नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरू गरेका छन्।
प्रवक्ता महत यस अभियानका लागि मंगलबार सप्तरी पुगेका थिए।
मंगलबार नै उनले कांग्रेस सप्तरी कार्यालयबाट हुलाकी राजमार्गकेन्द्रित अभियान सुरू गरेका हुन्।
तराई-मधेसका जिल्लामा हुलाकी राजमार्गकेन्द्रित रहेर उनले अन्तर्क्रियालगायत कार्यक्रम गर्नेछन्। गाउँ तहका नेता कार्यकर्ता र केन्द्रीय नेताहरूबीचको सम्बन्ध बलियो बनाउन भन्दै महतले अन्तर्क्रिया थालेका हुन्।
सप्तरी क्षेत्र नम्बर १ का कार्यकर्तासँग अन्तर्क्रियामा बुधबार उनले पार्टीका नेता कार्यकर्ताहरू काममा जुट्नुपर्ने र कामबाट नै परिचित हुनुपर्नेमा जोड दिए।
‘नेता कार्यकर्ताले कामबाट नै परिचय खोज्नुपर्यो, यो परम्परा हामीले थाल्नुपर्यो,’ उनले भने।
प्रवक्ता महतले जिल्लास्थित नेता कार्यकर्ताहरूले उठाएका जिज्ञासामा केन्द्रित रहेर जबाफ पनि दिए।
‘हामीमा पनि कमीकमजोरी होला, अरूको तुलनामा कांग्रेस पार्टी राम्रो छ भनेर गर्व गर्नुहोस् न,’ उनले भने, ‘जब तपाईं कुनै विषयमा गर्व गर्नुहुन्न भने तपाईंले संगठन गर्न सक्नुहुन्न।’
पार्टीभित्र रहेका कमजोरीलाई पार्टीका सम्बन्धित निकायहरूबाट नै सुधार गर्दै लगिने पनि उनले बताए।
उनले पार्टीको १५ औं महाधिवेशन आउन समय लाग्ने पनि बताए।
‘आउँदो मंसिरमा अधिवेशन हुनेवाला छैन किनभने त्यसको तयारी नै भएको छैन। सधैं एक वर्ष त कार्यकाल थप गर्ने नै गरेको छ, थपिन्छ,’ महाधिवेशनकेन्द्रित अभियानमा नेताहरूले दौडाहा गरिरहेकोप्रति लक्ष्य गर्दै महतले भने, ‘अहिलेदेखि नै म हो, म हो भनेर कहिँ पुगिँदैन। त्यसले विभाजन मात्र गर्छ, म यहाँ आएर मलाई समर्थन गर्ने को को हुन सक्छन् भन्यो भने त्यसले पार्टीलाई झन् कमजोर बनाउँछ। चिनेजानेकै नेता अधिवेशनमा उठ्ने भएकोले समय आएपछि तयारी गरौं।’

पार्टी कमजोर भएर व्यक्ति मात्रै बलियो बनाएर नहुने उनले बताए।
‘प्रचार व्यक्तिको बारेमा होइन, पार्टीको बारेमा गर्ने हो। पञ्चायतजस्तो व्यक्तिगत चुनाव लड्ने प्रणाली त होइन, पार्टीकै सिद्धान्त र विचार पो राख्नुपर्छ,’ उनले भने।
उनले १५ औं महाधिवेशनमा आफू के पदमा उठ्ने भन्ने घोषणा गर्ने बेला नभएको बताए।
तर प्रवक्ता महत सभापति पदका लागि आकांक्षी छन्। उनले गत फागुन ३ गते चितवन पुगेर पार्टीको नेतृत्वका लागि आफू कुनै पनि कोणबाट कम नरहेको बताएका थिए।
प्रवक्ता महतसँगै हुलाकी राजमार्गकेन्द्रित अभियानमा केन्द्रीय सदस्य दिनेश यादव, मदनकृष्ण श्रेष्ठ, उर्मिला केसी नेपाललगायत नेताहरू पनि सहभागी छन्।
प्रवक्ता महतसहित नेताहरू मधेसका ८ वटै जिल्लाका विभिन्न ठाउँ पुगेर अन्तर्क्रिया गर्नेछन्।
यो पनि:
कांग्रेस नेतृत्वका लागि कुनै पनि कोणबाट आफूलाई कम ठान्दिनँ : प्रकाशशरण महत
देउवा नखुलेपछि आफै अघि बढ्ने उनीनिकट नेताहरूको प्रयास
देउवाको वचन नपाएपछि ११-भाइ नेता ‘पानी नाप्न’ आफै जिल्ला दौडाहामा
अबको सभापति को हो भन्दै देउवाकहाँ पुगे कांग्रेसका नेताहरू