इसराइलले इरानमा हमला गरेको छ।
शुक्रबार बिहान इरानको आणविक हतियार योजना र लामो दुरीका मिसाइल कारखानालाई लक्ष्य गरेर इसराइलले हमला गरेको हो।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि सैन्य कारबाही सुरू गरिएको उद्घोष गरेका छन्।
उनले आणविक हतियार योजना र मिसाइल कारखाना नष्ट नपारुन्जेल आक्रमण जारी रहने भनेका छन्।
अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका अनुसार इसराइलले इरानका कम्तिमा ६ वटा सैन्य आधार इलाकालाई लक्ष्य गरी आक्रमण गरेको छ।
इसराइलले इरानमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले पनि इरानलाई चेतावनी दिएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रूबिओले एक वक्तव्य जारी गर्दै मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडाहरूमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्।
उनले इसराइलले इरानमा गरेको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहने पनि बताएका छन्।
'इरानमाथि इसराइलले गरेको आक्रमणमा हाम्रो संलग्नता छैन। मध्यपूर्वमा रहेका हाम्रा सैनिकहरूको रक्षा हाम्रो पहिलो दायित्व हो। इरानले जबाफी हमलाको रूपमा हाम्रा सैनिक शिविरमा आक्रमण नगरोस्,' रूबिओले भनेका छन्।
उनले इरानमाथि आक्रमण जरूरी रहेको भनेर इसराइलले बताएको भनेका छन्।
'इसराइलले आत्मरक्षाका लागि इरानमाथिको आक्रमण जरूरी भइसकेको बताएको छ,' विदेशमन्त्री रूबिओले भनेका छन्।
अमेरिकाले यसअघि नै मध्यपूर्वी देशबाट आपतकालीनबाहेकका अधिकारीहरूलाई फिर्ता बोलाइसकेको छ।
इराक, बहराइन र कुवेतस्थित अमेरिकी दूतावासहरूबाट गैरआवश्यक कर्मचारीलाई फिर्ता बोलाइने भनेर राष्ट्रपति ट्रम्प आफैले पनि सार्वजनिक गरेका थिए। उनले ती ठाउँहरू क्षेत्रीय तनावका कारण खतरापूर्ण हुनसक्ने बताएका थिए।
न्युक्लियर सम्झौता नभए ट्रम्प आफैले पनि पटकपटक इरानमाथि आक्रमण गर्ने चेतावनी दिँदै आएका छन्। उनले बुधबार नै एक पोडकास्टमा इरानसँगको सम्झौताको सम्भावना निकै कम देखिएको बताएका थिए।
बुधबार नै इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अजिज नासिरजादेले अमेरिकासँगको आणविक वार्ता असफल भए र द्वन्द्व भड्किए अमेरिकाले ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावनी दिएका थिए।
'उसका सबै अखडा इरानी सेनाको पहुँचमा छन् र हामी तिनलाई निशाना बनाउन हिचकिचाउने छैनौं,' उनको भनाइ उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले लेखेको छ।