राप्रपाका सांसद धवलशम्शेर राणा तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई तीन लाख रुपैयाँ धरौटी माग गरेको थियो। उक्त धरौटी रकम बुझाएर उनी रिहा भइसकेका छन्।
अदालतले धरौटी माग गर्दा आपराधिक उपद्रव कसुरमा पूर्ण रूपमा निर्दोष हुन् भनेर भन्न नसकिएको उल्लेख गरेको छ। धरौटीमा छाड्नलाई न्यायाधीश खनालले उनको स्वास्थ्य अवस्थालाई पनि आधार मानेको छ।
‘घटनास्थलमा तोडफोड आपराधिक उपद्रव र क्षति भएको देखिने घटनास्थल मुचुल्का समेतलाई हेर्दा यी प्रतिवादी धवल सम्शेर जवरा पूर्ण रूपमा निर्दोष हुन भनी भन्न सकिने अवस्था नभएको,’ आदेशमा उल्लेख छ, ‘निज घातक रोगको उपचाररत रहेको भन्ने समेत मिसिलबाट देखिएको हुँदा पछि ठहरे बमोजिम हुने गरी हाललाई रू ३,००,०००।- (तीन लाख रुपैयाँ) नगद धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेन्टी दिए लिई मुद्दा पुर्पक्षको लागि तारिखमा राख्नू।’
अदालतले उनले एटिएफ, पिडिएफ, आरटिएफ समेतको समूहलाई आपराधिक समूह भन्न अहिले नै नमिल्ने र राणाले नै परिचालन गरेको भन्ने स्पष्ट प्रमाण नदेखिएको पनि उल्लेख गरेको छ।
राणा आफै तोडफोड तथा आपराधिक उपद्रवमा सहभागी भएको देखिने स्पष्ट प्रमाओ नदेखिए पनि उनले घटना हुँदा ‘हामी अगाडि बढ्ने हो प्रहरीसित डराउने होइन, यो संघीयता र गणतन्त्र समाप्त पार्ने आजको दिन हो’ भन्ने समेतको अभिव्यक्ति स्वीकार गरेको उल्लेख छ।
आपराधिक उपद्रवको कसुरमा निर्दोष हुन नसक्ने बताए पनि अदालतले राज्यविरूद्धको कसुर एवं संगठित अपराधमा अहिले नै कसुरदार हुन् भनेर पूर्ण रूपमा विश्वास गर्ने मनासिब आधार नदेखिएको आदेशमा उल्लेख गरेको छ।
हाजिर जमानीमा छुटेका राणा पछिल्लो समय प्रहरी र अदालतको सम्पर्कमा आएका थिएनन्। उनी सोमबार अदालतमा आफैं उपस्थित हुन पुगेका हुन्।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अदालतमा उपस्थित भएका छैनन्।
तीनकुने घटनामा हाजिर जमानीमा छुटेका उनीहरू मुद्दा दायर गर्दा उपस्थित भएका थिएनन्।
चैत १५ गते राति पक्राउ परेका राणालाई प्रहरीले स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते हाजिर जमानीमा छाडेको थियो। हाजिर जमानीमा राखिएका उनीसहितलाई मुद्दा दर्ता गर्न जेठ ११ गते प्रहरीले सम्पर्क गर्ने प्रयास गरेको थियो।
तर उनी सम्पर्कमा आएका थिएनन्।
सम्पर्कमा नआएपछि प्रहरीको अनुसन्धान अधिकारीले राणाका स्वकियलाई जरिवाना समेत तोकेको थियो।
गत बिहीबार मध्यराति जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। बाँकीलाई धरौटीमा छाड्न आदेश दिएको थियो।