भीम रावलले आफूलाई संगठित सदस्यबाट हटाउने नेकपा (एमाले) सचिवालयको निर्णयलाई पार्टी कार्यकर्ताले विरोध गर्नेमा विश्वस्त रहेको बताएका छन्।
सामाजिक सञ्जालमा उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा विश्वस्त रहेको बताएका हुन्।
‘नेकपा (एमाले) को निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो,’ उनले भनेका छन्।
कतिपय भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमालेविरोधी एवं विचौलिया र दलालहरुलाई काखी च्याप्नेले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा आफूलाई आश्चर्य नलागेको उनको भनाइ छ।
‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ उनले भनेका छन्।
यसैबीच भीम रावलले नयाँ पार्टी खोल्ने तयारीमा रहेको उनीनिकटले जानकारी दिएका छन्।
रावल नयाँ पार्टी खोल्ने छलफलमा रहेको र केही दिनमै पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने उनीनिकट एकिन्द्र कुँवरले जानकारी दिए।
‘भीम रावल चलनचल्तीका कुनै पनि पार्टी प्रवेश गर्नुहुन्न। उहाँ आफ्नो विचार, सिद्धान्त बोकेर अघि बढ्नुहुन्छ,’ कुँवरले सेतोपाटीसँग भने, ‘एक–दुई दिनभित्रै पत्रकार सम्मेलनमार्फत् धारणा र आगामी कार्यदिशा सार्वजनिक गर्नुहुन्छ। उहाँ त्यसैको तयारीमा हुनुहुन्छ।’
पूर्व पार्टी उपाध्यक्षसमेत रहेका रावललाई बुधबार एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेतबाट हटाउने निर्णय गरेको थियो।
२०७९ को मंसिरमा चितवनमा सम्पन्न भएको एमालेको दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल अध्यक्षमा पराजित भएका थिए।
त्यसपछि उनी एमालेमा सक्रिय हुने वातावरण बनेको थिएन।
यसबीचमा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा रावलसँग संवाद गर्न एमालेले तीन सदस्यीय समिति बनायो। सचिव लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति बनाइए पनि एकपटक छलफल गर्नेबाहेक त्यसले काम गर्न सकेन।
२०८० साउन ३० गते अध्यक्ष केपी शर्मा ओलीले रावलसँग संवाद गरेका थिए। पार्टी कार्यालय च्यासलमा भएको त्यो भेटले रावल एमालेमा फर्किएर काम गर्ने वातावरण बनाएन।