उच्च अदातलले तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–११ मोतीपुरस्थित बबई नदीमा हुँदै आएको मोटरबोट सञ्चालकसहित उपमहानगरपालिकालाई १५ दिनमा कारण पेस गर्न आदेश गरेको छ।
तुलसीपुरको मोतीपुरस्थित बबई नदीमा चैतको अन्तिम सातादेखि सुरू भएको मोटर बोटिङ रोक्न स्थानीय प्रशासनले लिखित आदेश जारी गरेकै दिन मंगलबार बेलुकी अदालतले सञ्चालक र उपमहानगर समेतलाई विपक्षी बनाई १५ दिनभित्र निवेदकको माग बमोजिम आदेश किन जारी नगर्नु पर्ने हो? त्यसको कारणसहित उपस्थित हुन भनेको हो।
उच्च अदातलका न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले निवेदकको माग बमोजिम परमादेश आदेश जारी हुनु नपर्ने कुनै आधार, कानुन र प्रमाण भए सो समेत खुलाई पेस गर्न भनेको हो।
तुलसीपुर–११ युवा रोहित न्यौपानेले अनधिकृत रूपमा बबईमा अस्थायी प्रकृतिको बाँध बाँधेर असम्बन्धित ठाउँबाट कुनै अनुमति नलिई मोटरबोट सञ्चालन गर्दै आएको हुँदा त्यो रोकिनु पर्ने माग गरेका थिए। त्यसमाथि निवेदकको तर्फबाट अधिवक्ताहरू रिबन्द्रकुमार धिताल, कुष्णबहादुर डाँगी, कुलबहादुर डाँगी र मानबहादुर विष्टले बहस गरेका थिए।
त्यो बहसपछि उच्च अदालतले बाटोको म्यादबाहेक १५ दिनभित्र विपक्षी ४ र ५ को हकमा उच्च सरकारी वकिल कार्यालय तुलसीपुरमार्फत् र अन्यको हकमा आफू स्वयम् वा कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जबाफ पेस गर्न भनिएको छ।
अदालतले निवेदकले उठाएको विषयवस्तु सार्वजनिक सरोकारको रहेको हुँदा त्यसको गाम्भीर्यता समेतलाई विचार गर्दा प्रस्ततु निवेदन चाँडो निरूपण हुने प्रकृतिको देखिएकोले निवेदनलाई अग्राधिकार प्रदान गरिएको कुरा पनि उल्लेख छ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले मंगलबार लिखित रूपमा आदेश जारी गर्दै तुलसीपुर उपमहानगरपालिका–११ मोतीपुरस्थित बबई नदीमा आवश्यक प्रक्रिया पूरा नगरी हुँदै आएको मोटरबोट सञ्चालन रोक्न आदेश दिएका थिए।
लिखित आदेश जारी गर्दै प्रजिअ लम्सालले कानुन बमोजिमका प्रावधानहरू पूरा नगर्दासम्म बबईमा डुंगा नचलाउन भनेका थिए।
केही व्यक्तिहरूले मोतीपुरस्थित बबई नदीमा अवैध रूपमा अस्थायी बाँध बाँधी पानीको बहाब रोक्ने काम गरेको प्रजिअले उल्लेख गरेका थिए। प्रचलित कानुन बमोजिम पर्यटन विभागबाट व्यवसाय दर्ता नगरी मोटरबोट सञ्चालन गरेको पाइएको प्रशासनले जनाएको छ।
जलयात्रा नियमावली २०६३ तथा पर्यटन उद्योग प्रवाह निर्देशिका, २०६३ एवं प्रचलित कानुन बमोजिम प्रावधानहरू पूरा नगरेको उल्लेख गरेका छन्।
मोतीपुरस्थित बबई नदीमा एकाएक सञ्चालन गरिएको मोटरबोट नचलाउन त्यसअघि पनि मौखिक रूपमा पटक/पटक नीतिगत सर्तहरू पालना गर्न निर्देशन दिइएको भए पनि त्यसको बेवास्ता हुँदै आएको प्रजिअले उल्लेख गरेका थिए।
मोटरबोट सञ्चालन पछि नजिकैको झोलुङ्गे पुलमा अत्यधिक भिडभाड हुनुले र्गा पुल जोखिममा परेको, स्थानीय कृषकको पानी सिँचाइमा असर परेको जस्ता कारणहरू देखाउँदै प्रजिअ लम्सालले बोटिङ रोक्न आदेश जारी गर्नु परेको बताएका थिए।
यो पनि:
मोतीपुर–बबईको बोटिङ रोक्न आदेश