नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेका पछिल्ला गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको बताएको छ।
सहकारी ठगी र संगठित अपराध कसुरमा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गरिराखेको छ। उक्त प्रदर्शनप्रति लक्षित गर्दै कांग्रेसले हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृया तथा अनुसन्धानलाई प्रभावित गरेको बताएको हो।
पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बुधबार विज्ञप्ति निकालेर भनेका छन्, ‘कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रकृयालाई सहयोग पुर्याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन् बढी जिम्मेवारी हुनु पर्दछ। तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भैरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ।’
यस्तो छ विज्ञप्ति:
सहकारी ठगी प्रकरणमा केही दिनअघि अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरूले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरूलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि भइरहेकोले यस्ता अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ।
राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई बाधा पुर्याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पुर्याउने गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भर्त्सना गर्दछ।
कानून सबैका लागि समान हुन्छ र हुनुपर्छ। विधिको शासन भनेको कानूनका दृष्टिमा सबै नागरिक बराबरी हुनु हो। मुलुकका केही सहकारी संस्थामा रकम जम्मा गर्ने बचतकर्ताको बचत हिनामिना भएको, उक्त रकम बचतकर्ताले फिर्ता नपाएको र उक्त रकमहरु कानून विपरीत सहकारी संचालकहरुले निजी कम्पनीमा समेत दिई अपचलन गरेको भन्ने व्यापक गुनासो आएको र केही सहकारीको रकम अपचलन गरेको भनी गोर्खा मिडिया कम्पनीका संचालकहरू— जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न निकायमा उजुर परेता पनि छानबिन प्रकृया अगाडि नबढेको हुँदा प्रतिनिधि सभाका सांसदहरुले गृहमन्त्री स्वयं संलग्न रहेकोले प्रहरी प्रशासनले समयमा छानबिन गर्न नसकिरहेको अवस्थामा प्रतिनिधि सभाबाट छानबिनका लागि सहकारी छानबिन संसदीय विशेष समिति गठन भयो।
उक्त समितिले विस्तृत अध्ययन पश्चात दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकोले वर्तमान मन्त्रिपरिषद्ले निर्णय गरी उक्त प्रतिवेदन कार्यान्वयनको प्रकृयामा रहेको व्यहोरा सबैमा अवगत नै छ।
प्रतिवेदनले कार्वाहीका लागि सिफारिस गरेका संलग्न विभिन्न आरोपित व्यक्तिहरुलाई सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरिनै रहेको छ। आरोपितहरुमध्ये गोर्खा मिडिया कम्पनीका संचालक जीबी राई फरार रहेको, छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन्।
सोही प्रकरणमा जोडिएका अर्का आरोपित व्यक्ति रवि लामिछाने पनि केही दिन पहिले पक्राउ परी अनुसन्धानका लागि प्रहरी हिरासतमा नै रहेका छन्। कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रकृयालाई सहयोग पुर्याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन बढी जिम्मेवारी हुनु पर्दछ। तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेको गतिविधिहरुले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ।
प्रचलित कानूनबमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरुमाथि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनु पर्छ भन्ने मान्यताप्रति हाम्रो पार्टी प्रतिवद्ध छ। विधिको शासन कायम गर्न, न्यायिक प्रकृयालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाई राख्नु हामी सबैको कर्तव्य भएकोले हुनाले उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रकृयामा सहयोग पु¥याउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकमा हार्दिक अपिल गर्दछौं।
यो पनि:
सहकारी ठगी गर्ने ६ सय जनाभन्दा बढीलाई कारबाही गरिएको छ: प्रधानमन्त्री ओली
कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपाका दुई-चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं: विश्वप्रकाश शर्मा