नेकपा (एमाले) ले पार्टी र नेतृत्वका विरूद्ध चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको बताएको छ।
एमालेले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै सामाजिक सञ्जालका माध्यमबाट पार्टीलाई कमजोर बनाउने उद्देश्यका साथ साइबर हमला निरन्तर जारी राखिएको उल्लेख गरेको हो।
‘पार्टीले प्रचारको कामलाई व्यवस्थित गर्ने योजना बनाएको भए पनि उद्देश्यअनुरूप काम अघि बढ्न सकेको छैन। अब सिंगो पार्टी पंक्तिले सामाजिक सञ्जालका माध्यमबाट पार्टी र पार्टी नेतृत्वका विरुद्धमा फैलाइएका मिथ्या र भ्रमपूर्ण प्रचारको दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ,’ एमालेले जारी गरेको निर्देशनमा भनिएको छ, ‘पार्टीका नीति, कार्यक्रम र योजनाको प्रभावकारी ढंगले सामाजिक सञ्जालका माध्यमबाट समेत सम्प्रेषण गर्नुपर्दछ। त्यसका लागि पालिका तहसम्म नै प्रचार डेस्क तयार गरी काम अघि बढाउनु पर्छ।’
त्यस्तै मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनका क्रममा देखिएको प्रवृत्तिलाई समेत ध्यानमा राखेर सबै तहका जनप्रतिनिधिहरूले प्रचारको काममा विशेष ध्यान दिनुपर्ने एमालेको भनाइ छ।
पार्टीको नेतृत्वका र सहभागिताका सबै तहका सरकारले गरेका राम्रा र नमूनायोग्य कामलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्न पनि एमालेले निर्देशन दिएको छ।
‘पार्टीका विरुद्धमा घेराबन्दी र आक्रमण भइरहेका बेलामा राम्रो काम गरेर मात्र पुग्दैन र राम्रो काम गरेको प्रत्यक्ष अनुभूति गराउने गरी प्रचारात्मक कामलाई अघि बढाउनु पर्छ,’ एमालेले भनेको छ।
यतिबेला आमरूपमा पार्टीको संगठनात्मक काममा तीव्रता आएको एमालेको ठहर छ। पार्टीका बैठक र पार्टी कमिटीबाट आयोजना गरिएका कार्यक्रमहरूमा सहभागिता उल्लेख्य रहेको उसले बताएको छ।
‘पार्टीमा आउन चाहनेहरूले सम्पर्क र सम्बन्ध पनि बढाइरहेका छन् तर व्यवस्थापनका जटिलताले पार्टी प्रवेशको अभियानमा समस्या देखिएको छ। प्रवेश गरेका अगुवाहरूको व्यवस्थापन हुन नसक्दा गुनासो पनि बढेको छ,’ एमालेले भनेको छ।
नेकपा अभियान चलाइरहेका राष्ट्रिय सभा सांसद वामदेव गौतम पनि एमालेमा आउन खोजिरहेका छन्। सचिवालय बैठकले पनि उनी नेतृत्वको अभियानसँग सहकार्य गर्ने बताइरहेका बेला एमालेले निर्देशनमार्फत् पार्टीमा प्रवेश गरेकाहरूको व्यवस्थापन जटिल भएको उल्लेख गरेको छ।
त्यस्तै अधिवेशनबाट बिदा भएका पुराना कार्यकर्ताको व्यवस्थापन चुनौतिपूर्ण बन्न पुगेको एमालेले बताएको छ। ‘सबै तहका अधिवेशनका प्रतिनिधिहरू अर्को अधिवेशन आयोजना नहुञ्जेलसम्म प्रतिनिधि परिषद्को सदस्य हुने वैधानिक व्यवस्थालाई कमिटीहरूले सही ढंगले आत्मसात गर्न नसक्दा पनि समस्या उत्पन्न भएको छ,’ एमाले समस्या उल्लेख गरेको छ।
पुराना र अनुभवी कार्यकर्ताको सम्मान र पार्टी निर्माणमा उनीहरूको सहभागिता जुटाउने कुरामा सम्बन्धित तहका कमिटीहरूको ध्यान पुग्न नसकेको भन्दै एमालेले ध्यानाकर्षण गराएको छ।