परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग भएको कुराकानीलाई तोडमोड गरी धम्की आएको भन्दै समाचार प्रकाशित भएकोमा आफूलाई अचम्म लागेको बताएकी छन्।
पत्रकार दिलभूषण पाठकले जयवीर देउवासहितको नाम लिँदै हिल्टन होटलबारे युटुबमा राखेको सामग्री तथा उक्त विषयमा पाठकलाई पक्राउ पुर्जी जारी भएको सन्दर्भमा नागरिक दैनिक र रिपब्लिका दैनिकले समाचार लेखेका थिए। सोही विषयमा परराष्ट्र मन्त्री राणाले बिहीबार दिउँसो निर्देशक ज्ञवालीसँग टेलिफोनमा कुराकानी गरेकी थिइन्।
यो पनि; नेपाल रिपब्लिक मिडियाले भन्यो- परराष्ट्र मन्त्री राणाबाट निर्देशक शोभा ज्ञवालीलाई धम्की आयो
‘नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु,’ परराष्ट्र मन्त्री राणाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छन्, ‘हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासयसहित सामाजिक सञ्जालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरूपणमा बारेमा उहाँसँग कुराकानी भएको हो।’
परराष्ट्र मन्त्री राणाले पत्रकार पाठकले युटुवमा राखेको सामग्रीबारे लक्ष्य गर्दै 'उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्तासमेत नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया सुरू गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौं' समेत भनेकी छन्।
‘भ्रामक भिडियो पोष्ट गर्नेविरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो। यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ। बरू मैले म आफू नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ। तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ,’ परराष्ट्र मन्त्री राणाको भनाइ छ।
नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन मिल्दैन भन्दै उनले आफू सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा रहेको पनि उल्लेख गरेकी छन्।
‘तर मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनु हुँदैन भन्ने मेरो धारणा हो। लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने मेरो धारणा हो। स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने मेरो बुझाइ हो। यसैका आधारमा राखिएका कतिपय धारणारुलाई प्रेसले धम्कीपूर्ण भाषाका रूपमा बुझ्नु दुःखद हो,’ उनले भनेकी छन्।
यो पनि:
जयवीर देउवाको फोटो राखेर हिल्टन होटलबारे स्टाटस लेखेका राप्रपा युवा संगठनका संयोजकविरूद्ध मुद्दा दायर
जयवीर देउवाले हिल्टन होटल किने भन्ने खबरमा शंकर ग्रुपको खण्डन
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी
दिलभूषणलाई साइबर ब्युरो होइन, अदालतमा उभ्याऊ!