राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नै नगरी ल्याइएको भन्दै आपत्ति जनाएका छन्।
सोमबारको अर्थ समितिको बैठकमा बोल्दै उनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नगरी ल्याइएको बताएका हुन्।
उनले सबै चिजको उपचार करमा नै थुपार्ने गरेको भन्दै यसले दैनिक उपभोक्तालाई मार परिरहेको जिकिर गरे।
सुनले नेपालको अर्थतन्त्रलाई चलायमान गरिरहेको उनले बताए।
सुनको सम्बन्ध गृहिणीदेखि सांस्कृतिक र धार्मिक रूपमा पनि रहेको बताए।
टाउको दुख्यो भनेर पेटको उपचार गरेको जस्तो विधेयक आएको उनको टिप्पणी छ।
उनले भने, ‘हामी जे चिजको पनि उपचार करमा नै थुपारिदिन्छौं। त्यसले दैनिक उपभोक्ताहरूलाई मार पर्छ। सुनको कुरा गर्दा हेर्दा जसरी व्याख्या गरे पनि हुन्छ। तर हाम्रो अर्थतन्त्रलाई अनौपचारिक रूपमा गृहिणीदेखि लिएर सबैले बचाइरहेको सुनले गर्दा कहीँ न कहीँ स्टेबल भएको भन्ने मान्यता पनि छ। यसपालि आएको चिज पर्याप्त छलफल नै आएको जस्तो लाग्यो। टाउको दुख्यो भनेर पेटको उपचार गरेर त भएन। हामीकहाँ बेथिति यस्तो छ अनि हामी ग्रे लिस्ट र ब्ल्याक लिस्ट भनेर तसाईदिन्छौँ। सतही हिसाबले औषधि खाएर निको पार्ने भए कर जति पनि बढाए भयो। तर कालो धनको कुरा भए प्रणालीमा सुधार गर्नुपर्छ।’
सांसद श्रेष्ठले अनौपचारिक रूपमा भइरहेको कारोबारलाई करको दायरामा ल्याउन जरूरी रहेको बताए। —न्युज एजेन्सी नेपाल