गृहमन्त्री रमेश लेखक सप्तरीमा दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे ब्रिफिङ लिएका छन्।
शुक्रबार बिहान सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक पुगेर गृहमन्त्री लेखकले त्यस घटनाबारे ब्रिफिङ लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
निमित्त संगठन प्रमुख एवं सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले घटनाबारे मन्त्री लेखकलाई जानकारी दिएका हुन्।
सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले घटनाबारे र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या, अन्य विपद उद्धारका तालिम प्राप्त जनशक्ति तथा काम कारबाहीबारे विस्तृत जानकारी गराएको डिएसपी थापाले बताए।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटनाबारे जानकारी गराएका थिए।
गृहमन्त्री लेखकसँगै राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा, निमित्त गृह सचिव जय नारायण आचार्य, सहसचिव रामचन्द्र तिवारी लगायत गृह मन्त्रालयका अधिकारीहरू समेत सहभागी भएका थिए।
गृह मन्त्री लेखकले घटनाप्रति दु:ख व्यक्त गर्दै मन्त्रालयबाट के गर्न सकिन्छ त्यसमा लाग्ने बताए।
खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमाबारे मन्त्रालयले थप कार्य गर्ने बताउँदै उनले अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाइ शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए।
बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।
दुवै जनाले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए। त्यसयता उद्धारका लागि विभिन्न ठाउँमा खटिएका पनि थिए।
बेपत्ता भएका दुई जनामध्ये हरदेव राजवंशी शुक्रबार बिहान मृत अवस्थामा फेला पारेका हुन्।
अर्का जवान सुरज साउदको खोजी भइरहेको छ।
खोजीका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपिको कमान्डमा ४ जना गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित डिएसपीको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको डिएसपी थापाले जानकारी दिए।
थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भन्डारिको कमान्डमा ५ जना गोताखोरलाई बिहीबार राति नै त्यसतर्फ पठाइएको थियो।