नेपाली कांग्रेसले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोजिएको बताउँदै सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए।
‘यो संविधान कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैले निर्माण गरेको संविधान हो। आफ्ना प्रतिनिधिहरूको माध्यमबाट निर्माण गरेको संविधान भएको हुनाले यो संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो हुन्छ। जति पनि विषयवस्तु अनुभवको आधारमा सुधार गर्नुपर्छ जस्तो लाग्छ त्यसको निर्क्यौल पनि जनप्रतिनिधिहरूको संस्था संसद्ले नै अगाडि बढाउँछ,’ प्रवक्ता महतले भने, ‘त्यसो हुनाले हामीले संविधान संशोधनका विषयहरू अगाडि बढाउनुपर्छ भनेर सरकारले भनेको हो। संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो। सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ।’
पदाधिकारी बैठकमा क्रियाशिल सदस्यता आगामी असारसम्म सम्पन्न गर्न पार्टीलाई सक्रिय बनाउने विषयमा छलफल भएको थियो।
प्रवक्ता महतले पार्टी केन्द्रीय कमिटीको बैठक छिटै बस्ने पनि बताए।
बैठकमा गणतन्त्र, समावेशीता लगायतका संविधानले दिएका उपलब्धिहरूको रक्षा, पार्टीलाई सक्रिय बनाउने र आगामी दिनका आर्थिक रुपान्तरण लगायतका चुनौतीहरूको सामना गर्ने लगायतका विषयमा छलफल भएको थियो।
आफूहरू लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएको बताउँदै प्रवक्ता महतले राजावादीहरूका गतिविधिहरूलाई सरकारले नरोकेको बताए।
भिडिओ: