जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले कोशी प्रदेशका नेकपा (एमाले) का सांसदसमेत रहेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनी छुटेका छन्।
उनले सरकारी वकिलसँगको बयानमा आफूलाई साथी गोपाल भन्ने योगराज गौतमले भनेपछि जापान जान तयार भएको बताएका छन्।
आयोजकले नै सबै खर्च बेहोर्ने भनेकाले आफू जान तयार भएको र उनैलाई राहदानी प्रदान गरेको सरकारी वकिल कार्यालयको बयानमा भनेका छन्।
‘लायन्स इनटरनेशनलको कार्यक्रममा बाहेक अन्य कार्यक्रमहरूमा भाग लिन जाँदा आयोजकले नै सबै खर्च व्यहोरेका हुँदा जापानमा हुने भनिएको कार्यक्रममा समेत मलाई आयोजकले नै सबै खर्च बेहोर्ने भनि गोपाल भन्ने योगराज गौतमले मलाई भनेकाले म सोहीअनुसार जापानमा गएको हुँदा मैले आयोजक कै खर्चमा जाने हो भने हुन्छ भनेको थिएँ,’ उनले भने, ‘सो कुराकानी भएको केही दिन पछि योगराज गौतमले मेरो राहदानी मागेकाले मैले मेरो राहदानी दिएको थिएँ।’
त्यसैगरी तीन जना प्रतिवादीलाई हङकङको ट्रान्जिटमा भेटेको र भेट्दा उनीहरूबाट कीर्ते गरिएका कार्ड फेला परेको पनि उनले बताएका छन्।
‘हामीहरूलाई समेत सँगै लानु भन्दा मैले म तपाईंहरूलाई चिन्दिनँ म एक्लै आएको हुँ भन्दा उनीहरूले कसरी चिन्नु हुन्न? हामी तपाईकै कर्मचारी हौं भनि जनक राईले म मन्त्री रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको कर्मचारी परिचय पत्रसमेत देखाए,’ उनले बयानमा भनेका छन्।
उक्त कार्डमा मन्त्रीलाई निमित्त कार्यालय प्रमुख बनाइएको थियो भने हस्ताक्षर किर्ते गरेको फेला परेको थियो। प्रहरीको रिपोर्टबाट पनि उनको हस्ताक्षर किर्ते गरिएको खुलेको थियो।
त्यसपछि उनले टोकियो पुगेर कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङ र डिआइजी राजन अधिकारीलाई मेसेज गरेको बताएका छन्।
यस्तो छ लिलाबल्लभ अधिकारीको बयान:
केही समयअगाडि मलाई मेरो छिमेकी रतुवामाई नगरपालिका स्थायी घर भएका मेरो पुरानो साथी गोपाल भन्ने योगराज गौतमले मलाई फोन गरी जापानमा एउटा राम्रो कार्यक्रम आयोजना हुँदैछ, आयोजककै खर्चमा जाने गरी पठाइदिन्छु भनेकाले म यसभन्दा अगाडि पनि वर्ल्ड युथ फेडेरेसनको आयोजनामा दक्षिण अफ्रिकाको जोहनेसवर्गमा भएको विश्व युवा सम्मेलनमा भाग लिई सकेको छु यस्तै गरी वर्ल्ड पिस काउन्सिलको आयोजनामा फिलिपिन्स, श्रीलंका समेतमा भएको कार्यक्रममा भाग लिइसकेको छु।
त्यस्तै गरी इन्टरनेशनल डेमोक्रेटिक लयर्स एशोसिएसनको आयोजनमा बेल्जियमको राजधानी व्रसेल्समा भएको सम्मेलन तथा अमेरिकाको लसभेगासमा लायन्स इनटरनेशनलको कार्यक्रममा समेत भाग लिइसकेको छु।
लायन्स इन्टरनेशनलको कार्यक्रममा बाहेक अन्य कार्यक्रमहरूमा भाग लिन जाँदा आयोजकले नै सवै खर्च व्यहोरेका हुँदा जापानमा हुने भनिएको कार्यक्रममा समेत मलाई आयोजकले नै सबै खर्च ब्यहोर्ने भनि गोपाल भन्ने योगराज गौतमले मलाई भनेकाले म सोहीअनुसार जापानमा गएको हुँदा मैले आयोजक कै खर्चमा जाने हो भने हुन्छ भनेको थिएँ।
सो कुराकानी भएको केही दिनपछि योगराज गौतमले मेरो राहदानी मागेकाले मैले मेरो राहदानी दिएको थिएँ। उनले राहदानी लगेपछिको कसलाई दिए र मेरो राहदानीमा जापानको भिसा लागेको भन्ने कुरा मलाई थाहा भएन।
