काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको घटनामा पुर्पक्षको आदेश बिहीबार आउँदैछ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिएको थियो। थुनछेक बहस सकेपछि न्यायाधीश कार्की आदेश लेखनमा बसेका थिए।
थुनछेकका लागि तीनकुने घटनाका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित ३९ प्रतिवादीलाई इजलास बाहिर राखिएको थियो।
राती अबेरसम्म पनि आदेश नआएपछि सबै प्रतिवादीहरूलाई अझै पनि इजलास बाहिरै राखिएको अदालत स्रोतले बतायो।
आज इजलासले प्रतिवादीहरूलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ।
चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो। त्यस्तै निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।
त्यस घटनामा सरकारी वकिलको कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा जेठ ११ गते मुद्दा दायर गरेको थियो।
५० जनाविरूद्ध आपराधिक उपद्रव, राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो। त्यसमध्ये दुर्गा प्रसाईंसहित ८ जनाविरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग समेतमा मुद्दा दायर भएको थियो।
त्यसबाहेक ११ जनाविरूद्ध आपराधिक उपद्रवमा मात्रै मुद्दा दायर भएको थियो। उनीहरू सबै जना धरौटी बुझाएर छुटिसकेका छन्।
५० जनामध्ये ३९ जना मात्रै प्रहरीको सम्पर्कमा रहेकाले उनीहरूको प्रक्रिया अघि बढाइएको थियो।
उनीहरूको जेठ १२ गतेदेखि २० गतेसम्म बयान लिइएको थियो। त्यसपछि सुरू भएको थुनछेक बहस बिहीबार सकिएपछि आदेश आउन लागेको हो।