नेकपा(एमाले)का सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रुपान्तरणको आवश्यकता रहेको बताएका छन्।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा भट्टराईले राज्य नजिक रहेको अनुभूति जनताले नगरेको बताउँदै दल र नेताहरू रूपान्तरित हुनुपर्ने बताएका हुन्।
'सुशासन, डेलिभरीका कुराहरु छन्। जो सहज हुनुपर्ने थियो, त्यो सहज नहुँदा मध्यमवर्ग छट्पटिएका छन्। गिटी कुट्ने, मकै पोलेर खानेलाई राज्यले खोजेको पनि छैन। राज्यले केही दिएको छैन,’ उनले भने।
सचिव भट्टराईले बन्दुकले सेना कुट्ने, मार्ने र हान्नेबाहेक केही नदेखेको माओवादी पनि रूपान्तरण भएर अहिलेको संविधानमा आएको उदाहरण दिँदै आवश्यक पर्दा नेताहरू रूपान्तरण हुने बताए।
'आज यहाँ आइपुगेको माओवादी रुपान्तरण बिना कसरी आयो ? राजनीतिक पार्टी पनि, नेता पनि आज फेरि एक पटक अर्को एक झमट रुपान्तरणको आवश्यकता छ। त्यसले हामीलाई आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्न र राज्यलाई जनतासँग नजिक लैजाने विषयमा यहाँभन्दा अझ माथि लैजान्छ,' उनले भने।
उनले रूपान्तरण भएरै संवैधानिक राजासँग पनि सम्झौता गरेर जान सकिन्छ भन्ने विचार बनाएको र राजाले सम्झौता भंग गर्दा आफूहरू अगाडि बढेको बताए।
'२०४६ सालपछि यो ०४७ को संविधान मान्नुपर्छ, संवैधानकि राजासँग पनि सम्झौता गरेर जान सकिन्छ भन्ने विचार बनायौं। त्यो रुपान्तरण नभएको भए कसरी हुन्थ्यो। त्यो विचारले काम लागेन। किनकी सम्झौता राजाले भंग गरेका थिए। हामीले होइन। तिमीसँगको सम्झौता भंग भयो, हामी अघि बढ्यौं भन्यौं,' उनले भने। -न्युज एजेन्सी नेपाल