मिति २०८१/०७/१० गते मलाई योगराज गौतमले फोन गरी तपाईको जापानको फ्लाइट भोलि बेलुकी ९ बजेको समयमा छ टिकेट मैले हिजो नै ह्वाट्सएमबाट पठाइदिएको छु भनि खबर गरेकाले मैले उनलाई कार्यक्रमसम्बन्धी सम्पूर्ण कागजातहरू पठाइदिनुभन्दा हुन्छ, हुन्छ भन्दै आलटाल गरी बसे तर पठाएनन्।
मिति २०८१/०७/११ गते ५ बजेको समयमा मेरो भिसा लागेको राहदानी, प्लेनको टिकेट र कार्यक्रमको सम्पूर्ण कागजातहरू समेत मलाई योगराज गौतमसँग आएका महेश पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवनको बाहिर रहेको कान्तिपुर क्याफेमा भेट गरी दिएका हुन्।
सोही समयमा मात्र मैले महेश पाण्डे भन्ने व्यक्तिलाई देखेको र भेटेको हुँ। सोही बेलामा मेरो अंगरक्षकलाई फोटो खिच्न लगाएको थिएँ सो फोटो पनि मैले प्रहरीलाई तत्कालै पठाई सकेको छु। महेश पाण्डेले मलाई सबै कागजातहरू यसैमा छ हेर्नु भनि दिएपछि मैले ती कागजातहरू आफ्नो झोलामा राखि अन्तर्राष्ट्रिय विमानस्थल भित्र प्रवेश गरी जापानको लागि क्याथे पेसीफिक विमानबाट जापानतर्फ प्रस्थान गरेको हुँ।
जापानको लागि फ्लाइटबाट हिँडेपछि हङकङमा ट्रान्जिट परेकोले म सोही ट्रान्जिटमा बसिरहेको समयमा मलाइ हाल पक्राउ परेका कन्चन देवकोटा, जनक राई र दावा शेर्पा समेत मलाई भेटन आई हामीहरू समेत हजुरसँगै सोही कार्यक्रममा जानको लागि हिँडेको हो भनेपछि मलाई शंका लागि हङकङबाट जापानको लागि हिँडेपछि नारिता विमानस्थलमा झरी इमिग्रेशनमा लाइनमा बसिरहेको अवस्थामा कन्चन देवकोटा, जनक राई र दावा शेर्पा समेतले हामीहरूलाई समेत सँगै लानु भन्दा मैले म तपाईहरूलाई चिन्दिनँ म एक्लै आएको हुँ भन्दा उनीहरूले कसरी चिन्नु हुन्न? हामी तपाईकै कर्मचारी हौं भनी जनक राईले म मन्त्री रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको कर्मचारी परिचय पत्र समेत देखाए पछि मैले सोही परिचय पत्र तत्कालै आफ्नो हातको हत्केलामा राखि मोबाइलबाट फोटो खिचे पछि प्रष्ट रूपमा थाहा भयो कि मलाई निमित्त कार्यालय प्रमुखको रूपमा उल्लेख गरी किर्ते परिचय पत्र बनाएको देखिएबाट यिनीहरूले मेरो सही छाप किर्ते गरी म तत्काल कार्यरत रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको नक्कली कार्ड प्रयोग गरेका रहेछन्।
मेरो मन्त्रालयको मेरो सही छापसमेत किर्ते गरी परिचय पत्र समेत वनाएको थाहा पाएपछि यससम्बन्धी सम्पूर्ण सूचनाहरू जापानको नारिता विमानस्थलबाटै कोशी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई ह्वाट्सएप मार्फत मेरो सही छाप कीर्ते गरी बनाएको कर्मचारी परिचय पत्रको फोटो, कार्यक्रमको संपूर्ण कागजातहरू अपराध अनुसन्धानका लागि मैले पठाएको हुँ र म नारिता विमानस्थलबाटै मलाई फिर्ता गरिदिनु म कार्यक्रममा जान्न भनि फिर्ता आएको हुँ।
यसरी मानव तस्कर तथा किर्तेसम्बन्धी अपराधबारे मौकामै आफूलाई थाहा हुने बित्तिकै प्रहरीलाई सूचना गर्ने ब्यक्ति म हुँ।
म यस अपराध घटनाको पीडित र अपराधको पहिलो सुचक समेत भएको हुँदा म अपराधमा संलग्न व्यक्ति होइन। मसँग हङकङमा भेट भएका कन्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मेरै सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान समेत भइरहेको छ।
मेरो हैसियत भनेको अपराधको सूचना दिने सरकारी गवाह हो मेरो र मेरो मन्त्रालयको सही छाप र परिचय पत्र कीर्ते गरी बनाएको हुँदा म आफै पीडित हुँ दोषी माथि कारबाही गरी मैले न्याय पाउँ।
