राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नागरिकता विधेयक चालु अधिवेशनमै संसदमा लैजाने तयारी रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति खतिवडाले विधेयक छिटो पारित गरेर समस्यामा रहेका नेपाली नागरकलाई सहजता प्रदान गर्ने लक्ष्यअनुसार काम भइरहेको बताएका हुन्।
‘अब बेलायती सेनामा रहनुभएका ब्रिटिश गोरखासँग र एनआरएनसँग पनि छलफल गर्छौं । यो सरोकारवाला विषय भएकाले छलफल गर्नेछौं। एक पटक बेलायती सेनामा रहनुभएका साथीहरु र एनआरएनका केही पूर्वअध्यक्षहरुसँग छलफल गर्छौं,' उनले भने।
त्यसपछि समितिमा दफावार छलफल गरेर यही अधिवेशनमै विधेयक लैजाने विषयमा समितिका सदस्यहरूबीच एकमत रहेको सभापति खतिवडाले बताए।
समितिको बैठकमा आज नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल भएको थियो।