पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल) को निधन भएको छ। काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा उनको सोमबार बिहान ४ः०० बजे ९० वर्षको उमेरमा निधन भएको हो।
अर्घाखाँचीको साबिक किमडाँडा पञ्चायत–८ हाल भूमिकास्थान नगरपालिका–८ निमडाँडामा बुबा खेमराज पौडेल र माता सावित्रा पौडेलका जेठो सन्तानका रूपमा १९९३ सालमा जन्म भएको थियो। समाजवादी चिन्तक शास्त्रीका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन्। एक श्रीमतीको भने निधन भइसकेको छ। उनका छोराहरू देश बाहिर रहेकाले उनीहरू आएपछि दाहसंस्कार गरिने उनका पारिवारिक सदस्य अशोक पौडेलले जानकारी दिएका छन्।
शास्त्री २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दा नेपाली कांग्रेसको राजनीतिमा जोडिएका थिए। उनले पढाइ पूरा भएपछि पार्टीका तर्फबाट भूमिगत राजनीति गरे। २०१४ मा नेपाली कांग्रेसले सुरू गरेको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाको अगुवाइ गर्दै उनले पाल्पाको तानसेनमा भाग लिएका थिए। २०१५ को आम निर्वाचनमा सक्रिय रूपमा लागेका उनी विसं २०१७ पुस १ गते राजा महेन्द्रले संसद् भंग गरी नेताहरूलाई जेल हालेको समयमा गुल्मी र अर्घाखाँचीका युवालाई क्रान्तिमा संलग्न गराउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
विक्रम् संवत् २०१७ सालपछि उनी भारतमा निर्वासित जीवन बिताएका थिए। शास्त्रीले तत्कालीन समयमा भारतको गोरखपुरमा गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराएका थिए। उनी गोरखपुरमा छँदा प्रजातन्त्रको लडाइँका लागि पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाएका थिए।
बिपी कोइरालाका कट्टर अनुयायी शास्त्री समाजवादका व्याख्याता थिए। भूमिगत रूपमा अर्घाखाँची र गुल्मीलगायतका जिल्लामा नेपाली कांग्रेसको संगठन बिस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए। उनले विक्रम संवत् २०३६ र २०४६ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए।
विक्रम संवत् २०४६ सालको जनआन्दोलनपछि भएको २०४८ सालको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट सांसदमा भारी मतले विजयी हुनाका साथै उद्योगमन्त्री बनेका थिए। विसं २०५१ को मध्यावधि निर्वाचनमा पनि विजयी भएका थिए। त्यसपछिका निर्वाचनमा पार्टीले समानुपातिक सांसद बन्न गरेको आग्रह अस्वीकार गरेका थिए।