अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।
सौर्य बत्ती जडान कार्यक्रमको लागि छुट्ट्याइएको बजेटमा अनियमितता देखिएको भनेर अख्तियारले बिहीबार गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादवसहित १० जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
२०७८/७९ मा पालिकाबाट सौर्य बत्ती जडान कार्यक्रमका लागि छुट्ट्याइएको बजेट टुक्रा-टुक्रा पारी खरिद गरेको कार्यमा अनियमितता देखिएपछि मुद्दा दर्ता गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
उनका अनुसार तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साह, लेखा अधिकृत शिवशंकरप्रसाद कुशवाहा, सहायक पाँचौं (लेखपाल) संजयकुमार ठाकुरविरूद्ध मुद्दा दायर गरेको हो।
त्यस्तै, जिन्सी शाखा प्रमुख रामकैलाश राय यादव, सब-इन्जिनियर सन्तोष राय, राजु राय, स्काई राइज ट्रेडिङ कन्सर्न मलंगवा सर्लाही तथा उक्त कम्पनीका प्रोप्राइटरजयप्रकाश यादव, एस के स्टोर्स मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर रंजुकुमारी शाह र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर संगिता कुमारीविरूद्ध मुद्दा चलाइएको हो।
पालिकाभित्र वडा-१ देखि ९ सम्म सौर्य बत्ती जडान गर्ने योजना थियो। सोही अनुसार नौ वटा शीर्षकमा २ करोड १६ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। त्यो योजनाको बजेटलाई संशोधन गरी दुई करोड ५३ लाख १८ हजार ८० रुपैयाँ बनाइएको थियो।
सोलार प्यानल खरिद, लाइट/तार/ नटबोल्ट, ब्याट्री र चार्ज कन्ट्रोलर खरिद टुक्राएर ५ वटा प्याकेजमा विनियोजित बजेट भन्दा बढी लागत अनुमान स्वीकृत गरी बोलपत्र आह्वान गरेको देखिएको सहायक प्रवक्ता थपलियाले बताए।
बोलपत्र आह्वान भएका प्रत्येक ठेक्कामा ३/३ वटा फर्महरूबीच मात्र प्रतिस्पर्धा भएकोमा ३ वटा फर्म स्काइ राइज ट्रेडिङ कन्सर्न, एस के स्टोर्स र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रचर सोलुसन नेपाल एकाघरका परिवार (बुबा, छोरा र बुहारी) सदस्यको नाममा रहेको खुलेको छ।
ठेक्का भएका सम्पूर्ण सामानहरू स्काई राइज ट्रेनिङ कन्सर्नका प्रोप्राइटर जय प्रकाश यादवले नै आपूर्ति गरेको देखिएको छ।
सौर्य बत्ती जडानका मालसामान खरिद गर्न एउटै परिवारका सदस्यहरूको नाममा रहेको स्काइ राइज ट्रेडिङलाई ब्याट्री खरिद, फर्म जियो टेक्निकल एण्ड इन्फ्रा स्ट्रचर सोलुनसन नेपाललाई चार्ज कन्ट्रोलर खरिद तथा इन्सस्टलेसन ठेक्का र पोल खरिद ठेक्का दिएको अनुसन्धानमा खुलेको छ।
त्यस्तै एस के स्टोर्सलाई सोलार प्यानल खरिद र लाइट र लाइट, तार नटबोल्ट खरिदको ठेक्का दिइएको छ।
त्यसमध्ये स्काई राइज ट्रेडिङ कन्सर्नका प्रोप्राइटर गाउँपालिका कार्यालयको अधिकार प्राप्त व्यक्तिको हैसियतमा सामग्री निरीक्षण प्रतिवेदन तथा फाइल बिल तयार गर्ने कार्यमा संलग्न रहेको देखिएको अख्तियारका सहप्रवक्ता थपलियाले जानकारी दिए।
यसरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले तत्कालीन अध्यक्ष विक्रम यादवसहितलाई दुई करोड ४९ लाख ४० हजार ११० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।