिओ
प्रधानमन्त्रीजी, मन्त्री गुप्तालाई बर्खास्त गर्नुस् कि उनको बचाउ गर्नुहोस्!