राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रवक्ताको जिम्मेवारीबाट सगुनसुन्दर लावतीलाई हटाएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार प्रवक्ताको जिम्मेवारीबाट लावतीलाई हटाएका हुन्।
प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्ष लिङ्देनले प्रवक्ताबाट लावतीलाई पदमुक्त गरेका हुन्।
लावतीमाथि केही समयदेखि पार्टी गतिविधिमा सक्रिय रूपमा सहभागी नरहेको आरोप लागेको थियो।
‘पार्टीको बृहत्तर हित तथा एकताविरूद्धका गतिविधिमा उहाँ लाग्नुभयो, पार्टी गतिविधिमा भन्दा पनि अभियानमा रमाउनुभयो,’ राप्रपाका एक नेताले भने, ‘राप्रपाका गतिविधिमा असहयोग गरेपछि प्रवक्ताबाट पदमुक्त गरिएको हो।’
लावती पछिल्लो समय नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' मा क्रियाशील भएको र राप्रपाका कार्यक्रममा सहभागी नरहेको आरोप लागेको थियो।
सेतोपाटीसँग कुराकानी गर्दै लावतीले भने आफूलाई प्रवक्ताबाट पदमुक्त गरेको जानकारी नरहेको बताए। आफूमाथि स्पष्टीकरण पनि नसोधिएको उनको भनाइ थियो।
‘मलाई प्रवक्ताबाट पदमुक्त गरेको पत्र आएको छैन, मलाई जानकारी छैन, म एउटा कार्यक्रममा व्यस्त छु,’ उनले भने।
राप्रपामा ७ जना प्रवक्ता थिए।
