राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वैशाखमै पहिलो महाधिवेशन हुने बताएका छन्।
पार्टीको जिम्मेवारीमा फर्किएपछि सोमबार केन्द्रीय समितिमा बोल्दै राष्ट्रिय परिषद्को पहिलो बैठकले तय गरेको मिति (२०८२ वैशाख २५, २६, २७) मै महाधिवेशन हुने बताएका हुन्।
उनले त्यहीअनुसार तयारी गर्न निर्देशन पनि दिए। यद्यपि महाधिवेशनका लागि गर्नुपर्ने आधारभूत कामसमेत पार्टीले गरेको छैन। अहिलेसम्म ७५३ मध्ये ५ पालिकामा अधिवेशन गरेको छ।
‘मैले के गर्नुपर्छ भन्नुस्। १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौं किलोमिटर हिँड्न तयार छु,’ लामिछानेले भनाइ उद्धृत गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेलाबाट घोषणा गरेकै समयमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने प्रतिबद्धता सहितको निर्देशन दिन चाहन्छु।’
उनले अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ हैन राष्ट्रिय स्वतन्त्र पार्टी नभएको र यो देश बनाउनको लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी भएको बताए।
सभापति लामिछानेले गणतन्त्र भनेको 'ओली तन्त्र र देउवा तन्त्र' नभएको बताए। ‘गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौं,’ उनले भने। उनले गणतन्त्रमा पनि सुधार आवश्यक रहेको औंल्याए।
‘यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्छ, दिएको छ। केही पास भएको छ, केही फेल भएको छ। हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि र यसलाई पास गराउन अब हामी नेतृत्व लिनेछौं,’ उनले भने।
उनले यो सबैको लागि आफू संगठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जाने बताए। उनले यसका लागि सबैलाई तयार रहन निर्देशन पनि दिए।