राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले राजनीतिक प्रतिशोध साँध्नका निम्ति सभापति रवि लामिछानेलाई हिरासतमा राखिरहेको बताएका छन्।
ठोस प्रमाण नहुँदा नहुँदै, भागेर जाने अवस्था र थप अपराध गर्ने अवस्था नहुँदा पनि लामिछानेलाई म्याद थप गरी हिरासतमा राखिरहनु औचित्यपूर्ण नभएको उनको जिकिर थियो।
उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी), वाग्ले तथा कार्यवाहक प्रवक्ता मनिष झा सोमबार कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछाने भेट्न पुगेका थिए।
‘न प्रमाण नष्ट गर्ने आधार छ। न भागेर जाने आधार छ। न थप अपराध गर्ने आधार छ। हिजो हेर्नुस् त १३–१३ दिन, मानिसहरूलाई अति नै भयो भन्ने बुझाइ छ। राजनीतिकरूपले भन्नुहुन्छ भने रविजीप्रति, राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सहानुभूति झन् बढेको छ। नैतिक हैसियत नभएका पात्रहरूले सानो छिद्रमा टेकेर कानुनी प्रावधानहरूको दुरूपयोग गरिरहेको छन्। राजनीतिक दुरूपयोग गरिरहेका छन्। हामीले जनतामा गएर बुझाउन पाइरहेका छौं,’ उनले भने।
उनले रास्वपाले बुधबार पत्रकार सम्मेलन गरेर आमागी कार्यक्रम र कार्यदिशाबारे जानकारी दिने बताए।
‘आन्दोलन जारी छ, आगामी आन्दोलनको स्वरूपबारे पत्रकार सम्मेलन गरेर थप व्याख्या गर्नेछौं। अभियानलाईलाई अझ विस्तृतीकरण र व्यापकीकरण गर्ने नै छौं,’ उनले भने, ‘जहाँ ठोस सहमति हुनेछन्। जहाँ सर्वपक्षीय सहमतिको आधार पनि प्रस्तुत गर्नेछौं।’
गत कात्तिक २ गते रास्वपा सभापति लामिछाने पक्राउ परेका थिए। सहकारी ठगी र संगठित अपराध कसुरमा लामिछाने पक्राउ परेका हुन्। सभापति लामिछाने पक्राउ परेदेखि नै रास्वपा सडक आन्दोलनमा छ।
यो पनि: यसरी नै कति दिन हिरासतमा राख्न सक्छ प्रहरीले रवि लामिछानेलाई?