राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले निजामती कर्मचारी विधेयकबाट कुलिङ पिरियड कुनै पनि हालतमा नहट्ने बताएका छन्।
सोमबार सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभाबाट आइतबार बहुमतले पारित भएको निजामती कर्मचारी विधेयकमा केही असमझदारी भएको कुरा आएको भन्दै समितिका सदस्यहरू बसेर स्पष्ट गरिएको बताए।
कुनै पनि निजामती कर्मचारी वा अन्य कर्मचारीले राजीनामा दिएमा वा सेवाबाट हटेमा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले दुई वर्षको अवधि पूरा नभइ कुनै पनि संवैधानिक र सरकारी नियुक्ति कुनैपनि खान नपाउन स्पष्ट व्यवस्था गरिएको उनले बताए।
संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द रहेको भन्दै त्यसलाई सच्याएर राष्ट्रिय सभामा पठाइने उनको भनाइ छ।
‘हामीले हिजो संसदबाट बहुमतले र समितिले सर्वसम्मत गरेको निर्णयमा केही कन्फ्युजन भएको भन्ने कुरा आयो। हामीले समितिका सबै साथीहरू बसेर स्पष्ट भएर कुनैपनि निजामती कर्मचारी वा अन्य कर्मचारीले राजीनामा दिएमा वा सेवाबाट हटेमा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले दुई वर्षको अवधि पूरा नभइ कुनैपनि संवैधानिक र सरकारी नियुक्ति कुनैपनि खान पाउने छैन। संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द छ। बाहेक भन्ने शब्द सच्याएर राष्ट्रिय सभाले पठाउने भन्ने सहमति भएको छ। कुलिङ पिरियड कुनै हालतमा हट्दैन। हट्न दिइँदैन,’ उनले भने।
समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कूटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको थियो।
सोही क्रममा पत्रकारहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले समितिले पास गरेर पठाएको दुई वर्षको कुलिङ पिरियड राख्न धेरै संघर्ष गर्नुपरेको बताए।
‘हामीले पास गरेर पठाएको दुई वर्षको कुलिङ पिरियडको बारेमा यति धेरै लड्न पर्यो की लगातार पहिला त कार्यसूचीमै चढाउनकै लागि दर्जन पटक कुरा उठाइयो। संसदमा बोलेँ, प्रमुख सचेतकका रुपमा बोलियो,’ उनले भने।
समितिबाट पास गरिएको विधेयक नै संसदबाट पनि पारित भएको आफूहरूको विश्वास रहेको उनले बताए।
भन्ने एकथोक तर लेख्ने बेलामा 'कमा र 'र' छुटाउने गरेको भन्दै यसमा आफूहरु सजग रहेको उनले बताए।
(न्युज एजेन्सी नेपाल)