नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले कमजोर प्रदर्शन गर्ने र भ्रष्टाचार आरोप लागेका मन्त्रीहरूलाई फिर्ता बोलाउन सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन्।
सांसद बजगाईले सभापतिसमेत रहेका संसदीय दल नेता देउवालाई संसदीय दल कार्यालयमार्फत इमेलबाट पत्र पठाएका हुन्।
उनले पार्टीको छवि जोगाउन भ्रष्टाचारमा संलग्न र कमजोर प्रदर्शन गर्ने मन्त्रीहरूलाई फिर्ता बोलाउन पनि माग गरेका छन्।
‘नेपाली कांग्रेसको नेतृत्वमा रहेका केही मन्त्रीहरूको कार्यशैलीले आज हाम्रो पार्टीको गरिमा र जनविश्वासमा गम्भीर धक्का पुर्याइरहेको छ, (तर केही मन्त्रीहरूले पार्टीको गरिमा उठाउने प्रयास पनि गरिरहेकै छन्) यदि पार्टीले समयमै कठोर निर्णय लिएन भने, यसले भविष्यमा अझ गम्भीर राजनीतिक नतिजा ल्याउनेछ,’ पत्रमा उल्लेख छ।
उनले गृहमन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनअघि बढाइसकेको पनि उल्लेख गर्दै यसबारे आएका समाचारले गृहमन्त्री रमेश लेखकको सचिवालय नै मानव तस्करी र आप्रवासन दुरुपयोगमा संलग्न देखिएको पनि उल्लेख गरेका छन्।
‘यस्तोमा गृहमन्त्रीको नैतिक जिम्मेवारी उठ्नुपर्ने हो। यो गृह मन्त्रालयको नेतृत्व मात्र होइन गृह मन्त्रालय संरचनाप्रतिको कानूनी प्रश्न हो,’ उनले लेखेको पत्रमा उल्लेख छ, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको नेतृत्वमा रहेको मन्त्रालयले देशको पर्यटन क्षेत्रलाई नै तहसनहस बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था हेर्दा यस्तो लाग्छ कि त्यो ठाउँ तस्करहरूको केन्द्र बनेको छ।’
पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई फिर्ता बोलाउन पनि उनले माग गरेका छन्।
सांसद बजगाईले संसदीय दल नेता देउवालाई सम्बोधन गरी संसदीय दलको कार्यालयको इमेलमा पठाएका छन् र उक्त पत्र दर्ता भइसकेको छैन। प्रमुख सचेतकलाई जानकारी गराएर मात्रै पत्र दर्ता गर्ने अभ्यास रहेको कर्मचारीहरूले बताएको स्रोतको भनाइ छ।