नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का लागि पछिल्लो समय ‘मर्निङ वाक’ पार्टी कामकै एउटा हिस्सा जस्तो बनिरहेको छ।
माओवादी केन्द्रका कार्यकर्ताहरूले उनको ‘मर्निङ वाक’ लाई पनि ‘कार्यक्रम तालिका’ भित्रै राखेर प्रचार गरिरहेका हुन्छन्। त्यसैले विराटनगर आउँदा होस् अथवा झापा पुग्दा, दलबलसहित सडकमा उनको बिहानी मार्चपास चल्दै आएको छ।
त्यसो त यस्तो दृश्य सिन्धुपाल्चोकतिर पनि देखिएको छ। अर्थात् उनी काठमाडौं छाडेर जुन जिल्ला पुग्छन्, त्यहाँ उनले स्थानीय कार्यकर्तासहित ‘प्रातः भ्रमण’ छुटाउँदैनन्।
‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ नामक हुलाकी राजमार्ग केन्द्रित कार्यक्रमका लागि पूर्व आएका उनले पछिल्लो तीन दिन झापा–मोरङमा बिताए।
बुधबार दिउँसो केहीबेरका लागि काठमाडौं पुगेका उनी साँझ विराटनगर फर्केर अभियानमा फेरि जोडिनेछन्।
झापामा हुँदा सोमबार बिहानको उनको ‘मर्निङ वाक’ विशेष थियो।
विशेष यसर्थ कि, त्यस बिहान उनले झापाको पृथ्वीनगरमा ‘मर्निङ वाक’ गर्दा उनको दायाँबायाँ दुई उपमहासचिवहरू जनार्दन शर्मा र वर्षमान पुन साथैमा थिए।
प्रचण्ड पछाडि पार्टीमा आ–आफ्नो गुट चलाइरहेका शर्मा र पुनमध्ये जनार्दन त्यस्ता नेता हुन्, जसले प्रचण्डलाई लामो समयदेखि पार्टीभित्र निरन्तर हाँक दिइरहेका छन्।
त्यसो त त्यो मर्निङ वाकमा नेता शक्ति बस्नेत पनि सँगै थिए। बस्नेत तिनै नेता हुन्, जसले अखिल क्रान्तिकारीको चुनावमा सम्भवतः संस्थापनकै निर्देशनमा आफ्नो नयाँ गुट जन्माएका थिए। जनार्दन शर्माको पल्ला भारी देखिएपछि अखिल क्रान्तिकारीमा प्रचण्डले नयाँ गुट जन्माउने अनुमति बस्नेतलाई दिएको बताउने माओवादी नेताहरू थुप्रै छन्।
यी तीनै जना नेतालाई दायाँबायाँ राखेर प्रचण्डले मर्निङ वाकका क्रममा खिचाएको फोटो माओवादी कार्यकर्ताहरूका लागि उत्साह सञ्चार गर्ने माध्यम बन्यो।
जनार्दन र प्रचण्ड एकैठाउँ आइपुगेको भन्दै कार्यकर्ताहरूले सामाजिक सन्जालमा खुसी प्रकट गर्दै थिए। उनीहरूले त्यसो गरेको केही घन्टा नबित्दै झापा बनियानीको कार्यक्रममा जनार्दनले आफ्नो सदाबहार शैली देखाइहाले। प्रचण्डप्रतिको आलोचनात्मक टिप्पणी उनले जागरण अभियानको मञ्चमा पनि उही बलले दोहोर्याए।
गएको पुसमा सम्पन्न पार्टी केन्द्रीय समिति बैठकमा जनार्दनले अध्यक्ष प्रचण्डले पनि निर्वाचनबाट चुनिने आँट देखाउनुपर्ने भन्दै हाँक दिएका थिए।
केन्द्रीय कमिटी बैठकमा जनार्दनले भनेका थिए ‘हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्डले ३५ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आउनुभयो। महाधिवेशनबाट नेतृत्व चुन्ने विधिमा जाऔं, उहाँले पनि चुनिएर अध्यक्ष हुने मौका पाउनुहुन्छ।’
केन्द्रीय समिति बैठकमा मात्रै होइन, पार्टीका बहुसंख्यक मञ्चहरूमा जनार्दनले प्रचण्डप्रतिको असन्तोष निर्धक्क राख्दै आएका छन्। त्यही शैलीमा झापामा पनि उनले ‘नेतृत्वको रूपान्तरण जरूरी रहेको’ विषयमा जोड दिएका थिए।
उनले झापामा भनेका थिए ‘माओवादी नेतृत्वको यो टिमले आफूले आफैलाई रूपान्तरण गर्नुपर्छ । बदल्नु छ। बदल्न सक्ने होइन भने जनताको आवाजको नेतृत्व माओवादी केन्द्रले गर्न सक्दैन।’
जनार्दनले बोलेको केहीबेरपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बोल्दाबोल्दै रिसाएर माइक छाडेका थिए। प्रचण्डलाई उनीहरू दुई जनाको विषयमा प्रष्टीकरण दिन असहज भएको प्रष्ट देखिन्थ्यो।
त्यहीबेला प्रचण्डले भनेका थिए ‘खासमा कार्यक्रममा सबैले बोल्ने सेड्युल थिएन। तर, पदाधिकारी सबैले बोल्दा पार्टीका तर्फबाट राम्रो सन्देश जाने भएरै सबैलाई बोल्न दिऊँ भनेर मैले नै भनेको हुँ। पार्टीमा अहिले केही समस्या छैन।’
यही कुरा प्रचण्डले झापाकै अरू कार्यक्रममा र मोरङमा पनि लगातार भनिरहेका छन्। ‘यतिबेला हाम्रो पार्टी एकताबद्ध छ, पार्टीभित्र नेताहरूबीच कुनै समस्या छैन’ भन्दै उनले दोहोर्याइ–तेहेर्याइ एकै कुरा भनिरहेका छन्।
जागरण अभियानले आफूलाई र पार्टीलाई ज्यादै उत्साही तुल्याएको दाबी गरिरहेका प्रचण्ड किन बारम्बार पार्टीभित्रको समस्याबारे आमसभाहरूमै प्रष्टीकरण दिइरहेका छन्? के उनी पार्टीभित्र कुनै ‘थ्रेट’ महससुस गरिरहेको अवस्थामा पुगेका हुन्?
हामीले यसबारे स्वयम् प्रचण्ड र माओवादीकै नेताहरूलाई पनि सोधेका छौं। माओवादी केन्द्रीय कमिटी सदस्यसमेत रहेका कोशी संसदीय दलका नेता इन्द्र आङ्बो पछिल्लो केन्द्रीय कमिटी बैठकपछि पार्टीभित्र फरक मतले सम्मानपूर्वक स्थान पाउने संस्कार बसेको र सोही अनुसार बहस चलिरहेको तर त्यसलाई अरूले गलत बुझेको दाबी गर्छन्।
