नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले जेठ ३० गते १० औं स्थापना दिवस मनाउने भएको छ।
बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) ले प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा कार्यक्रम गर्ने तयारी गरेको छ।
स्थापना दिवस समारोहलाई भव्य बनाउन विशेष अतिथिहरूलाई आमन्त्रण गर्ने तयारी भइरहेको केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्ने दलहरू विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका नेताहरूलाई निमन्त्रणा गर्ने तयारी रहेको उनले बताए।
नेसपा (नयाँ शक्ति) ले पार्टीका कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत पुराना दलहरूलाई बोलाउने गरेको छैन।
नागरिक समाजका अगुवा, बौद्धिक वर्ग र समाजमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरू पनि कार्यक्रममा सहभागी हुनेछन्। नेसपा नयाँ शक्तिले वैकल्पिक र अग्रगामी राजनीतिको वकालत गर्दै आएको छ।
पार्टी नेताहरूका अनुसार स्थापना दिवसको अवसरमा विगत १० वर्षको राजनीतिक यात्रा, आगामी दिशा र वैकल्पिक शक्ति निर्माणका सम्भावनाहरू विषयमा छलफल हुनेछन्।