जनक राई र कन्चन देवकोटाको नाममा कोशी प्रदेश सरकार लेखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर लेखिएको कर्मचारी परिचय पत्रको डिजिटल कार्डहरू म सोही मन्त्रालयको मन्त्री भएको हुँदा ती कार्डहरू किर्ते गरी बनाएका नक्कली कार्डहरू हुन्।
जनक राई र कन्चन देवकोटा कोशी प्रदेश सरकार लेखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरका कर्मचारीहरू होइनन्। उनीहरूको नाममा बनेको कर्मचारी परिचय पत्रको डिजिटल कार्डमा मेरो नाम लेखी सहीसमेत गरेको सही छाप मेरो होइन। मेरो सही छापसमेत किर्ते गरेको हो।
जापानमा हुने कार्यक्रममा सहभागी हुनको लागि म नेपालबाट उड्नु भन्दा केही समय अगाडि मात्र महेश पाण्डेले मलाई मेरो भिसा लागेको राहदानी, प्लेनको टिकेट र कार्यक्रमको कागजातहरू दिएकाले मैले सबै कागजातहरू हेर्न भ्याएको थिएन।
के कसरी, को कसले कन्चन देवकोटाको नाममा एउटै होटल बुक को कसले गरेका हुन् मलाई थाहा भएन म नेपालबाट जापानमा हुने कार्यक्रममा भाग लिन जाँदा एक्लै गएको र सो कार्यक्रममा म जानुभन्दा अगाडि कन्चन देवकोटा समेतका प्रतिवादीहरू म सँग नै जापानमा जाँदैछन् भन्ने कुराको जानकारी मलाई थिएन। कन्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मैले हङकङमा मात्र भेटेको हुँदा निजहरुलाई म चिन्दिनँ।
उनीहरूलाई को कसले के कति रकम लिई जापानमा पठाएका हुन मलाई थाहा भएन। उनीहरूबाट मैले कुनै पनि रकम लिएको छैन। जापानमा हुने इन्टरनेशनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर सन् २०२४ को ७ दिनको कार्यक्रमा सहभागी गराउने आयोजकहरू को हुन मलाई थाहा भएन। आयोजकसँग मेरो सम्पर्क चिनजान समेत छैन। गोपाल भन्ने योगराज गौतम मेरो छिमेकी नगरपालिकाका स्थानीय बासिन्दा र मेरो पुरानो साथी भएकाले राम्रोसँग चिन्दछु।
महेश पाण्डेलाई मैले मिति २०८१/०७/११ गते मात्र भेटेको हुँ। कन्चन देवकोटा, जनक राई र दावा शेर्पालाई म चिन्दिनँ। उनीहरूलाई को कसले जापान पठाएका हुन् मलाई थाहा छैन। मलाई जापानमा कार्यक्रम हुँदैछ आयोजकले खर्च व्यहोर्छन् जाने? भनी मलाई योगराज गौतमले सोधेकाले मैले हुन्छ भनेपछि नउनले मेरो राहदानी समेत लगेर को कसलाई भनेर भिसा लगाएका हुन् मलाई थाहा भएन।
म जापान उड्ने दिनमा मात्र मलाई महेश पाण्डे भन्ने व्यक्तिले भिसा लागेको राहदानी समेतका कागजातहरू दिएको भन्ने कुरा मैले माथि नै वयानको क्रममा खुलाई लेखाइ सकेको छु।
मैले कन्चन देवकोटा, दावा शेर्पा, जनक राईलाई चिन्दिनँ। उनीहरूलाई को कसले जापान पठाएका हुन् मलाई थाहा भएन।
म हङकङको ट्रान्जिटमा रहेको अवस्थामा उनीहरूले मलाई नमस्कार भन्दै आए मलाई कसरी चिन्नुभयो भनि सोध्दा उनीहरूले हामीहरूलाई कसैले फोटो पठाएको थियो सोही फोटो मार्फत चिनेका हौं भनेकाले उनीहरूसँग मेरो हङकङमा भेटघाट हुनु एक संयोग मात्र हो।
उनीहरूसँग मेरो सोभन्दा अगाडि चिनजान, सम्पर्क, भेटघाट केही थिएन र छैन। उनीहरूले साथमा बोकेको कर्मचारी परिचय पत्र नक्कली भन्ने कुरा मैले थाहा पाउनेबित्तिकै यिनीहरूले मलाई नियोजित ढंगले प्रयोग गरेको कुरा थाहा पाउना साथ तत्कालै मैले आफू जापानको कार्यक्रममा भाग लिन जान्न भनि नारिता विमानस्थलबाटै फिर्ता भई कीर्ते गरी परिचय पत्र वनाई तस्करी भएको सम्बन्धमा मैले तत्कालै प्रहरीलाई जानकारी गराइ अपराधमा संलग्न मानिसहरूलाई पक्राउ गर्न सहयोग गरेको हुँ।