भारतले बुधबार राति पाकिस्तानका ९ ठाउँमा आक्रमण गरी मारिएका मध्ये पाँच जनाको पहिचान भएको दाबी गरेको छ।
भारतबाट प्रकाशित हुने अनलाइन द हिन्दुस्तान टाइम्सले त्यस रात मारिएकामध्ये पाँच जनाको सूची सार्वजनिक गरेको हो।
त्यो सूचीमा भएका नामहरू २२ अप्रिलमा भारत प्रशासित जम्मू-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्न रहेको आतंकवादी संगठननिकटका व्यक्तिहरू रहेको समेत हिन्दुस्तान टाइम्सको दाबी छ।
उसले भारतको विदेश मन्त्रालयलाई उद्धृत गरेर 'आतंकवादी संगठन'का पाँच जनाको पहिचान भएको जनाएको छ।
भारतले बुधबार बिहान १:०५ देखि साढे १ बजेसम्म पाकिस्तानी भूभागमा मिसाइल आक्रमण गरेको थियो।
पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुर, मुरिद्के, सियालकोट, शकरगढ र पाकिस्तान नियन्त्रित कश्मिरको मुजफ्फरवाद, कोटली, भिम्बर, बाघ र चक अमरूमा मिसाइल दागेको थियो।
ती क्षेत्रमा लश्कर-ए-तइबा, जैश-ए-मोहम्मद लगायतका 'आतंकवादी समूह'को शिविर, हतियार भण्डार र तालिम केन्द्र सञ्चालित रहेको भारतको दाबी थियो। २२ अप्रिलमा नेपालका सुदीप न्यौपानेसहित २६ जना मृत्यु हुनेगरी भएको हमलाको जिम्मा द रेजिस्टेन्ट फ्रन्ट (टिआरएफ) नामको समूहले लिएको थियो। उक्त समूह लश्कर-ए-तइबाकै अंग भएको भारतको दाबी छ।
हिन्दुस्तान टाइम्सले सार्वजनिक गरेको ५ जना तीनै समूहसँग निकट रहेको दाबी गरेको छ।
हेर्नुस् उनीहरुको सूची र हिन्दुस्तान टाइम्सले खुलाएको थप विवरण—
१. मुदस्सर खादियान खास
उनको उपनाम मुदस्सर र अबु जुनदल भनिएको छ। उनी लश्कर-ए-तइबामा आबद्ध रहेको दाबी भारतको छ। उनी पाकिस्तानको मुरिद्केस्थित मार्काज तइबाको प्रमुख समेत हुन् भनेर हिन्दुस्तान टाइम्सले लेखेको छ।
बुधबारको हमलामा उनको मृत्यु भएपछि अन्त्येष्टिमा पाकिस्तानी सेनाले सम्मानगारत प्रदान गरेको र पाकिस्तानी सेनाप्रमुख र पञ्जाबकी मुख्यमन्त्रीको तर्फबाट पुष्पगुच्छा पनि अर्पण गरिएको दाबी हिन्दुस्तान टाइम्सले गरेको छ।
उनको अन्तिम प्रार्थना एउटा सरकारी विद्यालयमा भएको र त्यसको नेतृत्व विश्वव्यापी आतंकवादी सूचीमा सूचीकृत जमात-उद-दावाका हाफिज अब्दुल राउफले गरेको बताइएको छ। प्रार्थना समारोहमा पाकिस्तानी सेनामा कार्यरत लेफ्टिनेन्ट जनरल र पञ्जाब प्रहरीका महानिरीक्षक उपस्थित थिए भनेर पनि हिन्दुस्तान टाइम्सले लेखेको छ।
२. हाफिज मुहमद जमिल
हफिजको 'जैश-ए-मोहम्मद' आबद्धता रहेको भनिएको छ। उनी मौलाना मसुद अजहरका छोरा समेत हुन् भनिएको छ। उनी बहावलपुरस्थित मार्काज सुभान अल्लाहको प्रमुख थिए भनेर हिन्दुस्तान टाइम्सले लेखेको छ। उनको भूमिका युवाहरूलाई कट्टरपन्थी विचारधारामा लैजाने र जैश-ए-मोहम्मदका लागि कोष संकलन गर्ने रहेको पनि दाबी गरिएको छ।
३. मोहम्मद युसुफ अजहर
मोहम्मद युसुफ अजहरको आफ्नो समूहमा उस्ताद जी, मोहद सलिम, घोसी साहब गरी तीन उपनाम रहेको बताइएको छ। उनको आबद्धता 'जैश-ए-मोहम्मद'मा रहेको दाबी गरिएको छ। उनी मौलाना मसूद अजहरका सालो रहेको र जैश-ए-मोहम्मदमा उनको भूमिका हतियार प्रशिक्षण थियो भनेर हिन्दुस्तान टाइम्सले लेखेको छ। जम्मु र कश्मिरमा भएका धेरै आतंकवादी हमलाहरूमा उनको संलग्नता रहेको दाबी छ। उनी आइसी-८१४ जहाज अपहरण घटनाका मस्ट वान्टेड पनि हुन् भनेर दाबी गरिएको छ।
४. खालिद
खालिदको उपनाम अबु अकाशा रहेको समाचारमा उल्लेख छ। उनको आबद्धता लश्कर-ए-तइबामा रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ। अफगानिस्तानबाट हतियार तस्करी गरी जम्मू-कश्मिरमा धेरै आतंकवादी आक्रमणमा उनको संलग्नता रहेको दाबी गरिएको छ।
बुधबार उनी मारिएपछि फैसलावादमा अन्त्येष्टि भएको र त्यहाँ पाकिस्तानी सेनाका वरिष्ठ अधिकारी र फैसलावाद उपआयुक्त सहभागी थिए भनेर हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ।
५. मोहम्मद हसन खान
मोहम्मद हसन खानको आबद्धता जैश-ए-मोहम्मदमा रहेको भनिएको छ। उनी पाकिस्तान-नियन्त्रित कश्मीरमा जैश-ए-मोहम्मदका सञ्चालक कमान्डर मुफ्ती असगर खान कश्मीरीका छोरा रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ। जम्मु र कश्मीरमा अप्रिल २२ मा भएको आतंकवादी हमलाको समन्वय गर्न उनले भूमिका खेलेको दाबी गरिएको छ।