भारतले पाकिस्तानको आक्रामक र रक्षात्मक दुवै क्षमता नष्ट गरेको दाबी गरेको छ।
भारत-पाकिस्तानबीच 'युद्धविराम' घोषणा भएपछि पत्रकार सम्मेलनमा बोल्दै भारतीय सेनाकी कर्नल शोफिया कुरेशीले पाकिस्तानको रक्षात्मक र आक्रामक दुवै शक्ति नष्ट गरेको बताएकी हुन्।
भारतीय सेनाका एक जना प्रवक्ताले युद्धविराम भए पनि भारतीय सेना सधैं तयारी अवस्थामा रहने बताएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
भारतीय वायु सेनाका अधिकारी रघु नायरले पनि भारतले आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न पूर्ण रूपमा तयारी अवस्थामा रहने बताएका छन्।
कुरेशीले पाकिस्तानी पक्षबाट भएको आक्रमणमा भारतका कुनै पनि धार्मिक संरचनामा क्षति नपुगेको बताएकी छन्।
युद्धविराम घोषणापछि पाकिस्तान मुस्लिम लिगले पाकिस्तानी सेनाप्रति गर्व गर्दै उसले भारतीय सेनालाई घुँडा टेकाएको दाबी गरेको छ।
भारत-पाकिस्तानबीचको तनाव शुक्रबारदेखि उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय शक्तिहरूले संवाद अगाडि बढाएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रातभरिको वार्तापछि दुई देश युद्धविरामका लागि सहमत भएको बताएका छन्।