राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको विरोधमा गरिने शान्तिपूर्ण आन्दोलनमा पार्टीको नेतृत्व र ऐक्यबद्धता रहने सार्वजनिक रूपमै बताएको छ।
सरकारले गत सोमबार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेपछि सरकार अझ बढी बिचौलिया पोस्न उद्यत् बनेको रास्वपाको निष्कर्ष छ।
त्यसैले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विरोधमा हुने शान्तिपूर्ण गतिविधिहरूमा पार्टीको ऐक्यबद्धता रहने रास्वपाको धारणा छ।
शुक्रबार समाजवादी मोर्चाले सरकारको बेथिति एवम् भ्रष्टाचार तथा राजसंस्था पुनर्स्थापना पक्षधरहरूको गतिविधिविरूद्ध प्रदर्शन गर्दैछन्। समाजवादी मोर्चा घटक नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टीले प्रदर्शनको तयारी गरेका हुन्।
सरकारको विरोधमा हुने शान्तिपूर्ण कार्यक्रममा सरिक हुने बताइरहँदा रास्वपाचाहिँ समाजवादी मोर्चाको कार्यक्रममा जान्छ कि जाँदैन भनेर हामीले पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सोध्यौं।
उनले पार्टीले यसबारे कुनै औपचारिक निर्णय नलिइसकेको जानकारी दिए।
रास्वपाको दिनहुँजसो पदाधिकारी तहका नेताहरूबीच अनौपचारिक छलफल हुने गरेको छ। शुक्रबार पनि अपराह्नपछि दैनिक घटनाक्रमबारे कुराकानी हुने बुर्लाकोटीले बताए।
बिहीबार हुने छलफलमा शुक्रबार काठमाडौंमा हुने संविधान र गणतन्त्र पक्षधर तथा व्यवस्था विरोधीहरूको प्रदर्शनबारे छलफल हुने सम्भावना उनले व्यक्त गरे।
तथापि अहिलेसम्मको परिस्थिति विश्लेषण गर्दा पार्टी समाजवादी मोर्चाले आह्वान गरेको कार्यक्रममा सहभागी हुने सम्भावना नरहेको उनले बताए।
‘यो समाजवादी विचारधारा बोक्ने पार्टीहरूको प्रदर्शन हो। त्यस मोर्चामा रहेका कतिपय दलले पार्टीको नाममै समाजवादी राख्नुभएको छ। उहाँहरूको कार्यक्रम हो त्यो। त्यहाँ जानेबारे हामीले औपचारिकरूपमा कुनै निर्णय गरेका छैनौं। पार्टीमा छलफल पनि भएको छैन,’ उनले भने।
२०६५ जेठ १५ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह गद्दिच्युत भएपछि पनि उनी कुनै न कुनै नाममा सक्रिय रहेको उनको बुझाइ छ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सुषुप्त अवस्थामा रहेका राजसंस्था पक्षधरहरूको संख्या केही बढेको र जागृत मात्रै भएकाले अहिले नै आत्तिइहाल्नु पर्ने अवस्था नरहेको उनले बताए।
‘सरकारको कार्यशैलीबाट समाजमा असन्तुष्टि नैराश्यता छ। मानिसहरू रूष्ट भएका छन्। त्यसको प्रतिक्रिया पनि हो। हामीले आत्तिइहाल्नुपर्ने अवस्था देखेका छैनौं,’ उनले भने, ‘त्यसकारण हामीले धारणा बनाइसकेका छैनौं।’
उनले व्यवस्था होइन अवस्था बदल्ने पार्टीको मूलनीतिअनुरूप नै अहिले तरंगित नभएको र पार्टी अभियानमा निरन्तर लागि परेको बताए।
‘हामीले हिजोदेखि भन्दै आएको राज्यको चार पिलरको अवधारणा क्रमशः सेवा प्रवाह, सुशासन, लोकतन्त्र र लोककल्याणकारी राज्य हो। यसलाई पार्टीको राजनीतिक दस्तावेजमा उल्लेख पनि गरेका छौं। यसप्रति हामी प्रतिबद्ध छौं,’ उनले भने।
उनले लोकतन्त्रको लामो बाटो हिँडेसकेको मुलुक पछाडि फर्कन नसक्ने र यसलाई समृद्ध बनाउँदै लोककल्याणकारी राज्यको अवधारणाअनुरूप अघि बढ्नुपर्ने बताए।
प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले बुधबार राखेको विपक्षी दलहरूको बैठकमा भने रास्वपा सहभागी भएको थियो।
यो पनि:
प्रचण्डले रास्वपा कार्यवाहक सभापति र उपसभापतिलाई सोधे गणतन्त्रप्रतिको धारणा