‘गएको केन्द्रीय समितिभन्दा अगाडिसम्म कमरेड जनार्दन शर्माले मूल नेतृत्वको प्रश्नमा हैन, विचार, कार्यदिशाका प्रश्नमा होइन, तर कार्यशैली, विधि प्रक्रिया र पार्टीभित्रको लोकतान्त्रीकरणको हिसाबले फरक प्रस्ताव लेख्नुभयो। त्यसपछि यसबारे सातै प्रदेशमा छलफल पनि भयो,’ उनले भने, ‘यी सबै कुरालाई लिएर केन्द्रीय समितिमा पार्टीको लोकतान्त्रीकरणको कुरा, विधि पद्धतिको कुरा लिएर अनुशासन र पारदर्शीतासहित रूपान्तरणको कुरा ठीक हो र अब 'सेन्टर टु लेफ्ट' कार्यदिशा अवलम्बन गरियो भनेर अध्यक्षले नै भनिसक्नुभएको छ। मूल नेतृत्व र कार्यदिशा र विचारमा कहीँ विमति होइन। हाम्रो पहिलो नेता प्रचण्ड नै हो। पार्टी एकै ठाउँमा छ। तर, ती उठाएका प्रश्नहरू डकुमेन्टमा आए पनि कार्यान्वयनमा गएको छैन। पार्टी व्यक्तिले होइन, विधि र प्रणालीका आधारमा चल्नुपर्यो भन्ने विषयमा बहस हुँदै जान्छ। यही बहसले बाहिर तरंग ल्याउँछ, अरू केही होइन।’
प्रचण्डले बारम्बार ‘पार्टीभित्र समस्या छैन’ भन्दै प्रष्टीकरण दिनुपर्ने अवस्था किन आयो? भन्ने प्रश्नमा आङ्बो थप्छन्, ‘मूल नेतृत्वको विषयको प्रश्नमा आधारभूत भिन्नता छैन। तर, बहसका कुरा बाहिर आइरहँदा केही नै भयो कि भन्ने भान परेको मात्रै हो।’
उनका अनुसार माओवादीमा फरक मत राख्नेले पार्टी फुटाइहाल्छन् भन्ने र फरक मत राख्ने बित्तिकै दमन हुन्छ भन्ने भाष्य स्थापित रहेको छ।
‘पछिल्लो केन्द्रीय समितिपछि फरक मतको सम्मान हुन्छ भन्ने संस्कारको विकास भएको छ,’ उनले दाबी गरे, ‘त्यसैले अहिले बाहिर तरंग भएको मात्रै हो। भित्र केही समस्या छैन।’
कोशी प्रदेशबाटै माओवादी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने जनार्दन शर्मानिकट एक सदस्यले अध्यक्ष प्रचण्डले भाषणैपिच्छे यसो भनेर पार्टीमा आन्तरिक लोकतन्त्र बलियो हुनुपर्ने र त्यसका लागि सबै कमिटीका नेताहरू चुनिएर आउनुपर्ने माग निरन्तर गरिरहेका उपमहासचिव जनार्दन शर्मातिर लक्ष्य गर्न खोजेको बताउँछन्।
‘उहाँले आठौं महाधिवेशनदेखि नै उठाउँदै आएको विषय नै यही हो,’ ती नेताले भने, ‘अध्यक्ष प्रचण्डको कार्यशैली र पार्टी सञ्चालन विधिमाथि प्रश्न उठाउने शर्माको कदमलाई अध्यक्षले पार्टीभित्रको समस्याको रूपमा व्याख्या गर्ने गर्नुभएको छ। यसपटक समस्या भनेर उहाँले संकेत गरेको पनि त्यतैतिर हो।’
हुन पनि झापाबाट सोमबार सुरू भएको ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ नामक हुलाकी राजमार्गकेन्द्रित कार्यक्रमका लागि माओवादीले मुख्यतः पाँच वटा लक्ष्य निर्धारण गरेको बताइरहेको छ। प्रष्टतः पाँच वटा राजनीतिक लक्ष्य तय गरेर अभियान चलाइरहेका अध्यक्ष प्रचण्डको ऊर्जा भने ‘अहिले पार्टीभित्र कुनै समस्या नरहेको’ प्रष्टीकरण पेश गर्नमै बढ्ता खर्च भइरहेको देखिन्छ।
