नेपाली कांग्रेसका नेता आफताब आलमसहित चार जनालाई सफाइ दिने फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन दिने भएको छ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसलाविरूद्ध सर्वोच्च अदालतमा जाने तयारी रहेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सूर्यराज दाहालले जानकारी दिए।
उच्च सरकारी वकिलको कार्यालय वीरगञ्जले पुनरावेदनको लागि मिसिल तयार गरिरहेको छ। उक्त मिसिल प्राप्त भएसँगै सर्वोच्चमा दर्ता गराइने प्रवक्ता दाहालले बताए।
‘पुनरावेदनमा जाने भन्ने टुंगो लागिसकेको छ। उताबाट मिसिल आएपछि दर्ता गर्छौं,’ उनले भने।
उनले यो साता वा नभए अर्को सातासम्ममा पुनरावेदन गर्ने बताए।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले जेठ १४ गते आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको थियो। यो फैसलापछि दुवै जना न्यायाधीशको आलोचना भइरहेको छ।
फैसलाको पूर्वपाठ आएपछि उच्च सरकारी वकिलको कार्यालयले यसमा पुनरावेदनका लागि प्रक्रिया अघि बढाएको हो।
आफताब आलममाथि २०६४ चैत २७ गते संविधानसभा चुनावमा धाँधली गर्न घरमा बम राखेको आरोप थियो। उक्त बम बिस्फोट हुँदा 'पिन्टु' भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तर घाइते भएका थिए। उनीहरूलाई इँट्टाभट्टामा लगेर जलाइएको अभियोग थियो।
यस घटना भएपछि मृतक पिन्टुका बुबा श्रीनारायण सिंह र ओसीकी आमा रोक्साना खातुनसहित अन्य केहीले आलमविरूद्ध जाहेरी दिएका थिए। सुरूमा जिल्ला अदालत रौतहटले आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको थियो। तर उक्त जन्मकैदको फैसलालाई उल्ट्याउँदै उच्च अदालतले बम बिस्फोट नै भएको प्रमाणित हुन नसकेको भनेको हो।