दाङको तुलसीपुरमा गोठमा चट्याङ परी भएको आगजनीमा बस्तुभाउ जलेर मरेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ घुसेरीका सागर पौडेलको दुई तले कच्ची गोठमा गएराति साढे ११ बजेतिर चट्याङ परी आगलागी भएको थियो।
आगलागीबाट गोठभित्र बाँधिएका दुईवटा भैंसी, तीनवटा खसी, एकवटा बाख्रा र १० वटा कुखुरा जलेर मरेका छन्।
त्यस्तै एउटा भैंसी आगलागीमा परी जलेर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए। आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट दस लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ।
यसैबीच अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कुका हर्कबहादुर बोगटीको घरमा चट्याङ पर्दा उनकी श्रीमती २५ वर्षीया चन्द्रकला बोगटी घाइते भएकी छन्।
उनको दाहिने खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। चट्याङले बोगटीका गोठमा बाँधेका ३ वटा बाख्रा मरेका छन्।
प्रहरी चौकी चौखुट्टेबाट प्रहरी नायब निरीक्षक पदमसिंह साउदको कमान्डमा बिहान प्रहरी घटनास्थल पुगेको थियो।