पहिलो दिन झापाका विभिन्न ठाउँमा कार्यक्रम गरेर अघि बढेको अभियानले मोरङमा पनि दुई दिन बिताइसकेको छ। अध्यक्ष प्रचण्डसहितका सबै शीर्ष नेता अभियानमा सहभागी छन्। अभियानको तेस्रो दिन पूरा हुँदै गर्दा अभियानको घोषित लक्ष्यबारे भन्दा ‘पार्टीका नेताहरूबीच कुनै समस्या नरहेको’ प्रष्टीकरण प्रचण्डले धेरैपटक दोहोर्याइसकेका छन्।
हुलाकी राजमार्गकेन्द्रित अभियानका लागि माओवादीले निर्धारण गरेका पाँच प्रमुख लक्ष्यहरू भने राष्ट्रिय राजनीतिका मुद्दासँग सम्बद्ध छन्।
मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्ने माओवादी अभियानका मुख्य लक्ष्यहरू हुन्।
यस्तो लक्ष्य हुँदाहुँदै पनि झापा र मोरङका धेरैजसो कार्यक्रममा प्रचण्डले नछुटाई जोड दिएको विषय भने, ‘पार्टीभित्र समस्या नभएको’ भन्ने नै रहेको छ। उनले सबैजसो कार्यक्रममा यसबारे व्याख्या दिँदै आएका छन्।
अभियानको एउटा प्रमुख लक्ष्यमा भनिएझैं माओवादी अभियानले ‘जनताबाट सुझाव संकलन गर्ने’ कामलाई धेरै प्राथमिकता दिएको छैन।
अभियानका क्रममा प्रचण्डसहितका नेताहरू स्थानीय कार्यकर्ताका घर भने पुगिरहेका छन्। सामूहिक रूपमा ज्ञापनपत्र ग्रहण गर्ने काम भइरहेको नेताहरू बताउँछन्।
‘जनतासँग तल्लो कमिटीले प्रत्यक्ष संवाद गर्ने हो शीर्ष तहले त्यसो गर्न यसपटक भ्याइएन’ भन्दै जिल्ला तहका नेताहरूले जबाफ दिने गरेका छन्।
यसैक्रममा अभियानको तेस्रो दिन बुधबार बिहान प्रचण्ड विराटनगरमा पत्रकारहरू माझ उपस्थित थिए। पत्रकार सम्मेलनमा उनले अभियानले आफूलाई उत्साही तुल्याएको बताउन भुलेनन्।
‘यो तीन दिन निकै नै उत्सावर्द्धक रह्यो,’ प्रचण्डले भने ‘झापा र मोरङमा अलिकति झल्को मैले ०६४ कै पाएको छु।’
यसो भनिरहँदा प्रचण्डको अनुहारमा उत्साहको झल्को प्रष्ट देखिन्थ्यो।
२०६४ मा भएको संविधान सभाको पहिलो निर्वाचनमा माओवादीले झापा र मोरङमा मात्रै नभई देशैभरी अनपेक्षित चुनावी सफलता हात पारेको थियो।
झापा, मोरङ र सुनसरीका कूल २२ निर्वाचन क्षेत्रमध्ये माओवादी एक्लैले १० क्षेत्रमा जित हात पारेको थियो। झापामा ५ वटा, मोरङमा ४ र सुनसरीमा १ गरी त्यसबेला १० सिट जितेको थियो। प्रचण्डले अभियानका क्रममा झापा र मोरङमा त्यसबेलाको जस्तै जनलहर देखिएको बताएका हुन्।
उनले यसो भनेपछि पत्रकार सम्मेलनमा सेतोपाटीले प्रचण्डलाई सोधेको थियो, ‘अभियानले उत्साही छु पनि भन्नुहुन्छ अर्कातिर भएभरको ऊर्जा चाहिँ पार्टीभित्र कुनै समस्या नरहेको भन्ने प्रष्टीकरणमा खर्चिरहनुभएको छ नि?’
