विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङबीच छलफल भएको छ।
सहरी विकास मन्त्रालयमा सोमबार भएको भेटमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्न सक्ने कामका बारेमा छलफल भएको हो।
आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउने निर्णय गरेको थियो।
भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई एसएमएस पठाउने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रशारण गर्ने, मोबाइलमा ‘अर्ली वार्निङ रिङ’ बजाएर जोखिम क्षेत्रमा समयमै सचेत गराउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्री गुरूङबीच छलफल भएको छ।
सो क्रममा सञ्चारमन्त्री गुरूङले सरोकारवाला निकायहरूसँग छलफल गरेर आवश्यक समन्वय गर्ने बताए।
कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्को समयमा मौसमपूर्वानुमान अनुसार पूर्व सूचनालाई प्रभावकारी बनाउन सके समभावित जोखिम कम गर्न र क्षति हुन नदिन महत्वपूर्ण भूमिका रहने भन्दै सूचना प्रवाह प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिएको उनको सचिवालयले जनाएको छ।