राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार हुने भनिएको उपत्यका बन्द कार्यक्रममा आफ्नो पार्टी सहभागी नहुने बताएका छन्।
उनले आइतबार राति ११ बजेर ४९ मिनेटमा आफ्नो फेसबुकबाट उक्त जानकारी दिएका हुन्।
'सामान्यतया राप्रपा बन्द–हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ। आज सरकार तर्फबाट पक्राउ परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसंग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि (सोमबार) हुने भनिएको उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु। आन्दोलनका अन्य नियमित कार्यक्रममा सल्लाहबाट निर्णय भएपश्चात हाम्रो सक्रिय सहभागिता रहनेछ,' अध्यक्ष लिङ्देनले लेखेका छन्।
राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको 'संयुक्त जनआन्दोलन समिति' का संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार काठमाडौं उपत्यका बन्द घोषणा गरेका थिए।
'सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौं। यसै क्रममा जेठ १९ (सोमबार) गते हामीले उपत्यका बन्द घोषणा गरेका छौं। उपत्यका बन्दको क्रममा आ-आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्छु,' विज्ञप्तिमा भनिएको छ।
राप्रपा अध्यक्ष लिङ्देनले भने फेसबुकबाट उपत्यका बन्द कार्यक्रममा आफ्नो पार्टीको सहभागिता नरहने बताएका हुन्।
उनले आइतबार प्रदर्शनमा भएको हस्तक्षेपको भत्सर्ना गर्दै प्रहरी दमनमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।
सँगसँगै, पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य दिपक सिंह लगायत आइतबार पक्राउ परेका सबै नेता कार्यकर्ता रिहा भएको उल्लेख गरेका छन्।
यो पनि पढ्नुहोस्-