जबाफमा प्रचण्डले प्रश्नलाई ठाडै नकारे। अनि भने ‘त्यस्तो होइन। एक दुई ठाउँ मैले त्यसो भनेकै हो। तर, पूरै ऊर्जा लगाएको चाहिँ होइन। त्यो सत्य होइन।’
औपचारिक रूपमा प्रचण्डले यो विषय अस्वीकार गरे पनि उनीसँगै अभियानमा हिँडिरहेका नेताहरूलाई नै लागिरहेको छ, उनले यही विषयमा धेरै जोडबल लगाइरहेका छन्।
‘आफूभन्दा तलका नेताहरूलाई गुट बनाउन छुट दिने अनि तिनै गुटमा खेलेर आफूले (पार्टी सत्तामा) निरन्तर दाइँ गरिरहने प्रचण्डको सदाबहार शैली हो,’ माओवादी केन्द्रीय समितिका एक सदस्यले भने, ‘उनले पार्टीभित्र कुनै समस्या छैन भनेर बारम्बार प्रष्टीकरण दिनु पनि त्यही खेलको एक हिस्सा हुन पनि सक्छ। पार्टीभित्रको अवस्थाले उनी त्रस्त भएको हुन पनि सक्छ।’
ती केन्द्रीय सदस्यको अनुमान मेल खाने गरी बुधबारको पत्रकार सम्मेलनमा प्रचण्डले एउटा त्रास भने लुकाएनन्।
उनी २०८४ को निर्वाचनमार्फत् माओवादी सबभन्दा ठूलो पार्टी बनेर उदाउने दाबी गर्दैथिए। मंसिरमा सम्पन्न स्थानीय तहको ‘उपनिर्वाचनको नतिजा र अहिले अभियानमा जनताले माओवादीप्रति देखाएको लगाव’ ले त्यो देखिएको दाबी उनको थियो।
‘यही उपनिर्वाचनमा कांग्रेस र एमाले दुईटैलाई हामीले जित्यौं नि,’ प्रचण्डको दाबी थियो ‘२०६४ मा हामी ठूलो भएका थियौं। विभाजन भयो, झगडा भयो, तगडा भयो, ७० मा अर्का आए। यहाँ कहाँ स्थिरता छ र , माओवादी फेरि नआउने भन्ने छ?’
उनले थपे ‘यो पटक माओवादीलाई जिताएर मात्रै यो देशमा स्थायीत्व पनि हुन्छ, सुशासन पनि हुन्छ भन्ने कुरा जनताले बुझिसकेका छन्। हेर्नुहोला, तपाईंहरूकै आँखाअगाडि अहिलेको लहर देखिया छ नि, यो लहर हाम्ले बचाउन सक्यौं भने, ..अब हामीभित्रै समस्या भयो भने त एउटा कुरा हो। तर, त्यो समस्या हुनेवाला पनि छैन। यो लहर हामीले लिएर (अगाडि) जाँदा हामी एक नम्बर पार्टी हुन्छौं भन्ने कन्फिडेन्सका साथ हिँडेका छौं।’
०८४ मा पहिलो पार्टी बनाउने आत्मविश्वाससहित अघि बढेको बताउने प्रचण्डलाई विगतका विभाजनले तर्साउन नछाडेको उनको अभिव्यक्तिबाटै बुझिन्छ। त्यसैले उनले खुस्काइहाले ‘अब हामीभित्रै समस्या भयो भने त एउटा कुरा हो।’ तर, बोलेका कुरा बोलेरै सच्याइहाल्न माहिर नेता उनले तत्कालै सच्याइ पनि हाले ‘तर, त्यो समस्या हुनेवाला पनि छैन।’
माओवादी नेताहरूका अनुसार पछिल्लो समय प्रचण्ड उपमहासचिव जनार्दन शर्मासँग संशकित भएका हुनसक्छन्।
‘विगतमा फरक मत राख्ने जति सबैजसो नेताहरू पार्टी फुटाउँदै, हिँड्दै गरे, हाम्रोमा ‘ट्रेन्ड’ नै त्यस्तै बस्यो,’ माओवादीका एक नेताले भने, ‘त्यति तितो अनुभवले अहिले पनि त्रस्त पार्नु अस्वाभाविक होइन। त्यस्तो अवस्था छैन, आउँदैन भनेर अध्यक्षले सबैलाई आश्वस्त पार्न खोज्नुलाई अन्यथा मान्न हुँदैन।’