सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिअनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक सदनबाट पारित हुनुपर्ने हो। तर विधेयकका व्यवस्था र शिक्षक महासंघसँग सरकारले गरेका सहमतिका केही विषयमा फरक परेपछि विधेयक समितिबाट सदनमा पठाउन ढिलाइ भइरहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त विधेयकलाई पारित गर्न वातावरण तयार गर्न दौडधुप गरिरहेका छन्।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले पनि सरकारलाई शिक्षक महासंघसँग छलफल गरेर मात्र अघि बढ्न आग्रह गरेको थियो।
त्यसपछि मन्त्री पन्तले दौडधुप गरेका हुन्।
शिक्षक महासंघका महासचिव तुलाबहादुर थापासहितसँग मन्त्रालयमा छलफल गरेपछि मन्त्री पन्त सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार दिउँसो केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
शिक्षकहरूले उठाएका माग र विद्यालय शिक्षा विधेयकमा व्यवस्था भएका केही विषय फरक परेको छ।
विधेयकले पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था गरेको छ। शिक्षकहरूले भने ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने माग राखेका छन्।
मन्त्रालयमा शिक्षा मन्त्री पन्त र शिक्षक महासंघका महासचिव थापाबीच यही विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो।
स्रोतका अनुसार शिक्षा मन्त्री पन्तले महासचिव थापालाई 'हातै जोडेर सहमतिमा आइदिन' भनेका थिए। मन्त्री पन्तले विधेयकले व्यवस्था गरेझैं ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला राख्न सहमतिमा आउन आग्रह गरे पनि महासचिव थापा मानेका थिएनन्।
महासचिव थापाले मन्त्री पन्तसँग कुराकानी भएपछि महासंघको आकस्मिक बैठक बसिरहेको बताए।
त्यस्तै सरूवाका विषयमा पनि शिक्षकहरूको माग र विधेयकले गरेको व्यवस्था फरक छ।
शिक्षकहरूले एक/एक वर्षमा सरूवा हुन पाउनुपर्ने माग राखेका थिए।
समितिले तयार पारेको विधेयकमा सरूवाको मापदण्ड तोकेको छ।
विधेयकमा एउटै स्थानीय तहभित्रका विद्यालयमा सरूवामा दुई वर्षपछि, एउटा पालिकाबाट अर्को पालिकामा ५ वर्षमा र एउटा प्रदेशबाट अर्को प्रदेशमा ७ वर्षमा मात्रै सरूवा गर्न मिल्ने व्यवस्था राखिएको छ।
सरूवाका अवस्थामा पनि शिक्षकको माग र विधेयकमा उल्लिखित प्राबधानबारे तालमेल मिलेको छैन।
बिरामी परेको अवस्थामा शिक्षकलाई उनीहरूको पायक पर्ने स्थानमा सरूवा गर्न सकिने विधेयकमा व्यवस्था छ। शिक्षकहरूले भने आफूमात्र नभइ परिवारका अन्य सदस्य बिरामी भए पनि पायक पर्ने ठाउँमा सरूवा हुन पाउनुपर्ने माग राखेका थिए।
शिक्षक महासंघसँग छलफलमा कुरा नमिलेपछि मन्त्री पन्त कांग्रेस सभापति देउवा भेट्न सानेपा गएका हुन्। मन्त्री पन्त भेट्न आएपछि सभापति देउवा केन्द्रीय समिति बैठक छाडेर कुराकानी गर्न पुगेका थिए।
सभापति देउवासँग छलफल गरेर मन्त्री पन्त शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा पुगेका छन्। उनले सहमति जुट्न नसकिरहेकोतर्फ संकेत गर्दै बैठक स्थगित गर्न प्रस्तावसमेत गरेका छन्।
यो पनि:
शिक्षक महासंघसँग छलफल गर्न ६ घन्टाका लागि शिक्षा समितिको बैठक नै स्थगित
यी हुन् विद्यालय शिक्षा विधेयकमा सहमति जुटेका १० विषय